«

»

असारमै चुनाव गराउन आयोगको गृहकार्य

काठमाडौं, ११ चैत
पदाधिकारी नियुक्तिसँगै निर्वाचन आयोगले असार पहिलो साताभित्रै चुनाव गराउने गृहकार्य सुरु गरेको छ । पदाधिकारीले पदभार ग्रहण गर्नासाथ चुनाव तयारी अझ बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
असारभित्रै चुनाव गर्न दलहरूले आफूहरूलाई जिम्मेवारीमा फर्काएको पदाधिकारीहरूको भनाइ छ । ‘हामी आयोगबाट तीन महिनाभन्दा बढी बाहिर भयौँ, फेरि आज (आइतबार)बाट पदभार ग्रहण गरेका छौँ,’ आयुक्त अयोधीप्रसाद यादवले नयाँ पत्रिकासँग भने, ‘कामकारबाहीको स्टाटस बुझेर हामी चुनावी मितिबारे छलफल गछौर्ं । असारभित्रै चुनावका लागि हामी प्रतिबद्ध छौँ । यसैका लागि नै हामीलाई पुनः नियुक्ति दिइएको हो भन्दा फरक पर्दैन ।’
अहिलेसम्म भएका कामको समीक्षा सोमबारबाटै गर्ने र सहमति भएको मितिभित्रै चुनाव गर्न सम्पूर्ण टिम प्रतिबद्ध रहेको पनि यादवले बताए । ‘हामी भोलि (सोमबार) नै समीक्षा गर्छौं र असारमै चुनाव गर्ने जिम्मेवारीमा अघि बढ्छौँ ।’
अर्का आयुक्त दोलखबहादुर गुरुङले पनि चुनावी वातावरण तयार गर्न सरोकारवालासँग छलफल गरी अघि बढ्ने बताए । ‘हामीले आजै -आइतबार)बाट पदभार ग्रहण गरी काम सुरु गरेका छौँ,’ आयुक्त गुरुङले भने, ‘अब सम्पूर्ण सरोकारवालासँग आवश्यक छलफल गरी चुनावी कार्यक्रम अघि बढ्छ ।’
राष्ट्रपति डा. रामवरण यादवले आइतबार नै निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरेका हुन् । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र चार आयुक्तले आइतबारै पद तथा गोपनीयताको सपथ लिई कार्यभार सम्हालेका छन् ।
उप्रेती पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त हुन् भने गुरुङ र यादव पुनः आयुक्तकै रूपमा आयोगमा फर्किएका छन् । त्यस्तै नयाँ अनुहार रामभक्त पिबी ठाकुर र इला शर्मा आयुक्तमा नियुक्त भएका छन् । परराष्ट्रका पूर्वकर्मचारी ठाकुरले इजिप्टका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरिसकेका छन् । त्यस्तै शर्मा द राइजिङ नेपालकी पूर्वपत्रकार हुन् ।
नवनियुक्त प्रमुख आयुक्त उप्रेतीलाई राष्ट्रपति कार्यालयमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले र आयुक्तहरूलाई उप्रेतीले सपथ गराएका थिए । नयाँ नियुक्तिसँगै २७ पुसदेखि सचिवालयमा मात्र सीमित भएको निर्वाचन आयोगले पूर्णता पाएको छ ।
उप्रेतीले आयोगबाट ६ वर्षे कार्यकाल पूरा गरी २३ कात्तिकमा अनिवार्य अवकाश पाएका थिए । २८ चैत ०६४ मा संविधानसभा चुनाव सम्पन्न भएपछि तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेतीले कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका थिए । त्यस्तै, आयुक्तद्वय गुरुङ र यादवले पनि ६ वर्षे कार्यकाल पूरा गरी २७ पुसबाट अवकाश पाएका थिए । उप्रेतीको अवकाशपछि गुरुङले अवकाश नपाउँदासम्म केही समय कायममुकायम प्रमुख निर्वाचन आयुक्तको भूमिकामा काम गरेका थिए ।
राष्ट्रपति डा. यादवले संवैधानिक परिषद्को सिफारिसमा अन्तरिम संविधान २०६३ को धारा १२८ को उपधारा -२) बमोजिम आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । यसअघि परिषद्ले बिहीबार नै नियुक्तिका लागि नाम सिफारिस गरे पनि राष्ट्रपतिले पूर्वपदाधिकारीको नियुक्ति संविधानप्रतिकूल हुने/नहुने स्पष्ट पार्न परिषद्लाई लिखित पत्राचार गरेका थिए । परिषद्ले सिफारिस संविधानसम्मत हुने जवाफ शनिबार पठाएपछि राष्ट्रपतिले पदाधिकारी नियुक्ति गरेका हुन् ।

अहिलेसम्मका काम

हालसम्म आयोगले एक करोड १० लाखको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । छुटअन्तर्गतको मतदाता नामावली संकलन र मतदाता शिक्षा कार्यक्रम जारी छ ।
नागरिकता नभएकालाई नागरिकता दिने सरकारको नीतिसँगै सोही अवधिमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने आयोगको तयारी छ ।
चुनावको मिति घोषणासँगै दल दर्तासम्बन्धी सूचना छिट्टै जारी गरी मतपत्र छाप्ने तयारी पनि भएको छ ।
करिब ११ सय विद्युतीय मतदान मेसिनबाट परीक्षणकै रूपमा चुनाव गराउने तयारी ।