चितवनको मात्र नभएर राष्ट्रकै गौरवको रुपमा रहेको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आन्तरिक विवादका कारण धराशयी हुने अवस्थामा पुगेको छ । क्यान्सर रोगीहरुको उपचारका लागि मित्र राष्ट्र चीन सरकारले निर्माण गरिदिएको क्यान्सर अस्पताल अहिले सक्नेले जसरी लुटेपनि हुने निरीह थलो बनेको छ । क्यान्सर अस्पताल राजनीतिक लुछाचुँडीको सवैभन्दा नराम्रो एउटा उदाहरण बनेको छ, चिकित्सकहरुले बिरामीहरुको उपचार गर्ने होइन राजनीतिक शक्ति जुटाएर पद, पैसा बटुल्ने दह्रो भकारी बनेको छ, कर्मचारीले काम नगरी राजनीति गरेर जागिर पकाउने भाँडो बनेको छ । एउटा सम्भावनाको थलो क्यान्सर अस्पताल अति राजनीतिकरणले अस्तव्यस्त बनेको छ । धेरैले मुख खोलेरै भन्न थालेका छन्– क्यान्सर अस्पताललाई क्यान्सर लागिसकेको छ ।
राजनीतिक गुट उपगुटले थला परेको क्यान्सर अस्पतालमा पछिल्लो पटक फेरि प्रशासन र कर्मचारीबीचको विवादले उग्र रुप लिएको छ । प्रशासनले विभेद गरेको भन्दै कर्मचारीले आफ्ना माग राख्ने क्रममा भएको विवाद बढ्दै जाँदा अस्पतालको बिहीवारको वार्षिकोत्सव समेत खल्लो बन्न पुग्यो । भव्य ढंगले मनाउनुपर्ने वार्षिकोत्सव केवल औपचारिकतामा मात्र सिमित बन्यो । कर्मचारीका समस्याको उचित सम्बोधन नगर्दा र अपहेलित भएर काम गर्नुपर्दाको पीडा पीडित कर्मचारीहरुले बेलाबखत पोख्ने गरेका छन् । प्रशासनले कर्मचारीहरुमाथि राजनीतिक पूर्वाग्रह साँचेर व्यवहार गर्ने गरेको कतिपय कर्मचारीहरुको गुनासो क्यान्सर प्रशासनको गतिबिधि हेर्दा नाजायज पनि भन्न सकिन्न । प्रशासनले अस्पतालका कर्मचारीहरुलाई समान व्यवहार गर्नुपर्ने सवैले महशुश गरेकै कुरा हो ।
क्यान्सर अस्पतालको विवादमा प्रहरी प्रशासन पनि जानेर या नजानेर फसेको छ । वास्तविकता छानवीन नै नगरि एक पक्षले टेलिफोनमा भनेको कुरा पत्याएर घटनाबारे बुझ्ना गएका व्यक्तिहरुलाई समेत पक्राउ गर्ने प्रहरीलाई कहिले उजुरी दिने र कहिले छोडिदिनुस् भनेर निर्देशन दिने क्यान्सर प्रशासनले उल्लु बनाइदिएको छ । कुनैपनि घटनामा निष्पक्ष छानवीन गर्नु र उजुरी लिनु प्रहरीको कर्तव्य हो, तर ‘पीडित भएँ’ भनेर हातमा उजुरी लिएर जानेलाई प्रहरी आफै न्यायाधिस बनेर ‘तँ अपराधी नै होस्’ भन्ने व्यवहार गर्नु न्यायको सिद्धान्तले कत्तिको जायज मान्दछ ? यो गम्भीर बहसको विषय हो । कि त प्रहरी कुनै शक्तिबाट प्रभावित हुँदा यस्तो हुन्छ कि त बन्दुकको घमण्डले उसलाई यस्तो अविवेकी बनाइदिन्छ । प्रहरीको काम न्याय सम्पादन गर्ने होइन, न्याय सम्पादनका लागि प्रशासन र अदालतलाई सहयोग गर्ने हो । एउटा उदाहरणको रुपमा क्यान्सर अस्पतालको कर्मचारी–प्रशासन विवादमा ‘हिरो’ बन्न खोजेको प्रहरीलाई क्यान्सर अस्पतालले नै फेरि ‘जिरो’ बनाई दिएको छ । अथवा भनौं, प्रहरी प्रशासनको आड लिएर क्यान्सर अस्पताल प्रशासन खेल्न खोजेको प्रष्टै देखियो ।
क्यान्सर अस्पतालको स्थापनाले क्यान्सर रोग लागेमा विदेशमा गएर महङ्गोमा उपचार गर्नुपर्ने बाध्यताबाट नेपालीलाई मुक्ति दिएको छ । विभिन्न ठाउँबाट आउने सहयोगले पैसा नहुने कतिपय नेपालीले समेत निशुल्क उपचार पाएका छन् । सयौंले रोजगारी पाएका छन् । एउटा असल छिमेकी देशको सहयोगमा बनेको यस्तो पवित्र संस्थामा बसेर अपवित्र मनले दुष्कार्य गर्नेहरु सारा नेपालीका दुष्मन हुन् । त्यसैले क्यान्सर रोगको उपचार गर्ने क्यान्सर अस्पताललाई नै लागेको ‘क्यान्सर रोग’को उपचार गर्नु पहिलो आवश्यकता बनेको छ ।