सविता श्रेष्ठ
भरतपुर, २ असोज
पदमपुर ८ का ४४ वर्षीय बाबुराम के.सी कृषक हुन् । उनी आफ्नो मेहनत र समय च्याउ खेतीको लागि खर्च गर्छन् । च्याउ खेतीमा आफ्नो समय खर्चेका उनलाई च्याउले नै चिनाएको छ । १३ वर्षदेखिको निरन्तर खटाईले उनलाई सफल कृषकमा स्थापित गरेको छ । उनले आफ्नो परिचय एक व्यवसायिक कृषकको बनाएका छन् ।
चितवन निकुञ्ज विस्तारको क्रममा पुरानो पदमपुरबाट उनी पनि परिवारसँगै नयाँ पदमपुरमा स्थानान्तरण भए । बसोबास सरेका पदमपुरका मानिसलाई आयआर्जनमूलक सीप सिकाउन आयोजित तालिममा उनले पनि सहभागी हुन पाए । तालिम दिने संस्थाले सुरुमा सहयोग गरेको १० हजार रुपैयाँ बराबरको सामाग्रीबाट सुरु गरे । जुन खेतीमा उनको समय र मेहनतसँगै च्याउबाटै भएको आम्दानीको १६ लाख रुपैयाँ लगानी भएको छ ।
उनीसँगै तालिम लिएका अधिकांशले आफुले सिकेको सीपलाई निरन्तरता दिएनन् । तर, उनले भने आफ्नो मेहनत र परिश्रम च्याउमा नै लगाए । ‘च्याउबाट जती आम्दानी भयो त्यो सबै च्याउकै लागि लगानी गर्दै आएको छु’ वर्षमा नौ महिना उनी च्याउ खेतीमा व्यस्त बन्छन् । बैशाख, जेठ र असार महिना विश्राम लिन्छन् ।
आठ कक्षासम्म मात्रै पढेका उनले भारतमा गएर समेत ज्याला मजदुरी गरे । भारतीय भूमिमा एक वर्ष गरेको दुःखले उनलाई परिवारको खर्च चलाउन मुस्किल भयो । विदेशको दुःख लाई निरन्तरता दिन चाहेनन् । अनि गाउँठाउँमा नै फर्किए । त्यसपछि गाउँघरमा नै उनले साईकल मर्मत र नापिको काम गरे, अनि खेतीपातीमा सहभागि भए । खेतीबाट भएको आम्दानीले घर खर्च पनि धान्न मुस्किल भयो । आम्दानीभन्दा खर्च धेरै हुने उनले महशुस गरे ।
च्याउ खेतीको सीप सम्बन्धी तालिम लिन पाउँदा उनी उत्साहित बने । आफुले सिकेको सीपका लागि जोश र मेहनत साथ काम गरे । अहिले उनको परिचय च्याउ उत्पादन गर्ने कृषकमा मात्र सिमित बनेको छैन । आफु जस्तै कृषकलाई च्याउ खेती गर्ने तरीका सिकाउने प्रशिक्षक बनेका छन् । च्याउ खेती गर्ने तरिका त सिकाउँछन् नै च्याउको बीउ पनि आफै उत्पादन गर्छन् । च्याउको बीउ बनाउन आवश्यक अटोक्लिप, लिमिनारफ्ला, इक्यूभेटर, फ्रिज, ओभन लगायतका मेशिनरी सामान जोडेका छन् । जसको सहयोगमा उत्पादन गरेको बीउ पनि पूर्वंपश्चिम क्षेत्रका विभिन्न जिल्लाका कृषकहरुसम्म पुगेको छ ।
उनको च्याउ फार्मबाट दैनिक ५० देखि एक सय किलोसम्म च्याउ उत्पादन हुन्छ । च्याउको सिजन मानिने महिनामा गोब्रे र अन्य सबै महिनामा उनी कन्य च्याउ लगाउँछन् । विभिन्न महोत्सव तथा प्रदर्शनीमा उनले उत्पादन गरेको च्याउ पुरस्कृत भएको छ । उनको च्याउ फार्म जिल्लामा नै एक नमुना बनेको छ । उनको फार्म कृषकहरुको अवलोकनस्थल पनि बनेको छ । च्याउ खेतीको बारेमा जानकारी लिन चाहने कृषकहरुको टोली उनकोमा अवलोकन गर्न आउँछन् । उनको फार्म हेरेर उनको मेहनतको प्रशंसा गर्छन् । च्याउ खेती गर्ने मनसाय लिएर फर्कन्छन् ।
उनको फार्ममा चितवन भित्र र चितवन आसपासका जिल्लाहरुबाट त कृषकहरुको अवलोकनको लागि आएका छन् नै, मनाङ मुस्ताङ लगायतका हिमाली भेगका कृषकहरुले पनि उनको फार्म हेरेका छन् । टाढाका जिल्लाका कृषकका लागि पनि आफुले गरेको च्याउ खेती महत्वको विषय बन्दा उनलाई आफ्नो कृषक पेशाप्रति गर्व लाग्छ । आफ्नोमा आउने कृषकलाई आफुले च्याउ खेतीको बारेमा जानेसम्मको जानकारी बाँड्छन् । च्याउ खेतीमा लगाएको मेहनत र त्यसबाट प्राप्त गरेको उपलब्धीबाट सन्तुष्ट बनेका बाबुराम भन्छन् –‘सकेको सिकाउँछु, जानेका कुराहरु बाँड्छु ।’
च्याउ खेती गर्नु अघिसम्म उनी सबै खेतीबाली लगाउँथे । तर, कृषिबाट पनि आम्दानी गर्न र सफल हुन एउटा मात्र क्षेत्रमा मन लगाएर काम गर्नुपर्दो रहेछ भन्ने उनले सिकेका छन् । ‘आफुले गर्ने कामको बारेमा सीप र जानकारी चाहिन्छ’ मेहनत, धैर्यतासँगै सीप र जानकारी लिनुपर्ने बाबुरामले बताए ।
च्याउबाट भएको आम्दानीले उनले दुई तले पक्की घर, एक कठ्ठा जमिन जोडेका छन् । च्याउको लागि फार्म बनाएका छन् । उनको नियमित घर खर्च र दुई सन्तानको बोडिङ्ग स्कुलको पढाई शुल्क पनि च्याउले नै पुरा गरिदिएको छ । अहिले उनलाई च्याउले नाम र दाम दुवै दिलाएको छ । क्याब्बात बाबुराम