«

»

बन्दुक धाक र आत्महत्याको विरक्तिमा पत्रकारिता

Ramkumarरामकुमार एलन
पोखराका नवराज बरालले भनेछन्, ‘एक हातमा बन्दुक छ, अर्को हातमा कलम, परिआए अहिले पनि दुवै चलाउँछु ।’ संविधानसभाको निर्वाचनको बेला छ, युद्धकालीन प्रसङ्ग कोट्याउनु हुन्न र कोट्याउनेलाई वीरेन्द्र साह बनाइन्छ भन्ने उनको आसयको लामो कुराकानी पढिरहेको छु । फेसबुक च्याटमा पढ्न नसकेर कपी गरेर वर्ड फाइलमै राखेर पढिरहेको छु । मैले उनलाई रिक्वेस्ट पनि पठाएको छु । तर स्वीकृत भएको छैन । मलाई उनबारे जान्ने जिज्ञासा यसर्थ बढ्यो कि, जाजरकोटमा ठूलोमात्रामा हतियार भेटिएको खबर आइरहँदा बरालले पनि परिआउँदा बन्दुक चलाइन्छ, हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ भनेर लेखेका रहेछन् ।
पोखराका पत्रकारहरुमा मैले संगत नगरेको, नचिनेको मित्र हुन् बराल । तर समाचारकै प्रयोजनका लागि उनले भनेका सबै कुराहरु आएपछि घोरिएर पढेँ । मित्र राजु क्षेत्रीको दैनन्दिनीसँग परिचित छु । अर्का मित्र त्रिभुवन पौडेलसँग पनि खुलेरै कुराकानी हुन्छ । क्रान्तिकारी पत्रकारहरुसँग पत्रकार महासंघको निर्वाचनका लागि तीन वर्षअघि तालमेल भएपछि हाम्रो बराबर सम्पर्क भइरहन्छ, कुराकानी चलिरहन्छ । तर क्रान्तिकारी पत्रकारहरुको स्वभाव सबैको राजु क्षेत्री, त्रिभुवन पौडेल, विभु भुषालको जस्तो छैन । कहीँ न कहीँ छुस्के लगाउने, अरुलाई उचालेर आफ्नो स्वार्थ पूरा गर्ने र सहन गाह्रो भएपछि एउटै संस्थामा रहेकालाई सार्वजनिक कार्यक्रममै घोक्रेठ्याक लगाउने, कठालो समात्ने मार्काका पत्रकारहरुको कमी छैन क्रान्तिकारी पत्रकार संघमा । उसो त शालीन र कुटनीतिक ढंगले प्रस्तुत हुने गोविन्द आचार्य, पार्टीले भने पत्रकारिताबाट निर्वाचनमा भाग लिने हरिओम शर्माहरु पनि छन् । पत्रकार महासंघको निर्वाचन आउँदै गर्दा यो कुरा कति उचाल्ने नउचाल्ने छलफलको विषय पनि बन्ला ।
एभिन्यूज टेलिभिजनमा खबरभित्रको खबरका प्रस्तोता, मेरा सहृदयी मित्र सुमन ढंगाना
(शर्मा)लाई मित्र नवराज बरालले पछिल्लोपटक निकै नै घटिया शब्दमा गाली गरेका रहेछन् । सुमनले बयान दिइरहेका रहेछन्, उनी हरेक पटक सुमनलाई होच्याउने गर्दा रहेछन् । केही सीप नलागेपछि उनले ब्लक गरेछन् । फेसबुकमा अनफ्रेण्ड गर्नु, ब्लक गर्नु अन्यथा होइन । शुभशंकर कँडेल र कृष्णज्वाला देवकोटाले पनि मलाई फ्रेन्डलिस्टबाट हटाएछन् । आजकल किन यिनीहरु मेरो फेसबुकको भित्तामा झुल्कँदैन भनेर सर्च गर्दा एड फ्रेन्डमा देखायो, कोही बात छैन । तर, बराललाई लाग्यो होला खबरभित्रको खबर भन्ने पनि आज मसँग डरायो । बराल त्यहाँ मलगायत चौतारीका भोटले जितेका पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टको पत्रिकामा काम गर्छन् रे । क्रान्तिकारी पत्रकार महासंघको पार्षद हुन् रे । युद्धकालीन कार्यकर्ता अहिले पत्रकारितामा सुमन ढुंगानाभन्दा माथिल्लो हैसियत छ रे, काठमाडौंदेखि अष्टे«लियासम्मको मिडियामा छन् रे । परिआए एक हातले बन्दुक र अर्को हातले कलम चलाउने प्राणी हुन् रे ।
यो मुलुकमा संविधानसभाको निर्वाचन होस् । अहिले मिडियाकर्मी लागेका त्यसमा हुन् । क्रान्तिकारी पत्रकार संघले आचार्य र शर्मालाई टिकट दिने कन्फर्म छ । अरु पनि लत्तो लगाएर पेरिसडाँडातिर चोयाँफोयाँ गरिरहेका छन्, यो हामीलाई राम्रै थाहा छ । तर भित्री मनले भनेको कुरा के हो भने कम्तीमा आचार्य र शर्मा उठेपछि जितुन् र संविधान निर्माणमा हस्ताक्षर गरुन् किनभने उनीहरु हामीले भोट दिएको र हामै्र हितका लागि क्रियाशील पत्रकार संस्थाका नेताहरु हुन् । उनीहरु एमाओवादीका हुन् तर पत्रकारकै भूमिकाबाट संविधान लेख्ने तहमा पुग्दा खुशी नहुने कुरै छैन । हामी पुराना कुरा उठाउन चाहँदैनौँ, उठाएपछि समापन पनि तर्कसंगत ढंगले गर्छौँ । भेट्न जाँदा आधा घण्टा कुरायो भनेर भोलिपल्ट कार्यक्रममा भेटिएका बेला कठालो समातेर ‘भण्डारीगिरी’ देखाउँदैनौँ ।
राज्यले आमनागरिकसँग भएको लाइसेन्स नभएका बन्दुक खिचेको थियो । तर खोइ त ? बन्दुक त अझै रहेछ, त्यो पनि युद्धकालीन माओवादी र अहिलेका पत्रकारसँग । बरालले खबरभित्रको खबर भन्नेलाई हाकाहाकी बन्दुक छ भन्नु राज्यलाई चुनौती हो । संविधानसभामा एमाओवादीका पुराना गल्ती या अहिले गरिरहेको गल्ती औँल्याउनेलाई फेरि वीरेन्द्र साह बनाउने धम्की हो । यसो भनिरहँदा एमाले निकटका एक दुई पत्रकारले दुख पाउलान् । शान्ति प्रक्रियाको पाटोमा जति एमाओवादी र माओवादी गम्भीर होस् भनेर अरु दलले लचकता देखाइरहेका छन्, तर सोचौं शान्ति प्रक्रियाको पाठ्यक्रम कसले च्यातिरहेको छ ? सुमन शर्माले भनेका छन् च्याटमा, ‘एमाओवादीको विरोध गर्नेलाई ठेगान लगाउने भए किन गरिखाने वीरेन्द्र साहलाई मारेको त, मालिकलाई दाग्नु नि ।’ जवाफमा बरालले भनेका छन्, ‘कति दिन चाकरी गरेर टिक्ने हो, बिनातलब कति दिन कराउने हो, हेरौँला ।’
यही चाकरी गर्न नसकेर होइन अघिल्लो साता युएन पार्कमा एबिसी टेलिभिजनका भिज्युल एडिटर सञ्जीव आचार्यले आत्महत्या गरेको ? त्यसका हर्ताकर्ता एवं प्रचण्डको चाकरीमा निबन्ध लेखेर खगेन्द्र संग्रौला र कृष्णज्वाला देवकोटालाई पनि पछि पारेका शुभशंकर कँडेलको अपहेलना र अपमान सहन नसकेर उनले आत्महत्या गरेको भनेर आएको समाचार कतै खण्डन भएको छैन । उल्टो कँडेल प्रचण्डको पुच्छर बनेर चाकरी गरिरहेका छन् । सातमहिनादेखि तलब नपाएपछि मोटरसाइकल राखेर लुखुरलुखुर हिँडेर अफिस गएका आचार्यलाई कँडेलले रिस गरेका थिए । अरु सबको पाँच हजार रुपैयाँ तलब बढ्यो तर उनको तलब बढ्नु त कता पुरानो तलब पनि पाएनन् र आत्महत्या गर्नुअघि साथीसँग पाँचसय रुपैयाँ माग्दा पनि नपाएपछि उनले चाडवाडका बेला संसार छाडे । मालिकका चाकरी गर्न कँडेलसँग सिक्न सकेनन् आचार्यले ।
हामी पत्रकार हौँ । समाज परिवर्तनको नारामा अडिग छौँ । पारिश्रमिक निर्धारणका लागि गोविन्द आचार्यका पालामा भएका पहलको खुलेर प्रशंसा गरेका छौँ । हामीले एमाओवादीको लोकिप्रय कार्यक्रम भनेर नाक खुम्च्याएका छैनौँ । राम्रोलाई राम्रो भन्न सक्नु, आफ्ना कमजोरी सच्याउनु र आलोचित हुनु कम्युनिष्टको गुण र गौरवको विषय बन्नुपर्छ । आवेग र आक्रोशमात्र हाम्रो कोर्स होइन । राजनीतिक मिसनको पत्रकारिता गरेर बरालले पनि साम्यवादकै वकालत गरेका छन्, अरुको टिभीमा क्षमता देखाएर सुमन शर्माले पनि समृद्ध समाज र अपराधरहित समुदायकै कल्पना गरेका छन् । पछिल्लो समय पत्रकारिताको मूलधार वामपन्थीको हातमा पर्दै गयो भनेर कांग्रेसी पत्रकारहरुलाई गानो दुखिरहेका बेला पोखराकै बराल र ढुंगानाले यसरी फेसबुकमा युद्ध नगरेकै बेस हो । चित्त नबुझेका कुरा बसेर छलफल गरौँ । छलफलमा आवेगमा एकाध थप्पड हान्ने भण्डारीहरुसँग डराउनु पर्दैन । किनभने हिजो युद्धकालीन समयमा पनि हामी क्रान्तिका पक्षधरहरुको परेडकै बीचमा हुर्किएर आएका हौँ । बमबारुद टेकेर नै भिज्युल खिचेर आएका हौँ । न बीमा थियो न सुरक्षा । तैपनि फिल्डमा हामी नवराज बराल भन्दा कम खटिएका थिएनौँ । र, आज पनि पेरिसडाँडादेखि काफलडाँडासम्मका कमरेडहरुको गफ्फु र एक सय २३ जोर सुटबारे जानकार छौँ । थप जानकार हुन चाहनेहरुले अघिल्लो साताको जनआस्थामा विष्णु परियार शक्तिको पीडा पढे पनि पुग्छ ।
तर दुखको कुरा यो हो कि, हामी जति शान्तिका कुरा गरिरहेका छौँ । शान्ति प्रक्रियाको कोर्ष बिगार्नेहरुलाई पनि बेलाबखत खबरदारी गर्नैपर्छ । एकातिर समयमा पारिश्रमिक नपाएको नियती । अर्कातिर मालिकहरुले तलब नदिँदा आत्महत्या गर्नुपर्ने पीडा । अनि शान्ति प्रक्रियाका कुरा गर्ने कमरेडहरुबाटै पत्रकारलाई फेरि पनि दफनाउने ध्वाँश । यो मिल्ने कुरा नै होइन । पत्रकारितालाई मर्यादित बनाउन कलम र सीप तिखार्न जरुरी छ । बन्दुकको धम्की दिएर तर्साउँदा कस्तो शान्ति प्रक्रिया र साम्यवादको वकालत गर्न खोजेका हुन् कमरेडहरुले । निर्वाचनको मुखमा सबैको मुख बन्द गर्न सकिन्छ भन्ने ६१ साले फूर्ति नलगाएकै वेश । त्यसमाथि बेला यस्तो छ कि, कुरायो र अर्ती दियो भन्दै क्रान्तिकारीले क्रान्तिकारीहरु कुटेको बेला छ । बरालजीले आफूसँग भएको बन्दुक नजिकैको प्रहरी चौकीमा बुझाउँदा उत्तम होला ।
चपचष्वब।िभबिल२नmबष्।िअयm