साँढेको जुधाई बाच्छाको मिचाइ
आनन्द पोखरेल
भरतपुर, ३० भदौ
आइतबार बिहानै गैंडाकोट (नवलपरासी) का विनय थापा नारायणगढको बालकुमारी कलेज आइपुगे । घरबाट पढ्न हिंडेका थापा कलेज आइपुग्दा झस्किए । कलेजमा फाट्टफुट्ट मात्र विद्यार्थी थिए । प्लस टुका विद्यार्थी यिनले बुझ्दा थाहा पाए, ‘बन्द रहेछ ।’
बिहान ९ बजे नारायणगढको लायन्सचोकमा कलेजको पोशाकमा भेटिएका उनी ट्वाल्ल परेर बन्द नियाल्दै थिए । बन्दले शैक्षिक संस्थाहरु पनि ठप्प भएपछि कलेजको मुख हेरेर मात्र घर फर्कन लागेका विनय भन्दै थिए– ‘बन्दले गर्दा क्याम्पसमा पढाई हुन्न, परीक्षामा कसरी राम्ररी लेख्न सकिन्छ ? राम्रो लेख्न नपाएपछि रिजल्ट पनि बिग्रन्छ, वर्ष भरिको मेहनत खेर जान्छ ।’
भरतपुर–८, गौरीगञ्जकी इन्दिरा पौडेलले पनि विहान ६ बजे क्याम्पस आएपछि मात्रै बन्दले पढाइ नहुने थाहा पाइन् । सप्तगण्डकी क्याम्पस, भरतपुरमा १२ कक्षा पढ्दै गरेकी इन्दिरा बन्दले पढाई नहुने जानकारी पाएपछि निराश बनिन् । भनिन्– ‘बेला बेलामा हुने बन्दको मारमा हामी विद्यार्थी परेका छौँ, एकदिनको बन्दले दुई तीन दिनसम्म पढाईलाई असर
पार्छ ।’
विहानै म्याजिक भ्यान चढेर कलेज आएकी इन्दिराले पढ्न त पाइनन् नै त्यतिबेलासम्म बन्दकर्ताले यातायातका साधन ठप्प पारिसकेकाले झण्डै चार किलोमिटर टाढाको घर कसरी फर्कने भन्ने चिन्तामा थिइन् । उनी भन्दै थिइन्– विहान क्याम्पस आयो घर जाने बेलामा बन्दले गाडी चल्दैन, घामघाममा हिंडेर घर जाँदा सास्ती पाइन्छ ।’
विनय र इन्दिरा बन्दको कारण पढ्न पाउने अधिकारबाट बञ्चित विद्यार्थीहरुका प्रतिनिधि पात्र मात्र हुन् । विभिन्न पार्टी तथा तिनका भ्रातृ संगठनले बारम्बार गर्ने बन्दको कारण शिक्षा क्षेत्र सवैभन्दा बढी मारमा परेको छ । बन्दकर्ताको पहिलो निशाना नै शिक्षा क्षेत्र पर्ने गरेको छ ।
आइतबार नेकपा–माओवादीले ताम्सालिङ क्षेत्र बन्द आहन ग¥यो । बन्द आयोजकले यातायात, उद्योग व्यवसायसँगै शैक्षिक क्षेत्र ठप्प पारे । यो समेत गरि पछिल्लो चार महिनामा मात्रै चितवनमा १० दिन बन्द भयो, जसको प्रत्यक्ष मार शिक्षा क्षेत्रले भोग्न बाध्य हुनुप¥यो ।
नेपाल सरकारले वि. सं. २०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको थियो । तर राजनीतिक दलका नेताहरु आफैले गरेको निर्णयको खिल्लि उडाउँदै विद्यालय बन्द गर्न लागि परेका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको भनाइ छ ।
शैक्षिक क्षेत्रमा बन्दले गर्दा विभिन्न नकारात्मक प्रभावहरु पर्ने गरेका जानकारहरु बताउँछन् । शैक्षिक क्षेत्र बन्द गर्न जबरजस्ती गर्नेहरुलाई सरकारले कारवाही गर्न नसक्नु कमजोरी भएको सरोकारवालाहरुको टिप्पणी छ । कलेज, विद्यालयका कतिपय शिक्षकहरु त बन्दकर्ताहरुको डरले खुलेर बोल्न पनि चाहँदैनन् ।
नारायणगढको आदिकवि भानुभक्त उच्च माध्यमिक विद्यालयमा आइतवार विहान पढाइ शुरु भएको थियो । स्रोतका अनुसार पहिलो कक्षापछि बन्द आयोजक नेकपा–माओवादीको तर्फबाट विद्यालय तुरुन्त बन्द गर्न धम्की आयो, पढाउँदै गरेका शिक्षकले कक्षा टुङ्ग्याए, विद्यार्थी लुरुलुरु घर फर्किए ।
नाम उल्लेख नगर्न अनुरोध गर्दै भानु उमाविका एक शिक्षकले भने– ‘दलहरुले पालैपालो बन्द गर्दा वर्षमा कम्तीमा पनि २०÷२५ दिन विद्यालय बन्द हुने गरेको छ, जसले गर्दा समयमा पाठ्यक्रम पूरा गर्न सकिंदैन ।’ उनी भन्छन्– बन्दका कारण पाठ्यक्रम पूरा गर्न समस्या आउनाले हतारमा पढाउनु पर्छ, विद्यार्थीले बुझ्नु पर्ने कतिपय विषयवस्तु बुझ्दैनन् र शैक्षिक क्यालेन्डर पनि प्रभावित हुन्छ ।
विद्यार्थीहरु विद्यालय आउन नपरेपछि गलत क्रियाकलापहरुमा संलग्न हुने र विद्यार्थीलाई अनुशासनमा राख्न गाह्रो हुने शिक्षकहरुको भनाई छ । ‘सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा ग¥यो, यसको कार्यान्वयन गर्न सकेन, शिक्षालाई राजनीतिबाट टाढा राखियोस्’ भानु उमाविका ती शिक्षकको सुझाव छ ।
बालकुमारी उच्च माध्यमिक विद्यालय, नारायणगढकी प्रधानाध्यापक सरस्वती रिजाल भन्छिन्– ‘बन्दको कारण विद्यालय थोरै समय खुल्छ, जुनसुकै संगठनले बन्द गरेपनि सरकार, विद्यालय, अभिभावक र विद्यार्थीको लगानी खेर जान्छ ।’ विद्यालय बन्द भएपछि सरकार, विद्यालय र अभिभावकले विद्यार्थीको लागि गर्ने ठूलो लगानी त खेर जान्छ नै साथै विद्यार्थीको समय पनि नोक्सान हुने प्रधानाध्यापक रिजालको भनाई छ ।
‘बन्दको कारण शिक्षकहरु दोहोरो चेपुवामा परेका छन्’ प्रधानाध्यापक रिजालले भनिन्– ‘बन्दकर्ता र अभिभावकको दोहोरो मारमा शिक्षक परेका छन् । एक पक्षले विद्यालयमा नपढाउन भन्छन्, अनि अर्को पक्षले पढाउन भन्छन्, यस्तो अवस्थामा हामीले के गर्ने ?’
रिजालको आग्रह छ– विद्यालयलाई शान्ति क्षेत्र घोषणा कागजमा मात्र गरेर हुँदैन, हरेक पार्टीहरु बसेर बन्दमा पनि विद्यालय खुल्ने वातावरण मिलाएमा बन्दले शिक्षा क्षेत्र प्रभावित पार्न सक्दैनथ्यो ।
बालकुमारी उच्च माध्यमिक विद्यालय, नारायणगढका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल आचार्यको बुझाइमा ‘बन्दले विद्यालयलाई मात्र नभई राष्ट्रलाई नै असर पारेको छ ।’ विद्यार्थीको भविष्यमा लागि कुनै पनि संगठनले बन्द गर्न नहुने उनको सल्लाह छ । ‘बन्दले शैक्षिक संस्था र देशलाई नै धरासायी बनाउँछ कामगर्छ’ आचार्यले भने– बन्दको चपेटामा सबैभन्दा बढी बालबालिका नै परेका छन् ।
‘बोली र व्यवहारमा फरक भएका दलहरुले बन्दको संस्कृति बन्द गर्नुपर्छ’ जिल्ला अदालत बार एशोसिएसन चितवनका निवर्तमान अध्यक्ष गोबिन्दप्रसाद सिग्देलले भने । ‘दलहरुले बन्दको माध्यमबाट जायज र नाजायज मागहरु पूरा गर्ने काम गरेका छन् । आचार संहितामा सहि गर्ने र सहि गरेको मसी सुक्न नपाउँदै बन्द गर्ने परिपाटी एकदम नराम्रो पक्ष हो’ कानुन व्यवसायी सिग्देलको भनाई छ ।
गएको वैशाखमा चितवनमा बन्द भएन । तर जेठ महिना यता विभिन्न दल तथा तिनका भ्रातृ संगठनहरुले भदौ ३० गतेसम्म १० दिन बन्दको कार्यक्रम गरेका छन् । जेठमा दुई दिन, असारमा दुई दिन, साउनमा तीन दिन र भदौमा तीन दिन चितवन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनको तथ्याङ्कले देखाएको छ ।
तस्वीर ः
आइतबार बिहानै ः विद्यार्थीले भरिभराउ हुने बालकुमारी उच्च माविमा आइतवार विद्यालय समय शुरु भएपछिको दृश्य । तस्वीर ः सञ्चारपत्र