निर्वाचन आयोगको कार्य तालिका बमोजिम मंसिर ४ गते हुने संविधान सभा निर्वाचनलाई लक्षित गरी जिल्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम अगाडि बढाइएको छ । चितवनमा पनि कार्यालय स्थापनासँगै पाँचवटै क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भइसकेका छन् । सवै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको अभियानसँगै जिल्ला जिल्लामा निर्वाचनको लागि आवश्यक प्राविधिक काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
निर्वाचन घोषणा हुनुमात्र ठूलो कुरा होइन, त्यो निर्वाचन सम्पन्न पनि गर्न सक्नुपर्छ । निर्वाचन सम्पन्न गर्नुमात्र पनि ठूलो कुरा होइन, त्यो निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न सक्नुपर्छ । त्यसका लागि निर्वाचन कार्यालयलाई सवै क्षेत्रको सहयोग आवश्यक पर्छ । निर्वाचन कार्यालयले प्राविधिक कामहरु मात्र गर्ने हो, बाँकी वातावरण निर्माण गरिदिने कर्तव्य राजनीतिक दल, राज्यका अन्य निकाय एवम् आम सरोकारवालाहरुकै हो । लोकतन्त्रको मेरुदण्ड सफल निर्वाचन हो भन्ने कुरामा बहसको जरुरी छैन, त्यसैले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने कार्यमा सरकारलाई सहयोग पु¥याउनु आम नागरिक तथा सवै पेशा व्यवसायीको पनि कर्तव्य हो ।
निर्वाचनको सफलताको कामना गरिरहँदा समन्वयको पाटो सवैभन्दा महत्वपूर्ण रहन्छ । जिल्ला जिल्लामा त्यो समन्वयकारी भूमिका निर्वाह गर्ने जिल्ला निर्वाचन कार्यालय, त्यसका अधिकारी र निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरुको हो । हाम्रो लोकतान्त्रिक परिपाटीमा ‘कर्मचारीले अरुलाई मान्छे नगन्ने, अरु सवैले कर्मचारीलाई चरोमुसो जत्तिको पनि नठान्ने’ प्रवृत्ति हलक्कै हुर्किएको छ । निर्वाचन महत्वपूर्ण पर्व भएकोले यस्तो सोचाई र व्यवहारले निर्वाचनको सफलता कल्पना पनि गर्न सकिंदैन । सवैको आ–आफ्नै भूमिका छ र त्यो भूमिका अहिले अत्यन्तै महत्वपूर्ण छ भन्ने तथ्यलाई सवैले मनन् गर्नु अत्यावश्यक छ ।
निर्वाचनको माहौल शुरु भइसकेकोले निर्वाचन सम्पन्न गराएर प्राविधिक काम नसकुन्जेल निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयले प्रशासन, सुरक्षा निकायलगायत सरकारी निकाय, पर्यवेक्षण गर्ने संस्थाहरु, पत्रकार, राजनीतिक दल र तिनका नेतृत्व, उमेदवारलगायत आवश्यक पर्ने सवैसँग समन्वयको रणनीति बनाउनु जरुरी छ । विगतका अनुभवहरुलाई पनि आत्मसात गरि समन्वयको पाटोलाई मजबुत पारिनु मुख्य मध्येको एउटा काम हो । यो निर्वाचन सम्पन्न गराउने कार्यमा खटिएका कर्मचारीहरुको पनि परीक्षा हो । पहिलो संविधानभा संविधान दिन नसकी भङ्ग हुनुपरेको अवस्थामा अब हुन लागेको दोस्रो संविधानसभाको निर्वाचनले विश्व राजनीतिकै ध्यान तानिरहेको छ । यस्तो अवस्थामा जिम्मेवार निकायको समन्वयकलाले निर्वाचनको माहौल बढ्नै मात्रै होइन सवैले अपेक्षा गरेअनुरुप स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न हुने विश्वास गर्न सकिन्छ र अन्ततः त्यसले एउटा सुखद् परिणाम दिनेछ ।