«

»

यात्रु ओर्लन नपाउँदै बसमा आगजनी

busसञ्चारपत्र सम्वाददाता
काभ्रे, ३० भदौ    
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्याकर्ताले आइतबार काभ्रेको धुलिखेलमा एउटा यात्रुबाहक बस जलाएका छन् । माओवादीले मंसिर ४ गते हुने निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै आएको छ ।  
छापामार शैलिमा आएका कार्यकर्ताहरुले मेलम्ची तर्फ जाँदै गरेको  बा २ ख ५६७२ नम्बरको बसलाई अरनिको राजमार्ग अन्तर्गत धुलिखेल बसपार्क नजिकै जलाइदिएका हुन् ।
यात्रुहरुलाई ओर्लने समय समेत नदिई एक्कासी बसमा आगो लगाएको भन्दै स्थानिय बासिन्दाहरु आक्रोशित भएका थिए । उक्त बसमा यात्रा गरिरहेका राजेन्द्र प्रधानले यात्रुहरु ओर्लन नपाई आगो लगाएकाले आफुहरु हतार हतार ओर्लेर ज्यान जोगाएको बताए । आगलागीबाट बस पुरै जलेको छ । बन्दको नाममा सार्वजनिक यातायातको साधन जलाउने आन्दोलनकारीहरुको खोजी भइरहेको प्रहरीले  जनाएको छ ।
घटना लगत्तै स्थानिय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए । नेकपा–माओबादी सहितको मोर्चाले आइतबार तामसालिङ क्षेत्र बन्दको आहन गरेपनि  बनेपाका स्थानिय बासिन्दाहरु प्रतिकारमा उत्रिएपछि बन्द खुलेको थियो ।
प्रहरीले नेकपा–माओबादीका जिल्ला इन्चार्ज चुडामणी गौतम ‘हेमक’ सहित १७ जना बन्दकर्तालाई नियन्त्रणमा लिए लगत्तै जिल्लामा  यातायात सञ्चालन भएको थियो । स्थानिय व्यापारिहरुले बन्दको अवज्ञा गर्दै विहान १० बजे पछि धुलिखेल, बनेपा तथा पनौती बजारका पसल खोलेका थिए ।