«

»

आदर्श समाजको पाचौं अधिवेशन सम्पन्न

सञ्चारपत्र सम्वाददाता
रामनगर २९ भदौ ।
रामनगरस्थित आदर्श समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जंगबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न सहकारीको चौधौं साधारण सभा तथा पाचौं अधिवेशनले भण्डारीलाई आगामी तीन वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले गोविन्दप्रसाद देवकोटालाई सचिव र बाबुराम भट्टलाई कोषाध्यक्षमा चयन गरेको छ । यसैगरी सहकारीको कार्यसमिति सदस्यहरुमा लक्ष्मीदेवी पराजुली, चिरञ्जिवी सापकोटा, क्षेत्रबहादुर सुवेदी र कमला श्रेष्ठ चयन भएका छन् । अधिवेशनले हरिप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय संस्थाको लेखा सुपरिवेक्षण समिति समेत निर्माण गरेको छ । जसको सदस्यहरुमा पुष्पराज देवकोटा र सीता भट्ट रहेका छन् । यसैगरी चित्रबहादुर न्यौपाने शिक्षा समिति संयोजक र क्षेत्रबहादुर सुवेदी ऋण समिति संयोजकमा चयन भएको संस्थाले जनाएको छ ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष विद्या कोइराला प्रमुख अतिथि रहेको सो सहकारीको अधिवेशन उद्घाटन समारोहमा संस्थापक अध्यक्ष जीवनाथ पराजुली, पूर्व अध्यक्ष कुष्माखर अधिकारी, पूर्व सचिव हरिप्रसाद पोखरेल, चिरञ्जिवी सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले सचिव गोविन्दप्रसाद देवकोटाद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष बाबुराम भट्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशन संस्थाका अध्यक्ष क्या. कृष्णबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।