«

»

जाँदाजाँदै बस्नेतको खुलासा ः

maheshएमालेलाई पहिलो बनाउन युवासंघका १२ रणनीतिक योजनापत्र  
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १ असोज
युवासंघका अध्यक्ष महेश बस्नेतले नेकपा (एमाले)लाई पहिलो पार्टी बनाउन १२ वटा रणनीतिक योजनापत्र बनाएको जानकारी दिएका छन् । ‘केन्द्रीकृत र कार्यक्रमिक योजना बनाएका छौँ’, युवासंघको राष्ट्रिय कार्यकर्ता भेला सकेर राजधानी फर्कन लागेका बस्नेतले मंगलबार भरतपुर विमानस्थलमा सञ्चारपत्र दैनिकसँग कुरा गर्दै भने– ‘कार्यक्रमिक योजना भित्र विगतदेखि वर्तमानसम्मका क्रियाकलापहरुलाई समीक्षा गर्दै काम अगाडि बढाउने छौँ ।’
विगतका गौरवपूर्ण विषयहरुलाई आत्मसाथ गर्दै एमालेको घोषणापत्र बनाउन युवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्नेतले बताए । पहिलो संविधानसभाको चुनावमा एमाले तेस्रो दल बन्नुमा माओवादीको आतंक, युवासंघले आफ्नै नेताहरुको सुरक्षा गर्न नसक्नु र नेताहरु कुटिनु मुख्य कारण रहेको बस्नेतको भनाई थियो । ‘एमाले तेस्रो शक्ति बन्नुमा तत्कालिन माओवादी आतङ्कको उपज हो, त्यो बेलामा नेतृत्व तहका नेताहरु असुरक्षित थिए’ बस्नेतले भने ।
‘पहिलो संविधानसभा चुनावमा युवाहरु जुझारु थिएनन्, त्यो बेलामा बौद्धिक युवाहरुमात्रै युवासंघमा थिए । अहिले हामीले जुझारु युवाहरु थपेर युथफोर्स गठन गरेका छौँ जुन जुझारु र बौद्धिक युवाहरुको संगठन हो’ बस्नेतले भने । विगतमा एमालेले गरेका राम्रा कामहरुको तुलनात्मक चार्ट बनाइने, अन्य दलले विगतमा गरेका आश्वासनलाई प्रचार गरिने पनि बस्नेतले जानकारी दिए । चुनावी प्रकृयामा जाँदा एमालेको पक्षमा सामाजिक सञ्जालको ब्यापक प्रयोग गर्ने बस्तेतले बताए । उनका अनुसार युवासंघले वेबसाइट अपडेट गरेर सबै जानकारीहरु उपलब्ध गराउने छ ।
बस्नेतले युवासंघले मिडियासँगको सम्बन्धलाई व्यवस्थित बनाउने पनि बताए । उनले भने– ‘विराटनगरमा भएको एउटा घटनाले मलाई दुःखी बनाएको छ, अबका दिनमा युवासंघबाट त्यस्तो घटना हुने छैन ।’ प्रेस स्वतन्त्रताको आफुहरुले पूर्ण सम्मान गर्ने पनि बस्नेतलले बताए । ‘हामीले सञ्चारकर्मी र सुरक्षाकर्मीहरुसँग सहयोगीको भुमिका निभाउनेछौँ’ उनको भनाई थियो ।
युवासंघको पहिलो प्राथमिकता सुरक्षामा हुने बस्नेतले बताए । ‘पहिले बन्दुकको भरमा चुनाव जितेको माओवादी अहिले पैसाको भरमा आउँदैछ, माओवादीले लडाकुको भरणपोषणको १८ अर्ब, नभएका लडाकुको साढे चार अर्ब, युवा स्वरोजगार कोषको रकम दुरुपयोग गर्दै पैसाको भरमा चुनावमा आउन थालेको छ । माओवादीको विरुद्धमा विशेष चुनावी योजना बनाउँछौं’ बस्नेतले भने ।
चुनावमा एमालेको सुरक्षा कवच बन्नको लागि चन्द्र लामाको नेतृत्वमा युवासंघ व्युँताएको बस्नेतले बताए । युवासंघले आफ्नो संयोजकत्वमा निरु पाल उपसंयोजक रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरेको बस्नेतले बताए । युवासंघको राष्ट्रिय भेलाबाट सुरक्षा र प्रचार उपसमिति गठन गरिएको र आवश्यक परे अन्य उपसमितिहरु पनि गठन गरिने बस्नेतले जानकारी दिए ।
चुनावी कार्यक्रमको लागि केन्द्रमा पाँच सय वटा मोटरसाइल सहितको मोवाइल फोर्स तुरुन्तै गठन गरिने र उक्त फोर्सले आधा घण्टा भित्र पार्टीको चुनावी कार्यक्रममा सहयोग पु¥याउने बस्नेतले बताए ।  जिल्लामा दुईसय वटा मोटरसाइकल सहितको मोवाइल फोर्स र प्रत्येक निर्वाचन क्षेत्रमा सयवटा मोटरसाइकल सहितको टास्क फोर्स गठन गरिने बस्नेतले बताए । ‘फोर्सले नेताहरुको सुरक्षा, उमेदवारको सुरक्षा, सभा तथा समारोहको सुरक्षा साथै मतदाताको सुरक्षा गर्ने जिम्मा लिनेछ’ बस्नेतले प्रष्ट्याए ।
चुनावमा प्रत्येक बुथमा पुरुष र महिलाहरुको छुट्टाछुट्टै युथफोर्स परिचालन गरिने बस्नेतले बताए । बस्नेतले भने– युथफोर्सले चुनावको दिनमा मतदान केन्द्रको, मतदाताको र उमेदवारको सुरक्षा गर्नेछ ।’ निर्वाचनको दिनमा युथफोर्सले मतदाताहरुलाई पानीको व्यवस्था गर्ने लगाएतका स्वयम्सेवकीय काम गर्ने बस्नेतलले जानकारी दिए । ‘चुनावको दिनमा बुथ केन्द्रीत युथ फोर्स रहने छ’ उनले भने ।
चुनावी कार्यमा खटिने युथ फोर्सका कार्यकर्ताहरु व्यवसायिक भएका हुँदा उनीहरुलाई पार्टीले खर्च दिनु नपर्ने बस्नेतलले बताए । ‘फोर्समा रहेका युवाहरु आफ्नै घरमा रहेर पूर्णकालिन कार्यकर्ता हुनेछन्, उनीहरु पार्टीलाई आवश्यकता परेको खण्डमा तुरुन्त उपस्थित हुन्छन्’ बस्नेतले भने ।
चुनाव पछि युथफोर्स निष्क्रिय हुन्छ ? भन्ने प्रश्नमा बस्नेतले भने– ‘युथफोर्स निष्क्रिय हुँदैन, चुनाव सकिएपछि समाजमा रहेका छुवाछुत प्रथा, वर्गीय शोषण र उत्पीडितहरुको हक र हित तथा सामाजिक विकृति तथा महिला हिंसा जस्ता सामाजिक अपराध चिर्नको लागि युथफोर्स लागि पर्नेछ ।’ यहि युथ फोर्स तीनवर्षसम्म कायम रहने र त्यसपछि नयाँ नेतृत्वमा जाने बस्नेतले जानकारी दिए ।
‘एमालेलाई भोट हाल्ने प्रतिवद्धता सहित प्रतिव्यक्ति १० रूपैयाँ सहयोग लिनेछौँ’, युथ फोर्सका चुनावी कार्यक्रमहरु बताउँदै बस्नेतले भने– ‘प्रति परिवार एक सय रूपैयाँ आर्थिक सहयोग लिन्छौं, आर्थिक रुपमा कमजोर परिवारलाई सहयोग गर्न बाध्य पार्ने छैनौँ ।’ जनताको माझमा गएर विगतमा माओवादीले क्रान्तिको नाममा बाँडेका आश्वासनहरु र उसका गलत क्रियाकतापको तुलनात्मक रुपमा व्याख्या गरिने बस्नेतले जानकारी दिए ।
चुनावको समयमा एमालेको घोषणापत्रको बारेमा विभिन्न कार्यक्रमहरु गर्ने, एमालेले गरेका गौरवपूर्ण कामको प्रचार गर्ने, माओवादी र काँग्रेसले गरेका गलत कामको पर्दाफास गर्ने रणनीतिमा युर्थफोर्स लागिपर्ने बस्नेतले बताए ।
युवाहरुलाई व्यापक रुपमा युवासंघमा प्रवेश गराउने पनि बस्नेतलले दाबी गरे । ‘युवासंघमा हालसम्म छ लाख सदस्य रहेकामा अबको दुई महिनामा तीन लाख नयाँ सदस्य युवासंघमा प्रवेश गराउँदै नौ लाख भन्द बढी सदस्य पु¥याएर एमालेलाई नौ लाख भोट उपहार प्रदान गर्ने छौँ’ बस्नेतलले भने ।
अन्य पार्टीबाट युवासंघमा प्रवेश गरेका कार्यकर्ताहरुलाई मातहतका कमिटीमा स्थान दिइने बस्नेतले जानकारी दिए । ‘नेताहरुलाई पार्टी प्रवेश गराउँदा बिकृति भित्रिने हुनाले कार्यकर्ता प्रवेशमा जोड दिनेछौँ’ बस्नेतले भने । २
अहिलेको राष्ट्रिय कार्यकर्ता भेलामा युवासंघ ‘एक मन एकता’को आधारमा आएको बस्नेतले बताए । राष्ट्रिय कार्यकर्ता भेलाको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमले गरेको सहयोगको लागि बस्नेतले कृतज्ञता व्यक्त गरे । साथै अन्य राजनीतिक संगठन, स्थानीय वासिन्दाले गरेको समर्थनको लागि धन्यवाद ज्ञापन गर्दै चितवनमा भएको भेला ऐतिहासिक भएको टिप्पणी गरे । ‘युवासंघका कार्यकर्ताहरु इमान्दार र विचारवान भएको छाप चितवनका उद्योगी र जनताबीच छोड्न युवासंघ सफल भएको छ’ बस्नेतले भने ।
चितवनले गरेको आतिथ्यताको देशभरका कार्यकर्ताले प्रशंशा गरेको बस्नेतले बताए । आम सभामा पार्टीले पाँच लाख रूपैयाँ दिएको र बन्दसत्रको लागि थप १६ लाख रूपैयाँ खर्च भएको बस्नेतले जानकारी दिए । बिमानस्थलमा बस्नेतसँगै काठमाडौं जान लागेका युथ फोर्सका संयोजक चन्द्र लामा र महिला युथफोर्सकी संयोजक निरु पाललाई युवा संघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी, केन्द्रिय लेखा आयोगका सदस्य कमल पाठकलगायतले बिदाई गरेका थिए ।