डा. यदुनाथ पोखरेल
केहि दशक अगाडि सम्म राजनीतिमा आउने व्यक्तिहरुको सामाजिक सुधारको पृष्ठभूमि बडो प्रखर हुने गर्दथ्यो । धेरै मानिसहरु सामाजिक सुधारको पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्थे । अथवा राजनीतिलाई एउटा निश्चित गन्तव्यमा पु¥याउनका लागि प्रेरक विषयका रुपमा सामाजिक दायित्वसँग आवद्ध भएका हुन्थे । भारतमा त यस्ता व्यक्तिहरुको लामो श्रृङ्खला रहेको छ । भारतीय स्वाधिनता आन्दोलनका प्रखर क्रान्तिकारी अरबिन्द घोष, बनारस हिन्दु विश्वविद्यालयका जनक पं. मदनमोहन मालवीय, अलिगढ मुस्लिम विश्वविद्यालयका संस्थापक सर सायद अहमद खाँन, प्रान्टियर अब्दुल सब्बार खाँन, सर्वपल्ली राधाकृष्णम जस्ता अनेकौं प्रख्यात नामहरुको लामो सूची छ । नेपाली राजनीतिमा यस्ता नामहरु विरलै पाइन्छन् । यसरी सामाजिक र राजनीतिक क्षेत्रलाई एकैसाथ अगाडि बढाउन सफल व्यक्तिहरु मध्ये एक हुनुहुन्थ्यो वरिष्ठ समाजसेवी स्व. नरबहादुर खाँड । नेपालको राजनीतिमा राष्ट्रिय स्तरको व्यक्तित्व बनाइसक्नु भएका खाँड आफुलाई सामाजिक क्षेत्रमा पनि स्थापित गराउन सफल हुनु भएको थियो ।
२०३८ साल जेठ २७ गतेको कुरा हो । म कक्षा ८ मा पढ्दै थिएँ र विद्यार्थी राजनीतिमा चासो राख्दथेँ । त्यतिबेला सुनेको थिएँ, गितानगर–६ केशरबागमा दुई गाडा किताबहरु पढेको व्यक्तित्व हुनुहुन्छ रे । उहाँलाई भेट्ने इच्छा तीब्र भएर आयो । मित्र प्रकाशबाबु पौडेल र म सोधखोज गर्दै केशरबाग पुग्यौं । काठबाट बनेको पुरानो घरको बार्दलीमा बसेर लेखापढी गरिरहनु भएको थियो । उहाँ नजिकै पुगेर अभिवादन ग¥यौं, सामान्य शिष्टाचारपछि आफ्नो परिचय दिंदै उहाँको सङ्केतपछि गुन्द्रिमाथि ओछ्याइएको दरीमा बस्यौं । यतिबेलासम्ममा मुमा शर्वादेवी खाँड (हाल उहाँपनि स्वर्गीय भइसक्नुभएको छ) ले चिया लिएर आउनुभयो । सामान्य शिष्टाचार पछि उहाँहरुको सादा जिवन उच्च विचारबाट हामी अति प्रभावित भयौं । स्व. खाँडले हामीलाई भन्नुभएको थियो– ‘प्रकाशबाबु राजनीतिमा सक्रिय हुनुहोला जस्तो लाग्दैन, त्यसैले तपाईंले सामाजिक संघ÷संस्थामा रहेर सामाजिक काम गर्ने र यदुजीले राजनीतिमा सक्रिय भएर लाग्ने ।’ हुन पनि अजसम्म उहाँकै मूल्याङ्कन अनुसार कृयाशिल रह्यौँ ।
करिव ३२ वर्ष अगाडि देखिएको व्यक्तिगत सम्बन्ध समेतले गर्दा पनि स्व. नरबहादुर खाँडलाई म नजिकबाट जान्दछु । आफ्नो जीवनमा उहाँले कहिल्यै पनि व्यक्तिगत मित्र बनाउनु भएको छैन । जे जति बनाउनुभएको छ, ती सबै सैद्धान्तिक मित्रहरु नै छन् । उहाँको सामिप्यमा रहेर काम गरेका कैयौँ कार्यकर्ता आज नेताको रुपमा स्थापित भएर सामाजिक तथा राजनीतिक क्षेत्रमा लागि रहेका छन् । धर्म, दर्शन, इतिहास र अनुसन्धानमा विशेष रुची राख्नुहुने उहाँका समय समयमा प्रकाशित पुस्तक र लेख, रचनाहरु नेपालको वाम लोकतान्त्रिक आन्दोलमा लाग्नेहरुका लागि प्रेरक तत्वको रुपमा रहेका छन् । मोहन विक्रम सिंहबाट बढि प्रभावित उहाँले कम्युनिष्ट पार्टीमा कम्युनिष्ट भएर मात्र लाग्न सकिने र कम्युनिष्ट भएर मात्र कम्युनिष्ट पार्टी सञ्चालन गर्न सकिने कुरामा विशेष जोड दिनुहुन्थ्यो । आफ्नो राजनीतिक जीवनको दौरानमा कम्युनिष्ट पार्टीहरुले नेपालको कुनै पनि राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न नसकेको कटुसत्य उहाँ सहज रुपमा स्वीकार्नुहुन्थ्यो । राजनीति र सामाजिक क्षेत्रमा कृयाशिल नेता–कार्यकर्ताहरुले झुटो बोल्न नहुने, भ्रष्टाचारमा संलग्न हुन नहुने, नैतिक पतन हुने र चरित्रमा दाग लाग्ने जस्ता कार्यबाट सधैँ टाढा रहनुपर्ने कुरामा उहाँले विशेष जोड दिँदै आउनु भएको थियो ।
पिता कुलबहादुर खाँड तथा माता रत्नकुमारी खाँडको तेस्रो पुत्र रत्नको रुपमा स्याङ्जा जिल्ला बाघखोर–२, जोगीथुम (हाल वालिङ्ग नगरपालिका–९) मा वि.सं. १९९९ कार्तिक १७ गते शनिबारका दिन (सन् १९४३ नोभेम्बर–२) मा जन्मनुभएको थियो नरबहादुर खाँड । २०१७ सालमा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुहुने स्व. खाँड २०१७ सालमै चितवनको गितानगर–६, केशरबागमा बसाइँ सर्नु भएको थियो । नेपाली, हिन्दीका साथै अङ्ग्रेजीमा समेत बोलचाल गर्न सक्ने स्व. खाँडको औपचारिक शिक्षा भने प्रवेशिका परीक्षामा नै सीमित रहन पुग्यो । निर्भिक, निडर, मृदुभाषी र राजनीतिमा प्रष्ट दृष्टिकोण राख्ने उहाँलाइ फरक राजनीतिक विचारधारा राख्ने नेता तथा सामाजिक कार्यकर्ताहरुले समेत मुक्त कण्ठले प्रशंसा गर्न पछि पर्दैनन् र उहाँलाई सत्यवाद युधिष्ठिरको संज्ञा दिन पुग्दछन् । उहाँको सामाजिक एवम् राजनीतिक जीवनलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
राजनीतिक जीवन ः
वरिष्ठ समाजसेवी स्व. नरबहादुर खाँडको राजीतिक जीवन २०१७ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश सँगै सुरु हुन्छ । २०२२ सालबाट चितवनको राजनीतिमा कृयाशिल उहाँले यमुनाप्रसाद न्यौपानेलाई आफ्नो राजनीतिक गुरुको रुपमा उल्लेख गर्नु भएको थियो । स्व. खाँड २०२४ सालबाट २०३३ सालसम्म अविछिन्न रुपमा नेकपा चितवनको सचिव रहनु भएको कुरा स्वयम्ले उल्लेख गर्नु भएको छ । २०२४ सालमा ननसेन्टर कमिटीको सचिव, २०२८ सालमा नेकपा (मसाल)मा आवद्ध, २०३१ सालमा वनारसमा भएको चौंथो महाधिवेशनमा प्रतिनिधित्व गर्नु भएको थियो । २०३५ जेठमा क. सीपी मैनाली र क. जीवराज आश्रितसँग सम्पर्क भएपछि असारमा नेकपा (माले)मा प्रवेश गरि चितवन जिल्ला कमिटीको सचिव र नारायणी–जनकपुर क्षेत्रीय कमिटीको सदस्य तथा नेकपा (माले) चितवनको संस्थापक सदस्य रहनु भएको थियो ।
२०३६ सालको जनमत संग्रहमा पार्टीले लिएको निर्णयमा असहमती जनाउँदै २०३७ साल वैशाख ९ गते तत्कालिन मालेबाट अलग भई स्वतन्त्र वामपन्थीको रुपमा बहुदलको प्रचारमा लाग्नुभएको थियो । यसै क्रममा २०४० सालको असारमा नेकपा मानन्धर समुहमा प्रवेश गरि केन्द्रीय कमिटीको सदस्य र केन्द्रीय मजदुर संघको उपाध्यक्षको गहन जिम्मेवारी सम्हाल्नु भएको थियो । कम्युनिष्ट पार्टीहरुबीच एकतामा जोड दिंदै आउनुहुने स्व. नरबहादुर खाँड ६ जना केन्द्रीय कमिटीका सदस्य सहित विभिन्न जिल्लाका हजारौं कार्यकर्ताको साथमा २०४७ साल पौष २२ गते नेकपा (एमाले)मा समाहित हुनुभयो । पार्टीले उहाँलाई केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारी दिएर नारायणी अञ्चल इन्चार्ज बनाएको थियो ।
२०४९ सालमा पाँचौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार कमिटीको सदस्य, २०५४ मा नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनबाट केन्द्रीय अनुशासन निरीक्षण कमिटीको सदस्यमा निर्वाचित र त्यस कमिटीको सभापति जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो भने २०५९ को सातौं महाधिवेशन पछि केन्द्रीय सल्लाहकार कमिटीको सचिव र पछि त्यसको सभापतिको गहन जिम्मेवारी सम्हाली सक्नुभएको थियो । सादा जीवन उच्च विचारका धनि स्व. नरबहादुर खाँडले नेकपा (एमाले) सरकारको नेतृत्वमा रहँदाको ९ महिने कार्यकालमा राजनीतिक पीडित सहायता समितिको अध्यक्ष जस्तो सम्मानित र गरिमामय पदीय जिम्मेवारी पूरा गर्नुभएको थियो । यस भन्दा पहिला टंक प्रसाद आचार्य र कृष्णप्रसाद भट्टराईले यो जिम्मेवारी वहन गर्नुभएको थियो । नेकपा (एमाले)कोे इतिहासमा उहाँको कार्यकाल स्वर्णिम अक्षरले लेखिने कुरा उहाँको नजिक रहेर केन्द्रीय निकायमा काम गर्ने कतिपय नेताहरु बताउनु हुन्छ ।
विभिन्न आन्दोलनमा सहभागिता ः
२०२१ सालमा तानाशाही पञ्चायतले लागू गरेको भूमि सुधारपछि मोहीको हक, हितमा शरिक भए बापत गिरफ्तारी र यातना, ११ दिन पछि रिहाइ ।
२०२५ सालमा शान्ति सुरक्षा खल्बलायो भन्ने आरोपमा गिरफ्तार गरि यातना दिँदै १५ दिन पछि रिहा ।
२०२७ सालमा सुकुम्बासीलाई वरण्डाभार जङ्गलमा बसोबस गराएको भन्ने आरोपमा गिरफ्तार गरि यातना दिँदै १५ दिन पछि रिहाइ ।
२०२८ सालमा पञ्चायतले लागू गरेको नियोजित शिक्षा नीतिको विरुद्धमा आन्दोलन सञ्चालन गरेको ।
२०२९ सालमा वारेण्ट भएपछि भूमिगत ।
२०३३ सालमा पञ्चायती तानाशाही सरकारले लागु गरेको भूमिकर आन्दोलनको अगुवाई गरे वापत गिरफ्तारी, यातना र राजकाज मुद्दा लगाइएको थियो ।
२०३६ सालको तानाशाही विरोधी आन्दोलनमा सक्रिय रुपमा भाग लिएको ।
२०४२ जेठ २२ को प्रजातन्त्र पुनस्र्थापना आन्दोलनमा नेतृत्व, गिरफ्तारी, यातना र ८ महिना ७ दिनपछि रिहा ।
२०४४ सालमा शान्ति सुरक्षा अन्तर्गत गिरफ्तार गरि ४५ दिनपछि रिहाइ ।
२०४६ को ऐतिहासिक जनआन्दोनमा संयुक्त वाममोर्चा चितवनको अध्यक्ष रहि आन्दोलनको सशक्त नेतृत्व गर्नुहुँदा राज्य विरुद्ध मुद्दा र ३३ वर्षे जेल सजायँ घोषणा ।
२०६२÷०६३ को अभुतपूर्व ऐतिहासिक जनआन्दोलनमा चितवनबाट सक्रिय सहभागि रहँदा प्रहरीको लाठीचार्जबाट घाइते, दुई दिन हिंड्नै नसकेको ।
अध्ययन, प्रशिक्षण र भ्रमण ः
स्व. नरबहादुर खाँडले पार्टीद्वारा सञ्चालन गरिएको नेतृत्वदायी तहका प्रशिक्षणमा प्रशिक्षक र प्रशिक्षार्थीका रुपमा विभिन्न समयमा विविध विषयहरुमा भाग लिनु भएको छ । सन् १९८६ सेप्टेम्बर देखि १९८७ मे महिनासम्म तत्कालिन सोभियत संघको मस्कोमा लेनिन इन्ष्टिच्युटमा माक्र्सबाद–लेलिनवादी दर्शन, अर्थशास्त्र, कम्युनिष्ट आन्दोलका बारेमा गहिरो अध्ययन गर्नुभएको थियो । कम्युनिष्ट आन्दोलनमा वैचारिक रुपबाट माक्र्सवाद–लेलिनवादको प्रखर शिक्षकको हैसियतले किसान, मजदुर, विद्यार्थी, प्रध्यापक, शिक्षक एवम् महिलाहरुबिच माक्र्सवादी शिक्षा दिनुहुने उहाँ एक कुशल संगठकको रुपमा समेत स्थापित नेता हुनुहुन्थ्यो । यसै गरि स्व. खाँडले सन् १९८७ मा पोल्याण्ड, फिनल्याण्ड र पूर्वी जर्मनीको राजनीतिक भ्रमण, सन् २००१ मा जनवादी गणतन्त्र चीन, हङकङको राजनीतिक भ्रमण, सन् २००२ मा भारतीय कम्युनिष्ट पार्टी सिपीआई, सिपीएम, सिपीएमएलसँगको भेटवार्ता र अनुभवको आदान–प्रदानमा सहभागी रहनु भएको थियो । सन् २००२ मा नै श्रीलङ्का, सिङ्गापुर र पाकिस्तानको शैक्षिक भ्रमण गर्नु भएको थियो भने सन् २००३ मा भारतका प्रसिद्ध क्यान्सर अस्पतालहरु मुम्बइ, दिल्ली, लखनउको अवलोकन भ्रमण गर्नु भएको थियो ।
सामाजिक जीवन ः
स्व. नरबहादुर खाँड २०२१ साल देखि नै निरन्तर रुपमा समाजमा रहेका जुवातास, मदिरापान, चेलीबेटी बेचबिखन आदि विकृतिका विरुद्धमा सामाजिक चेतनाको अभिवृद्धिमा निरन्तर लागिरहनु भयो । भ्रष्टाचारी, बलात्कारी र चेलिबेटी बेचबिखन गर्नेहरुलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था हुनुपर्दछ भन्ने दृढ अडान राख्नु भएको थियो स्व. खाँडले । २०२१ साल देखि मृत्यु पर्यन्तसम्म नै बाटो, कुलो देखि लिएर स्कुल, कलेज तथा अस्पतालहरुको विकास निर्माणमा निरन्तर लागि रहनु भयो । कृषि क्षेत्र अन्तर्गत चितवन केशरवागमा पहिलो पटक उन्नतजातका गाई पालन गर्न किसानहरुलाई प्रोत्साहित गर्दै चितवनमा पहिलो दुग्ध सङ्कलन केन्द्र स्थापना गराउने श्रेय उहाँलाई नै जान्छ भने स्व. खाँडकै सल्लाहमा शोभाखर चापागाईंले शिलाङबाट उन्नत जातका आठ÷दशवटा गाई पहिलो पटक चितवन–भित्र्याउनु भएको थियो । शिक्षा क्षेत्र अन्तर्गत पारस मावि (हालको शहिद स्मृति मावि) को २६ वर्ष लामो अवधिसँम्म सञ्चालक समितिको अध्यक्ष रहँदाकै समयमा उच्च शिक्षाका लागि सप्तगण्डकी बहुमुखी क्याम्पसको अवधारणा अगाडि सारेर त्यसको संस्थापक सदस्य रहनुभयो । स्वास्थ्य क्षेत्र अन्तर्गत २०५४ साल देखि २०५९ सालसम्म वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बोर्ड सदस्य र स्थानीय समितिको अध्यक्षको हैसियतले उहाँले पु¥याउनु भएको योगदानको सञ्चालक समितिका वर्तमान पदाधिकारी एवम् कर्मचारीहरुले आज पनि मुक्त कण्ठले प्रशंसा गर्दछन् । २०५९ फागुन देखि २०६१ फागुनसम्म अस्पताल विकास समिति, भरतपुर अस्पतालको अध्यक्ष रहँदा अस्पलालको लागि पहिलो पटक गुरु योजना उहाँकै नेतृत्वमा बनेको थियो । चितवनलाई मेडिकल सिटी बनाउने अवधारणा उहाँले नै अगाडि सार्नु भएको थियो ।
प्रकाशित र प्रकाशोन्मुख कृतिहरु ः
अध्ययन तथा लेखनमा समेत गहिरो अभिरुची राख्नु हुने स्व. नरबहादुर खाँडका ‘हिजो आज र भोलिको चीन’, ‘क्रान्तिको नेतृत्व’, कार्यकर्तामा देखिने गलत चिन्तन र त्यसको निराकरण’, ‘मानव समाजमा दासप्रथा’ कृतिहरु तथा विभिन्न पत्रपत्रिकाहरुमा समसामयिक लेख रचनाहरु प्रकाशित भइसकेका छन् भने प्रकाशन हुन बाँकी कृतिहरुमा ‘आत्मवृत्तान्त’, ‘अनन्त आकास र व्यापक अग्नी’, ‘अधुरो सपना’, ‘स्व. सर्वादेवी खाँडको जीवनी’, ‘२०४६ सालको ऐतिहासिक जनआन्दोलन’ लगाएत रहेका छन् ।
उपसंहार ः
सादा जीवन उच्च विचारका धनी स्व. नरबहादुर खाँडको राजनीतिक इमान्दारिता उहाँको विशेषता हो । प्राकृतिक ढङ्गले जीउनु उहाँको चाखको विषय थियो भने अध्ययनशिलता उहाँको जीवनशैली थियो । यसरी एक जना वरिष्ठ समाजसेवी स्व. नरबहादुर खाँडले जीवनको उत्तरार्धमा आएपछि पार्टीको कुनै सक्रिय जिम्मेवारी नभएको अवस्थामा निरन्तर कृयाशिल जीवन बिताउन मन पराउनुभएको देखिन्छ । उहाँले २०६८ साल चैत २२ गते जेष्ठहरुको हकहित र मानवअधिकारका लागि काम गर्न र युवाहरुलाई सुसंस्कृत बनाउने अभियान सञ्चालन गर्न जेष्ठ नागरिक सेवा समाज, नेपालको स्थापना गरि त्यसको संस्थापक अध्यक्ष रहँदा रहँदै अधुरो सपना छाडेर क्यान्सर जस्तो असाध्य रोगबाट पीडित भई उपचारकै शिलशिलामा केमोको मात्रा धान्न नसक्दा २०७० साल भदौ २२ गते उपचारकै क्रममा भरतपुर अस्पतालमा उहाँको स्वर्गारोहण भयो । उहाँका अधुरा सपनाहरुलाई अगाडि बढाउने थप जिम्मेवारी उहाँका शुभचिन्तकहरुमा आएको छ । आज १३औँ दिनको पुण्य तिथीमा उहाँको आत्माको चिरशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।