«

»

एमालेलाई पहिलो पार्टी बनाउन कुनै शक्तिले रोक्न सक्दैन ः खनाल

y 11आनन्द पोखरेल
भरतपुर, २९ भदौ
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमालेलाई पहिलो पार्टी बनाउन कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । युवासंघ नेपालको जिल्ला प्रहरी कार्यालय, चितवन अगाडि गेष्ट हाउस चौरमा शनिवार आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले शान्तिपूर्ण जनक्रान्तिको नायक एमाओवादी र काँग्रेस हुन नसक्ने जिकिर गर्दै नेपालको परिवर्तनको मसिहा एमाले भएको बताए ।   
देशको परिस्थिति चुनौतिपूर्ण भएको बेला युवा संघले राष्ट्रिय भेला आयोजना गरेर देशलाई निकाशा दिन खोजेको खनालको भनाई थियो । खनालले युथ फोर्सको प्रशंसा गर्दै युथ फोर्सले सुरुमा राम्रो काम गर्दै देशमा व्याप्त माओवादी आतङ्क चिर्न सफल भएको बताए ।
पहिलो संविधान सभाको निर्वाचनमा एमाले पहिलो पार्टी बन्नु पर्नेमा दुर्भाग्यवश तेस्रो पार्टी बन्न पुगेकोले देशमा निराशा छाएको खनालको जिकिर थियो । मंसिर ४ गतेको दोस्रो संविधान सभाको चुनाव देशलाई अग्रगमन तर्फ लैजानको लागि महत्वपूर्ण रहेको उनले बताए ।
‘चुनाव विथोल्न माओवादीले आतङ्क मच्चाउन टाउको उठाएमा त्यो टाउकोमा युवासंघले ट्वाङ्ङ हान्नुपर्छ’ अध्यक्ष खनालले चुनाव विथोल्न प्रयास गर्नेहरुमाथि जाइलाग्न समेत निर्देशन दिए ।
पहिलो संविधानसभाबाट ३९ भाग संविधान बनाउनु पर्नेमा ३२ भाग सम्मको काम सकिएको र राज्य पुनर्संरचना लगाएका बाँकी भागको काम हुँदै गर्दा संविधान सभा विघठन गरिनुमा माओवादी दोषी रहेको खनालको भनाई थियो । दोस्रो संविधानसभाको निर्वाचन हुन नदिन अनेक षड्यन्त्र रचिएको भन्दै त्यसलाई चिर्नको लागि एमाले अग्रपंक्तिमा लाग्नुपर्ने खनालले बताए । अहिले एमाओवादी चुनाव सार्ने षड्यन्त्रमा लागेको आशंका गर्दै खनालले भने– यदि त्यस्तो भएमा एमाओवादी धोकेवाज ठहरिनेछ ।
‘अहिले एमाओवादीको नीति सकिएको छ, उनीहरुको कुनै नीति र सिद्धान्त नभएको इतिहासले प्रमाणित गरिसकेको छ’ खनालले भने– ‘उनीहरुले क्रान्तिको नाममा व्यर्थैमा १५ हजार जना व्यक्तिको ज्यान लिए ।’ ‘माओवादी जंगलबाट आउँदा जनताले बाघ हो कि भन्दै डराएका तर हाल उनीहरुलाई गल्लीको खुइलिएको कुकुर हो भन्दै जनता हिंड्ने गरेका’ खनालको टीप्पणी थियो ।  
एमालेको पक्षमा देशभर आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको खनालको दावी थियो । राष्ट्रको भाग्य र भविष्य फैसला गर्ने संविधान सभाको निर्वाचनले नै हो भन्दै खनालले एमालेको दुई तिहाई बहुमत आएमा मात्र देशमा राम्रो संविधान बनाउन सकिने र त्यस्तो अवस्थामा एमालेले बहुपहिचानयुक्त संघियता निर्माण गर्ने जिम्मा लिने बताए ।
युवा संघ एक ढिक्का भएर चुनावी प्रकृयामा होमिन थालेको भन्दै खनालले खुसी व्यक्त गरे । खनालले भने– ‘अब युवा संघ चट्टान बनेर एमालेलाई एक नम्बरको पार्टी बनाउन लागिपर्नेछ ।’ खनालले युवा संघलाई चुनावमा होमिन आग्रह गर्दै भने–  ‘तपाईंहरु टाउकोमा कात्रो बाँधेर भएपनि एमालेलाई पहिलो पार्टी बनाउन देशको दुई सय ४० वटै निर्वाचन क्षेत्रमा लाग्नुहोस् ।’
भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले अहिले देशमा विभिन्न शक्तिहरुले संविधान सभाको चुनाव विथोल्ने दुस्प्रयास गरिरहेका र यदि चुनाव विथोलिने परिस्थिति आएमा एमाले चुप नबस्ने बताए । केहि राजनीतिक दलहरुले विदेशीको ईशारामा नेपालको अखण्डतामा आँच आउने काम गरिरहेका र साम्प्रदायिकता फैलाउने तत्व सक्रिय रहेको ओलीको भनाई थियो ।  
‘युवा संघमा भएका युवाहरु भविष्यका कर्णधार मात्रै होइनन् उनीहरु वर्तमानका संवाहक पनि हुन्’ ओलीले भने । अब एमालेको युवा संगठनले वैचारिक र भौतिक दृष्टिकोणले अतिवादीहरुलाई तह लगाउने र आगामी संविधान सभाको चुनावमा वुथहरु कब्जा गर्नको लागि माओवादीले जति वाईसिएल राखेपनि तिनीहरुलाई युवा संघले लखेट्ने बताए ।  
‘युवा संघ नेपाल वुथ कब्जा गर्नको लागि होइन, वुथ कब्जा गर्न नदिनको लागि हो’ नेता ओलीले भने । माओवादीको दश वर्षे जनयुद्धलाई व्यङ्ग्य गर्दै नेता ओलीले भने– ‘माओवादीको दश वर्षे जनयुद्ध कलिला लैना पाडाहरुको विरुद्ध रहेछ, जसलाई उनीहरुले पानी खान नदिएर मारे ।’ शिविरमा बसेका पूर्व लडाकुहरुको भरमा विगतमा माओवादीले चुनाव जितेको वताउँदै ओलीले उनीहरु अहिले शिविरबाट बाहिरिएकाले उनीहरुको धम्कीले जनता नडराउने पनि बताए ।
क्रान्तिको नाममा आफुहरुले रक्त चन्दन, गैंडाको खाग, यार्चागुम्बा तस्करी नगराउने साथै आफ्ना लागि बैंक लुट्न पठाउने पार्टी एमाले नभएको भन्दै ओलीले देशको विकासमा जुट्नको लागि युवाहरु एमालेमा आउनुपर्नेे बताए । ‘माओवादीले जनताको मतमा विश्वास गर्दैन उसले भोट किन्ने र लुट्ने काम गर्छ’ ओलीले भने ।
देशमा युवा संघ भएसम्म कुनै पनि शक्तिले जनतालाई तर्साउन खोजेर जनता नतर्सिने ओलीको भनाई थियो । ‘जनतालाई तर्साउन खोज्ने, धम्काउन खोज्ने एमाओवादी अहिले युथ फोर्स छ भनेर तर्सिएको छ’ ओलीले भने । संविधान निर्माण नहुनुमा माओवादी दोषी रहेको दावी गर्दै ओलीले भने– ‘दुई सय ३७ वटा चल्ला लिएको माओवादी संविधान सभामा छिरेपछि के को बनोस्
संविधान ।’ उनले काँग्रेसलाई जुइनो छिनेको थोत्रो मादलको संज्ञा दिए ।
कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले ‘अब देशका जुनसुकै अतिवादी शक्तिहरुसँग युथ फोर्स लड्ने’ बताए । ‘काँग्रेस तथा माओवादीहरुले आफ्ना युवा दस्ता धेरै छन् भनेर जति गफ लगाए पनि तिनीहरुको भन्दा बढी युवा एमालेमा छन्’ बस्नेतको दावी थियो । अन्य पार्टीका भातृ संगठनहरुले महाधिवेशन सम्म गर्न नसकेको अवस्थामा युवा संघ, नेपालले महाधिवेशन गरेको छ महिनामा नै राष्ट्रिय कार्यकर्ता भेला गर्नुले पनि युवासंघ वैचारिक र जुझारु युवाहरुको संगठन भएको प्रष्ट भएको बस्नेतको भनाई थियो ।
‘काँगे्रस भनेको यथास्थितिबादी पार्टी हो अनि माओवादी उग्रवामपन्थी पार्टी, यी दुईवटै पार्टीलाई सँगै लिएर जान खोज्नु एमालेको कमजोरी हो’ बस्नेतले भने । युवा संघमा देखिएको विवादतिर लक्षित गर्दै बस्नेतले भने– ‘युवा संघ नेपाल भनेको वैचारिक युवाहरुको संगठन हो, सामान्य विषयमा बहस भैरहन्छ र यसले पार्टीलाई झन् बलियो बनाएर लैजान्छ ।’
युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाले चुनावी योजना बनाउने बस्नेतले बताए । सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै बस्नेतले भने– चुनावलाई मध्यनजर गर्दै देशभर मोवाइल फोर्स गठन गरिनेछ, उक्त फोर्समा काठमाडौंको लागि पाँच सय जना र अन्य जिल्लामा दुई सय जनाका दरले युवाहरु रहनेछन्, यस्ता युवाहरुले एमालेलाई अप्ठेरो परेको ठाउँमा आधा घण्टामा नै सहयोग उपलब्ध गराउनेछन् ।’
चुनावको लागि प्रत्येक निर्वाचन क्षेत्रमा विशेष टास्क फोर्स निर्माण गरिने र एउटा फोर्समा मोटरसाइकल सहितको सय जना युवाहरु रहने बस्नेतले जानकारी दिए । यो फोर्सले चुनाव बिथोल्न खोज्नेहरुलाई मुखले सम्झाउने, यति गर्दा पनि नमानेमा हात गोडाले सम्झाउने बस्नेतले बताए । कार्यकर्ता भेलाको आइतबारको बन्दसत्र पछि अञ्चल, जिल्ला र क्षेत्रमा युथ फोर्सको बिस्तार गरिने बस्नेतले जानकारी दिए ।
यृुवासंघको राष्ट्रिय कार्यकर्ता भेला अन्तर्गत आज आइतबार रत्ननगर टाँडीमा बन्द सत्र सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
युवासंघको राष्ट्रिय कार्यकर्ता भेला उद्घाटन समारोहमा एमाले सचिव शङ्कर पोखरेल, पोलिटब्यूरो सदस्य तथा नारायणी अञ्चल ईन्चार्ज काशिनाथ अधिकारी, केन्द्रिय सदस्य तथा युवा फाँट प्रमुख शेरबहादुर तामाङ, केन्द्रीय सदस्य देवी ज्ञवाली, एमाले चितवनका अध्यक्ष जेएन थपलिया, महिला युथ फोर्स प्रमुख निरु पाल लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय कार्यकर्ता भेला उद्घाटन समारोहमा विभिन्न पार्टी तथा संगठन छोडेर युवा संघ, नेपालमा प्रवेश गर्ने सात सय भन्दा बढी युवाहरुलाई एमाले बरिष्ठ नेता केपी शर्मा ओली र युवासंघका अध्यक्ष महेश बस्नेतले अबिर लगाएर स्वागत गरेका थिए ।