काठमाडौं, आश्विन १२ – सूर्य पाठक, ३८ । जापानको नेपाली समूदायमा चिनिएका युवा पाठक डाक्टर उपाधिसहित स्वदेश फर्केका छन् ।
जापानका राम्रा अवसर र सुविधासहितको जीवनशैली त्यागेर फर्केका उनलाई अब राजनीतिकर्मीकोरुपमा नेपालमै भेटिनेछ । ‘राजनीतिकर्मीमात्र नभनौं,’ अनामनगरमा भेटिएका डा. पाठकले भनिहाले, ‘एकडेमिक फिल्डमा उत्तिकै रहन्छु ।’
नेपाली राजनीतिमा पढेलेखेकाहरु नगण्य छन् । अझ पछिल्लो पुस्ताको रोजाईमा राजनीति पर्दै पर्दैन भने पनि हुन्छ । छात्रवृत्ति पाएर जापानजस्तो आधुनिक र सुविधासम्पन्न मुलुकमा पुगेका पाठकलाई युवापुस्ताले भन्ने गरेको ‘फोहोरी खेल’ले किन तान्यो त ? ‘विशेषगरि अहिलेको पुस्ताले राजनीतिलाई फोहोरी खेल बनाएको हो कि भन्ने लाग्नु स्वभाविक हो,’ जनप्रशासनको आँखाबाट नेपाली राजनीतिको तुलनात्मक अध्ययनमा पीएचडी शोधपत्र गरेका उनले जवाफ दिए, ‘युवापुस्ताले राजनीतिमै लागेर सुधानेभन्दा पनि बाहिर बसेर फोहोरी खेल भनेर सतही तर्कमात्रै गर्यौं ।’
जापानमा १३ वर्ष अध्ययन गरेर फर्केका पाठक नेपाली राजनीतिमा नयाँ राजनीतिकर्मी भने हुनेछैनन् । एक दशक उनले विद्यार्थी राजनीतिमै बिताए । अनेरास्ववियुमा विभिन्न तहमा रहेर काम गर्दागर्द उनले राजनीतिका लागि शिक्षा झनै महत्त्वपूर्ण रहेको बुझे ।
…
पाठकको पारिवारिक पृष्ठभूमि विरोधाभाषपूर्ण थियो । बाबु झपेन्द्रप्रसाद प्रधानपञ्च थिए, काका कृष्णप्रसादचाँहि पञ्चायतविरोधी कित्तामा । उनले काकाकै पथ रोजे । बागलुङ अमलाचौरका पाठकलाई १३ वर्षको उमेरमा २०४५ सालमा तत्कालिन पञ्चायत सरकारले पक्रेर राजकाज मुद्दा लगायो ।
किशोर उमेर नटेक्दै जेलका छिडिँमा राखिएपछि भने उनले राजनीतिको ‘चार्म’ बुझ्दै गए । कलिलो दिमागलाई राजनीतिको भूत यति विधि चढ्यो कि छाड्नै सकेनन् ।
पृथ्वी मावि अमलाचौरमा विद्यार्थी संगठनको नेतृत्व गरे । बाग्लुङ जिल्ला कमिटीको नेतृत्वमा रहे । एसएसलसी दिएर काठमाडौं छिरेका उनले सरस्वती र त्रिचन्द्र क्याम्पसमा रहँदा अनेरास्ववियुको पदाधिकारीमा रहेर काम गरे । काठमाडौं जिल्ला सहसचिव भए । नेविसंघको गढ मानिएको त्रिचन्द्र क्याम्पसमा उदीयमान युवा नेता गगन थापासँग स्ववियु चुनावमा उठे । गगनले चुनाव जिते, उनी पराजित ।
….
त्रिचन्द्र क्याम्पसमा बीए पढ्दापढ्दै छात्रवृत्तिमा जापानमा पढ्ने अवसर मिल्यो । नेपाली विद्यार्थी राजनीति छाडेर हिंडेका पाठक जापानमा पनि राजनीति बाहिर रहन सकेनन् ।
नेपालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको शाही ‘कु’विरुद्ध जापानी संसद् घेर्न गए । नेपालमा शाहीसत्ताले लोकतन्त्र हातमा लिएको ध्यानाकर्षण जापानी संसद्लाई गराए । राजनीतिक समाचारलाई कमै प्राथमकिता दिने जापानी मिडियाले नेपालीले गरेको प्रदर्शनलाई राम्रै समेटेका थिए ।
जापानी संसद्लाई नेपालमा राजाले गरेको कुबारे जानकारी गराउन गएपछि नेपाली समूदायमा उनी चिनिए । जापानका विभिन्न संगठनमा रहेर काम गरे । एमाले प्रवास संगठनको दुई पटक नेतृत्व गरे ।
पढाइ त छँदै थियो । जापान गएपछि भाषा सिके, जापानमा अध्यययनका लागि जापानी भाषा अनिवार्य छ, खाञ्जीमा लेखपढ गर्न सिकिहाले । अण्डर ग्रयाजुएट, मास्टर्स म्यानेजमेन्टमा गरे । पीएचडी भने टोकियोस्थित इन्टरनेशनल क्रिस्चियन युनिभर्सिभीबाट जनप्रशासनमा गरे ।
पाठकसहितका नेपाली युवाहरुले जापानमा नेपाललाई चिनाउन भूमिका खेले । फलस्वरुपः जापानका पूर्वप्रधानमन्त्री यूकियो हातोयामा दुई साताअघि नेपाल आएर फर्केका छन् ।
….
डा. पाठक पीएचडी उपाधि पाएर स्वदेश र्फकने तयारी गरिरहँदा नेपालमा संविधानसभा चुनावको मिति घोषणा भएको थियो । उम्मेदवार छान्न जिल्ला जिल्लामा विभिन्न नामको छनोट गर्ने तयारी भइरहेको थियो ।
जिल्लाबाटै विद्यार्थी राजनीति हुँदै जापानमा पनि निरन्तर सम्पर्कमा रहेका पाठक स्वदेश र्फकने तयारी बुझेपछि एमाले बागलुङ २ नम्बर क्षेत्रीय कमिटीले पाठकको नाम पनि केन्द्रमा पठायो ।
पाठक काठमाडौंमा उत्रँदा उनीसहित जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा र विष्णु रानाको नाम पार्टी मुख्यालय बल्खुमा आइसकेको थियो । ‘जिल्लाका साथीहरुले नाम पठाउनुभयो त्यो नै ठूलो कुरा भयो,’ टिकट पाउनु/नपाउनु आफ्नो सरोकार नभएको बताउँदै उनी भन्छन्, ‘म राजनीति गर्न आएको हुँ, मैले जापानमा सिकेका कुरालाई मेरै गाउँमा प्रयोग गर्ने प्रयास गर्छु ।’
….
डा. पाठक राजनीतिमा पुनरागमन हुनेबेलामा नयाँ पुस्ता र पुराना पुस्ताबीचको टकराव छ । ‘हामी गलत बहसतिर मोडिएका छौं,’ पुस्तागत राजनीतिमा समय खर्चनुपर्ने बेला नभएको तर्क गर्दै उनी भन्छन्, ‘प्रचण्ड, सुशील कोइराला र झलनाथ खनालबिनाको युवा नेतृत्व अहिल्यै सम्भव छैन, उहाँहरुले कुनै न कुनैबेलाको क्रान्तिको नेतृत्व गर्नुभयो, फलस्वरुपः यो अवस्थामा हामी पुगेका हौं भन्ने कुरा बिर्सन मिल्दैन ।’
विदेशमा पनि सेतै केश फुलेकाहरु सक्रिय राजनीतिमा रहेको चर्चा गर्दै पाठक भन्छन्- ‘मुलतः उहाँहरुको विचार हो, विचारलाई सम्मान गर्न सिक्नुपर्छ, उहाँहरुले पनि नयाँ क्रमशः नयाँलाई स्पेश दिनुपर्छ ।’–कान्तिपुरबाट साभार
Source:
http://ekantipur.com/np/2070/6/12/full-story/376561.html