चितवन मेडिकल कलेजबाट २० लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीसहित पाँचजनालाई पक्राउ गरेको छ । अनियमित काम गर्न घुस दिने अस्पतालका सञ्चालमाथि पनि अख्तियारले छानवीन गरिरहेकै होला । अनियमित ढंगले एम्बुलेन्स सञ्चालन गरेको भेटिएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले भरतपुर चौबिसकोठीस्थित चितवन अस्पतालका दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले गरेको छड्के अनुगमनको क्रममा हालै भरतपुर अस्पतालका अधिकांश डाक्टरहरु कार्यालय समयमा अनुपस्थित भेटिए । अनुपस्थित डाक्टरहरु निजी अस्पताल तथा क्लिनिकहरुमा व्यस्त थिए भन्ने सवैले बुझेकै विषय हो । चितवन जिल्लाको सदरमुकाम भरतपुर पछिल्लो समय मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको छ । तर मेडिकल सिटीमा कति बेथिति मौलाउँदै गइरहेको छ भन्ने यस्ता केही उदाहरणले मात्र पनि बुझ्न सकिन्छ ।
स्वास्थ्य संस्था सञ्चालन गरेर मानिसको स्वास्थ्योपचार गर्ने नाममा यहाँ अनेक विकृति र अनियमितताले जरो गाडेको छ । उपचारको नाममा लुट मच्चाउने काम भएको मात्र होइन भनेजति पैसा खर्च गर्दा पनि राम्रो उपचार पाउन नसकेको जनगुनासा सुन्न टाढा गइरहनुपर्दैन, ठगिएका सर्वसाधारण खोजेर हिंडिरहनुपर्दैन । सरकारी अस्पतालमा हुने बेवास्ता र हेलचेक्र्याईं त्यहाँका पदाधिकारी तथा अधिकारी कसैले पनि नकार्न सक्दैनन् भने निजी क्षेत्रको मनोमानी घाम जत्तिकै छर्लङ्ग छ । लगानीको प्रतिफल धेरै उठ्ने भएकोले स्वास्थ्य क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण पनि उत्तिकै छ । हामीकहाँ डाक्टर, स्वास्थ्यकर्मीलाई राम्रै सम्मान छ । कुनैपनि पेशा व्यवसायीलाई सम्मान दिनु राम्रै हो तर सेतो कोटले आम सर्वसाधारणको सम्मान राम्ररी ग्रहण सकेको देखिंदैन । विरामी तथा सर्वसाधारणप्रति चिकित्सक, स्वास्थ्यकर्मीहरुको व्यवहार सधैं गुनासोको विषय हुने गरेको छ ।
सवैलाई स्वस्थ बनाउने भएकोले सवैले सम्मान दिने स्वास्थ्य क्षेत्रले आफुलाई नै सर्वप्रथम स्वस्थ राख्नुृ जरुरी छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कमाउनका लागि जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । हो, कसैले पनि कुनै क्षेत्रमा आर्थिक लगानी गर्छ भने त्यसबाट उसलाई अवश्यै प्रतिफल मिल्नु आवश्यक हुन्छ । तर अधिक फाइदाको लागि कर छलेर राज्यलाई ठगी गर्ने, राज्यलाई छलेर एम्बुलेन्स भित्र्याउने, विरामी बोक्न छुटमा लिएको एम्बुलेन्स अनियमित ढंगले बेचबिखन गर्ने जस्ता कार्यको पर्दाफास हुँदा त्यहाँभित्र त्यस्ता धेरै अनियमितता भएको हुनसक्ने संकेत गर्दछ । आम नागरिक, दुखी, गरिबको सेवा गर्छु भनेर सरकारी अस्पतालमा जागिर खाएका डाक्टर कार्यालय समयमा निजी अस्पताल र मेडिकलहरुमा जानुृ कहाँ सम्मको अनैतिक कार्य हो ? स्वास्थ्य सेवा लिनु विरामीको बाध्यता हो, हामीलाई कसले छुने ? भन्ने सोच हो भने यस्तो गलत चिन्तनले यहाँको स्वास्थ्य क्षेत्रलाई धराशायी र बदनाम मात्र बनाउँछ । अस्पताल सञ्चालकहरुले गैर कानुनी हिसाबले आयआर्जन गर्ने सोच बनाउन थालेभने भोलि चिसो छिंडिमा बसेर पश्चाप गर्नुको बिकल्प रहँदैन ।