«

»

‘मेरो कथा’को प्रदर्शनबाट संकलित रकम क्यान्सर पीडितलाई

meroसञ्चारपत्र सम्वाददाता
भरतपुर, २९ भदौ । भिजन नेपाल ईन्टरटेन्मेन्टले निर्माण गरेको नेपाली कथानक चलचित्र मेरो कथाको बिशेष प्रदर्शनबाट सङ्कलित रकम शनिवार क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बालबालिकाहरुको सहयोगका लागि हस्तान्तरण गरिएको छ । सुदुरपश्चिमको बादी समूदायको वास्तविक कथामा आधारित उक्त चलचित्रको बिशेष प्रदर्शनीबाट सङ्कलन भएको रकम मध्ये ५० हजार रुपैया“ क्यान्सर सेवा समाजलाई हस्तान्तरण गरिएको हो ।
चलचित्रका निर्माता रविन्द्र बरालले उक्त रकम क्यान्सर सेवा समाजका अध्यक्ष श्याम प्रसाद लामिछानेलाई हस्तान्तरण गरेका थिए । खर्चको अभावमा उपचार गराउन नसकेका बालबालिकाहरुको उपचार सहयोगका लागि आफ्नो चलचित्रको बिशेष प्रदर्शन मार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको बरालले बताए ।
शनिवार उक्त चलचित्र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा प्रदर्शन गरिएको थियो । बिशेष प्रदर्शनमा चलचित्रका कलाकारहरु आयुष रिजाल, अशोक धिताल, गंगा बस्याल, निर्देशक देव नेपाल, संगीतकार बीबी अनुरागीलगायतको उपस्थिति रहेको थियो ।
यसअघि सोही चलचित्रको काठमाडौंमा गरिएको बिशेष प्रदर्शनका क्रममा सङ्कलित २० हजार रुपैया“ मेडिकल कलेज जोरपाटीमा हेमोडाइलोसिसको उपचारका लागि प्रदान गरिएको थियो । भरतपुर– १४ तोरीखेत स्थित प्रस्तावित राष्ट्रिय माविको सहयोगका लागि गरिएको च्यारीटीमा संकलित २५ हजार रुपैया“ पनि यसअघिनै हस्तान्तरण गरिएको छ । त्यसैगरी, अखिल नेपाल महिला संघ मकवानपुरले महिला हिंसा बिरुद्धको अभियान अन्तर्गत सोहि चलचित्र हेटौंडामा प्रदर्शन गरेको थियो ।
नेपाली समाजमा अझैपनि बाध्यात्मक रुपमा यौन पेशामा लाग्ने अवस्था व्याप्त रहेको भन्दै चलचित्रका निर्देशक देव नेपालले यस्ता बिकृतिहरु अन्त्य गर्नमा चलचित्र मेरो कथाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । समाजमा देखिएका बिकृति बिसङ्गतिहरु चलचित्रको माध्यमबाट अन्त्य गर्न आफ्नो तर्फबाट आगामि दिनमा पनि प्रयास गर्ने बरालले बताए । कार्यक्रममा उपस्थित कलाकारहरुले चेतना मूलक चलचित्रमा काम गर्दा दर्शकहरुबाट पाएको मायाले हौसला मिलेको प्रतिकृया दिएका थिएका थिए ।