परासी, १२ चैत । प्रहरी कार्यालयमा समेत ब्लफकल आएर प्रहरीसमेत हैरानी पर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी यो समस्या झेल्न बाध्य छन् ।
ब्लफकल आएर हैरानीमा पर्ने अधिकांश व्यक्ति आफूले भोग्नु परेको समस्या र त्यसरी कल गरेर हैरानी पार्ने व्यक्तिको खोजी गरी पाऊँ भन्दै प्रहरीसमक्ष गुहार्न आउँछन् । तर प्रहरी नै ब्लफकलको हैरानीमा पर्न थालेपछि कारबाहीका लागि कहाँ जाने ? पछिल्लो पटक यस्तै ब्लफकलको हैरानी व्यहोर्नु परेको छ, यहाँका प्रहरीले ।
जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा ड्युटीमा रहने प्रहरीले ब्लफकलका कारण आफूहरु हैरानीमा पर्ने गरेको गुनासो गर्न थालेका छन् । त्यसमा पनि सबैभन्दा बढी एनसेल मोबाइलबाट आउने ब्लफकलबाट हैरानीमा परेको उनीहरुको गुनासो रहेको छ ।
जिल्लामा घट्ने विभिन्न घटनाको जानकारी दिन र सर्वसाधारणमा सहज सूचना पु¥याउन कन्ट्रोल रुममा राखिएका १०० नम्बर र ५२०१९९ नम्बरको टेलिफोनमध्ये सबैभन्दा बढी ५२०१९९ नम्बरमा ब्लफकल आएर हैरानीमा पर्ने गरेको उनीहरुको भनाइ छ ।