«

»

जीवन दर्शन : निरपेक्ष त्यागको खाँचो

laxman—आचार्य लक्ष्मण भण्डारी
हामी प्रायः हरेक कामको जस खोजिरहेका हुन्छौं । सानाभन्दा साना प्रयास पनि बिनास्वार्थ वा बिनाफाइदाका नहोऊन् भन्नेतिर हामी एकदमै सचेत भएका हुन्छौं । संसारमा सबै कामहरूले हामीले सोचेको जस्तै परिणाम दिन्छन् भन्ने छैन । त्यसो त, हामीले सम्पन्न गरेका कुनै पनि कामहरू कहिल्यै परिणामविहीन हुँदैनन् तर हामी आग्रह पालेर बाँचेका हुन्छौं । हाम्रो यही आग्रहका कारण स्वाभाविक रूपमा प्राप्त हुने हाम्रो उपलब्धिप्रति हामीले प्रतिक्रिया वा असन्तुष्टि पोखिरहेका हुन्छौं ।  हरेक कामका परिणामहरू हाम्रो सापेक्षमा मात्र असल वा खराब लाग्ने गर्दछन् । हामी विचार, समाज, समय र परिवेशका मान्यता पालेर बाँचिरहेका हुन्छौं, हाम्रा तमाम मूल्य र धारणाहरू पनि सापेक्षित छन् । हामी प्रायः हाम्रो समाज, परिवेश, समय र समसामयिकताका धारणा वा आग्रह पालेर बाँचेका हुन्छौं । जतिबेला हामीले गरेको प्रयत्नको परिणाम हामीले धारण गरेका आग्रहसँग मेल खान्छ, त्यतिबेला मात्र हामी खुसी र असन्तुष्ट हुने गर्दछौं ।

हामीले अनुभव गरेका दुःख, पीडा र अनुभूति सबै हाम्रो आग्रह र अपेक्षाका परिणाम हुन् । जुन दिन हामी हाम्रा आग्रह, धारणा र पूर्वचिन्तनहरूबाट मुक्त हुनेछौं, त्यतिखेर मात्र हामी हाम्रा समस्त तनाव, पीडा र दुःखबाट पनि मुक्त हुन सक्ने छौं । महत्वाकाङ्क्षा सर्वशान्तिको अवरोधक हो । यही महत्वाकाङ्क्षाका कारण हामी आपसमा लडिरहेका छौं, यही महत्वाकाङ्क्षाका कारण हामी आपसी विश्वास बचाइराख्न असमर्थ बनिरहेका छौं र यही महत्वाकाङ्क्षाका कारण हामी हाम्रो अस्तित्वको विराट उद्गमबाट च्यूत भइरहेका छौं ।  

गीतामा निष्काम कर्मयोगको चर्चा गरिएको छ । ‘कर्म गर, फलको आशा नगर’ यही गीताको सन्देश हो । हामीले प्रकृतिमा हे¥यौं भने गीताको यो  सन्देश सम्पूर्ण रूपमा लागू भइरहेको देख्न सक्छौं । आकाश, धर्ती, नदीनाला, हावापानी, बोटबिरूवा सबैले अपेक्षाहीन कर्म  गरिरहेका छन्, निस्वार्थ सेवा गरिरहेका छन् । आकाशको सूर्यको प्रकाश निरपेक्ष प्रकाशित भइरहेको छ । धर्तीका लागि बादल निष्काम बर्सिरहेको छ । धर्ती लाखौं अड्चन, अवरोध र अप्ठ्याराहरूबीच पनि आफ्नो दायित्वबाट टाढा भागेको छैन । प्रकृतिको यो निष्काम कर्मको परिणाम हो । उसले गर्ने कामको फल त हाम्रा लागि मात्रै राम्रो वा नराम्रो हो । प्रकृति स्वयम्का लागि सबै परिणाम उत्तिकै महत्वपूर्ण छन् ।  हामी राम्रो र नराम्रोको धारणा निर्माण गरेर बाँचेका छौं । त्यसैले, हामीले गर्ने कामका परिणाम वा प्रकृतिमा हुने परिवर्तन हाम्रा लागि राम्रा वा नराम्रा लाग्ने गरेका मात्रै हुन् ।

वास्तवमा मान्छे पनि त प्रकृतिको एउटा अङ्ग हो तर उसभित्र प्रकृतिको यो विराट मूल्यलाई आत्मसात् गर्ने विशाल दृष्टि अहङ्कारका कारण सङ्कीर्ण बन्दै गइरहेको छ । हामीले गर्ने हरेक कर्महरू अत्यन्त महत्वपूर्ण हुन्छन् । ती कुनै पनि कामहरू तिनका परिणामका अपेक्षामा धेरै महत्वपूर्ण हुन्छन् । तर हामी ती कामको मूल्यलाई निश्चित सीमा, धारणा र अपेक्षामा कैद गरेर अवमूल्यन गरिरहेका छौं ।  
आकाशबाट जल बर्साउने बादलको बदलामा हामीले के गर्न सक्छौं र ? के त्यसको मूल्य हुन सक्छ ? धर्तीले हामीले गरेका तमाम कुकृत्यका बाबजुद पनि आफ्नो सहनशीलतामा कमी ल्याएको छैन । आफ्नो छातीलाई सधैँभरि उत्तिकै व्यापक र विशाल बनाएर सबैले फ्याँकेका फोहोरलाई समेट्ने काममा धर्ती कहिल्यै थाकेको छैन । धर्तीको यो त्यागको के कुनै मूल्य छ ? के मान्छेसँग धर्तीको यो ऋण चुकाउने कुनै सामथ्र्य छ ? धर्ती र बादलका यी कर्महरू फलको सीमित दायराभन्दा धेरै माथि छन् । त्यसैले त कसैसँग केही अपेक्षा गर्दैनन्, न त बादल र धर्ती कहिल्यै आफूले गरेका कामको फलप्रति निराश नै हुन्छन् । अनि मान्छे मात्र फलको परिणामको किन अपेक्षा गर्छ ? किनभने उसले कर्मको विशिष्टतालाई बुझ्न  सकेन । कर्मलाई फलको दायराभित्र राखेर हेर्ने काम गरिरह्यो । उसको यही व्यवहारका कारण ऊ कहिल्यै सन्तुष्ट हुन सकेन । सन्तोषम् परम् सुखम्को मूल्य पनि प्रकृतिको यही त्यागको विज्ञानमा आधारित छ । प्रकृति आफ्ना हरेक गतिविधि र तिनका परिणामप्रति निरन्तर सन्तुष्ट छ । यो सन्तुष्टि उसको गतिशीलताको आधारभूमि बनिरहेको छ भने मान्छेका लागि सन्तोष गतिहीनताको कारण कसरी बन्न सक्छ ?

हामी भन्ने गर्छौं, ‘यदि आफ्नो प्राप्तिप्रति सन्तोष मानेर बस्ने हो भने त समाज र व्यक्तिको उन्नति–प्रगति नै कसरी हुन सक्छ र ? त्यो त विकासको बाधक हो ।’ यदि यो भनाइलाई सत्य मान्ने हो भने प्रकृतिको सन्तोषको कुनै अर्थ छैन, धर्तीको सहनशीलताको कुनै मूल्य रहँदैन । जति असन्तोष गरे पनि हामी अन्ततः प्राप्त गरेको परिणाम स्वीकार्नुबाहेक अरु केही गर्न सक्दैनौं । हामीसँग अर्को कुनै विकल्प छैन । सन्तोष शक्तिको स्रोत पनि हो । यसले हामीलाई अनावश्यक लोभ, लालच, मोह र अस्वस्थ दौडधूपको फोहोरी खेलबाट मुक्त रहन प्रेरित गर्दछ । जब हामी यो खेलबाट मुक्त हुन्छौं, त्यतिबेला मात्र आनन्द, शान्ति र समृद्धिको दिशामा अघि बढ्न सफल हुन्छौं ।  
आज मान्छे विकासको नाममा असन्तोषको विशाल भारी बोकेर हिँडिरहेको छ । महत्त्वाकाङ्क्षाको ठूलो बोझ लिएर प्राप्तिको अवाञ्छित दौडमा सामेल छ । तर के उसको महत्त्वाकाङ्क्षा पूरा भएको छ ? विकास र गतिशीलताका नाममा गरिएका मान्छेका प्रयासहरूले सार्थक र इच्छित परिणाम दिएका छन् त ? छैनन् । असन्तोष आफैँमा विष हो । मनमा विष धारण गरेर के हामी विकासको यात्रा गर्न सक्छौं ? विषको परिणाम नै विनाश हो । असन्तोषको नाममा हामीले विनाशसिवाय अरु केही निम्त्याएका पनि त छैनौं ।
 
कर्तव्यप्रति मात्र हाम्रो अधिकार छ । कर्म हाम्रो मौलिक अधिकार हो । फल हाम्रो अधिकारको कुरा पनि होइन । हाम्रो कर्म जस्तो छ, फल पनि त्यस्तै हुन्छ । कर्म कहिल्यै गलत हुँदैन । हामी यदि असल मनोवृत्ति र धारणाका साथ कर्म गर्छौं भने त्यो कर्मको फल दुःखद् कहिल्यै हुन सक्दैन । कर्मलाई हामी फलको सीमाबाट मुक्त गरौं । कर्मको  तुलना कहिल्यै फलसँग हुन सक्दैन । कर्म वा दायित्वको कुनै मूल्य हुँदैन । यो त अनमोल कुरा हो । यस्तो अनमोल कर्मको व्यापकतालाई हाम्रो अपेक्षा र आग्रहमा आधारित फलको चौघेराभित्र सीमित ग¥यौं भने कर्मको ठूलो अवमूल्यन हुनेछ ।     
अरुका प्रतिक्रियाप्रति कुनै ध्यान नदिऊँ । मान्छेहरूले आकाशमा चम्किइरहेका ताराहरूमा पनि गुनासो गर्छन् । असिना, आँधी, हुरी, वर्षालाई देखिनसहनेहरू कम छैनन्, तापनि यी सबै मान्छेका प्रतिक्रियाप्रति बेखबर बनिदिएका छन् । प्रशंसाको तिर्खामा नबाँचौं । अपमान र सम्मानमा विभेद नदेख्नेहरू नै सच्चा मनुष्य हुन् भनेर आदर्शपुरूषहरूले भनेका छन् । एउटी आमाको वात्सल्य हाम्रो जीवनको आदर्श बनोस् । जन्मेदेखि सन्तानको काम आमालाई दुःख दिनुबाहेक अरु केही हुँदैन । आमाको ममताको न्यानो काखमा दिशा, पिसाब गर्नु, रातिमा रोएर निद्रा भङ्ग गरिदिनुजस्ता काम बालबालिकाका सामान्य काम हुन् । यी कामका बावजुद पनि आमाको ममता कहिल्यै कम हुँदैन, कहिल्यै रित्तिँदैन । जीवनको अन्तिम अवस्थासम्म पनि आफ्ना छोराछोरीप्रति हरेक आमाको हृदयमा अपार प्रेमको निर्मल गङ्गा प्रवाहित भइरहेको हुन्छ । कुनै अपेक्षाबिना, कुनै स्वार्थबिना । छोराछोरीले चाहे जे भनून्, चाहे जे गरुन् ।  यस्तो पो प्रेम, यस्तो पो हृदय ! आज हरेकमा यस्तै हृदयको खाँचो छ । संसार घृणा, तिरस्कार र प्रेमहीनताको कालो जहर पिएर बाँच्न विवश छ । यस्तो अवस्थामा आमाको जस्तो प्रेम, धर्तीको जस्तो सहनशीलता र बादलको जस्तो निरपेक्ष त्याग र कर्तव्यको खाँचो छ ।  
समुद्रमा रहेर फोहोर पनि हीरा र मोती बन्ने हैसियत राख्छन् । मनुष्यको हृदय पनि त्यही समुद्रको जस्तो विशाल भयो भने मात्रै सबैले सबैबाट सहयोग र साथ प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना हुन सक्दछ । सबैको मनमा सबैका लागि स्थान सुरक्षित भएको अवस्था नै प्रेमको अवस्था हो । प्रेम छनौट होइन, स्वीकृतिको नाम हो । यसप्रकार सबैको अस्तित्वलाई सप्रेम स्वीकार गरी सन्तोषको पृष्ठभूमिबाट दायित्व र कर्तव्यको यात्रा गरौं । निष्काम कर्मको विज्ञानलाई बुझेर निरपेक्ष र स्वार्थहीन जीवन बाँच्ने प्रयत्न गरौं ।  
सबै हाम्रा लागि हुन्, हामी सबैका लागि हौं भन्ने भावनाको विकास नै यथार्थमा विकास हो । यस्तो विकास सिमेन्ट र कंक्रिटको विकासजस्तो भत्किएर र बिग्रिएर कहिल्यै जाँदैन । यो त समयलाई पनि जितेर सधैँसधैँ बाँचिरहने विकासको उदाहरण हो । कसैलाई घृणा गरेर कसैलाई प्रेम गर्नुको अर्थ छैन । गुलाबको फूल टिपेर प्रेमस्वरूप कसैलाई समर्पण गर्दा कोही एकजना खुसी त होला तर गुलाबको अझ फुल्ने र फक्रने अधिकार भने काटिन्छ । हामी त्यस्तो हृदय बनाऊँ जहाँ मान्छे मात्र होइन, बोटबिरूवा, पशुपक्षी र कीटपतङ्ग पनि सम्मानित र सुरक्षित होऊन् । लाग्दछ, यही नै साँचो मनुष्यता हो ।