[वेल्जियम लगायत युरोपका नेपालीहरु पहिचान सहितको संघियताको पक्षमा उत्साहित हुँदै सचेत रुपलेनै संगठित भइरहेकाले यो माहौलवाट अत्तालिएर ती समर्थकहरुलाई भ्रम सृजना गर्न सकिन्छकी भन्ने प्रयासस्वरुप कार्यक्रम आयोजना गरिएको हो । पहिचान सहितको संघियताको अग्रगामी पक्षमा उभिन नसक्ने नेपाली कांग्रेस, एमाले र पछिल्लो चरणमा एकिकृत नेकपा माओवादी पक्षधर ठान्ने वेल्जियम स्थित भाइचारा संगठनहरु आत्तिन पुगेको देखिन्छ ।]
धेरै दिन भयो नलेखेको । राजनीतिक होस वा समसामायिक ट्वाक्क परेको स्वादिलो, अमिलो, टर्रो पिरो विषय वस्तु नपाउँदासम्म कलम चलाउन मन लाग्दैन । झर्रो पाराले भन्ने हो भने कलम चलाउँदा कुनै न कुनै विचार समुहलाई घोच पेच भइहाल्छ । त्यसैले अव यस्ता विषयमा धेरै कलमलाइ दुख नदिउँ भनेर नेपाल भ्रमणको यात्रा संस्मरण टिपोटकै रुपमा घर्रामा थन्किरहेको छ । तैपनि के लेखम के लेखम त लागीरहँदो रहेछ । फेरी आजकल वेल्जियममा त यस्तो घोचपेचको विषयमा लेख्दा कतैवाट स्पष्टिकरणको लिस्टो आउने हो की ? कार्याक्रमतिर अनायास घेरावन्दिमा परिने पो होकी भन्ने चिन्ता पनि छ ।
लोकतन्त्रको अभ्यास भएको मानिने युरोपियन मुलुकमा वसेर छद्म नाममा लेख्न पनि मनले मान्दैन । आफुलाइ लोकतन्त्रवादी, प्रजातन्त्रवादी भनेर नथाक्नेहरुलाई विधीसम्मत तरिकाहरु अपनाउन सद्वुद्धि आओस भन्ने कामना पनि गर्दछु । किनकि नेपाली लेखक, पत्रकार, साहित्यकार लगायत सवै कलमजिवीहरुले यो दुरह अवस्थाको सामना गरिरहेका छन् । चाहे नेपाल भित्र होस् वा नेपाल वाहिर ।
हिजो घरकोलागि केही सामान किन्न म एन्टर्वेपेनको कोनिक्सल्पेनस्थित हाम्रा नेपाली साथीहरुको पसलमा छिर्ने वित्तिकै पसलका साहुजी द्धय मित्र तुल्सिीजी र एनआरएन वेल्जियमका माहासचिव शिवकुमार वरुवालजीसँग भेट भयो । सानातिना किनमेल सकिएर निस्कने वेलामा वरुवालजीले दाइ भोली कांग्रेस एमालेका नेताहरुको उपस्थितीमा संघियता सम्वन्धि कार्यक्रम छ आउनुस् न भन्नु भो । ‘ संघियता सम्वन्धि प्रश्नहरु त्यहिँ मज्जाले राख्नुस् न’ भने । जवाफमा मैले ‘हुन्छ आउँछु’ भने । तर मलाइ त्यो कार्यक्रमको औपचारिक जानकारी कतैवाट थिएन । साथै यो कार्यक्रमको आयोजना एनडिएफले गरेको होला भनेर मन मनै गुनें । किनभने वरुवालजी एनडिएफको सक्रिय व्यक्तित्व हुनुहुन्छ । मेरा लाटो वुद्धि एनआरतिर जाँदै गएन ।
फेरी जाओस पनि कसरी ? यस्तो प्रकृतीको कार्यक्रम एनआरएनको स्थापनाकालदेखी कहिले कतै गरेको जानकारी थिएन । त्यसैले पनि दिमाग त्यतापट्टि जाँदै गएन । अर्को कुरा अन्तरकृयाका मुख्य अतिथीहरु एमाले नेता परशुराम मेघी गुरुङ र नेपाली कांग्रेसका नेता अर्जुन प्रशाद जोशी । तत् पार्टीका केन्द्रिय सदस्य वाहेक नत वहालवाला नेपालसरकारका मन्त्रि नत कर्मचारी । नत कुनै एन आर एन संग सम्वन्धित अभियान कर्तानै थिए ।
सप्ताहन्तमा प्राय एउटा न एउटा कार्यक्रम भइरहेको हुन्छ बेल्जियममा । त्यसैले आजको आइतवारलाई पनि मैले सामान्यनै मानें । र नेपाली जनप्रगतीशिल मोर्चाका अध्यक्ष प्रेमपाठकलाइ फोन गरें ‘कति वजे तिर होला कार्यक्रम शुरु हुने’ भनेर । उनि हलमा पुगिसकेका रहेछन । उनले जवाफमा भने ‘दाइ कार्यक्रम सांढे एक वजे हुने भनेका हुन तर शुरसार अझै छैन नेपाली कांग्रेसका साथीहरु अझै आइपुगेका छैनन त्यसैले दुइवजे तिर आइपुगे होला ।’ मैले कल्पना गरें ‘यो कार्यक्रममा औपचारिक निम्ता पनि छैन । विस्तारै अलि ढिलै जाम्ला । दर्शक दिर्घाको पछाडी तिर वसम्ला । अगाडी मन्चमा दुइजना नेताहरुलाइ विराजमान गराउलान । अनि नेताहरुले विषय वस्तुमा आख्यान दिइसकेपछि दर्शक दिर्घावाट प्रश्न सोध्न लगाउलान ।’
तर त्यहाँ पुगे पछि त अर्कै दृष्य देखियो । मेलै नेपालको टिभी कार्यक्रम तिर देख्या जस्तो पो छ त । होटल शंकर, होटल सोल्टिी अनि गोर्कण रिसोट जस्ता होटलहरुमा जस्तै गोलमेच पो रहेछ । दर्शक दिर्घा पट्टि पर्ने गरि नेता द्धय, एनआरएनका अध्यक्ष र आइसिसि सदस्यहरुको नाम लेखेको कागजको गत्ता छ । अनि गोलो पारिएको टेवलमा वेल्जियमका विभिन्न संघसंस्थाका नाम लेखिएको कागजको गत्ता । कतिपय नामहरु चाहीं सम्वन्धित संगठनका व्यक्तिहरुको उपस्थिती देखेपछि उत्तिनै खेरी लेखेर टेवलमा राखिएको देखियो ।
झन्डै तिन वजेतिर कार्यक्रम शुरु भयो । उनिहरुकै हिसावले वनाइएको सहभागी संगठनको नामावली पढेर सुनाउन थालेपछि पुछार वाट तेश्रोमा मेरो नामपनि वोलाएपछि म गोलमेचमा जान वाध्य भएँ । यस भन्दा पहिलेका एनआरएनका कार्यक्रमहरुमा देखिएको भद्रगोललाइ ध्यानमा राखेर मैले ‘वेल्जियममा भएका पचास भन्दा वढि संगठनहरुको श्रेणी छुट्ट्याउनुस । अनि पोर्टफोलियो मिलाएर आशन ग्रहण वा मन्तव्य दिने पद्धती वसाल्दा राम्रो हुन्छ’ भन्ने सल्लाह दिएको थिएँ । तर त्यो कहिल्यै लागु भएन । गोलमेचमा भागलिने संगठनहरु अन्तरकृयाको विषय सँग असम्वन्धित पनि थिए । अन्तकृयाको लागी राखिएको जुन विषय थियो त्यसमा वहस गर्न नेपालका विभिन्न राजनीतिक दल प्रती आस्थावान संगठन वा तिनका मोर्चाहरु र आदीवासी जनजाति महासंघ लगायत विभिन्न जातिय संगठनहरुमात्रको उपस्थिीतीनै काफी थियो । तर कार्यक्रम पूर्वसुचना विना गरिएकोले कतिपय सहभागी हुनुपर्ने संगठनहरु त्यहाँ देखिएनन् । वाहिर प्रचार संघियता सम्वन्धि अन्तरकृया भनियो । तर हलभित्र दोहोरो नागरिकताको विषयपनि थपियो ।
हिजो सम्म एनआरएन वेल्जियमले आफुलाइ गैरराजनीतिक संगठन भन्थ्यो । तर १८ मार्चको कार्यक्रम आयोजनाले प्रश्न खडा गरेको छ । यो कार्यक्रम विशुद्ध राजनीतिक वहशको कार्यक्रम थियो । किनकि कार्यक्रमका प्रमुख अतिथिहरुको हैसियत । त्यसमा पनि सम्विधानसभामा राज्यपुनर्संरचनाको विषयमा उठेको अहम सवाल संघियता । अन्तर्रकृयाको प्रकृति जस्ता विषयहरुले यो राजनीतिक वहसको कार्यक्रमनै रहेको पुष्टि गर्दछ । हिजो सम्म एनआरएनको प्राय हरेक विषयमा विवादहरु हुँदा राजनीतिकरण भयो भन्ने एनआरएनका नेतृत्व पंक्तिलेनै यो कार्यक्रम आयोजना गर्नुले राजनैतिक वृत्तका साथीहरुलाई खुशी लाग्नु स्वाभाविक हो । तर विगतमा जातीय पहिचानको आधारमा संघियता हुनुपर्छ भन्ने पार्टीका वरिष्ठ नेताहरुको उपस्थितीमा एन आर एन वेल्जियमले किन कार्यक्रम आयोजना गरेन ? धेरै पर जान परेन ।
यो कार्यक्रम हुनु भन्दा दुइदिन अघिसम्म संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राइ र आदीवासी जनजाति महासंघका महासचिव तथा सं.स.पार्टीका केन्द्रिय सदस्य आङकाजी शेर्पा जसले नेपालको राज्यपुनर्संरचनामा विशेषत पहिचान सहितको संघियताको अपरिहार्यतालाइ लिएर दुइहप्ता भन्दा वढी युरोपका विभिन्न देशमा रहेका नेपालीहरु विच पुगी वहश छलफलका कार्यक्रम गरे । आफ्नो पार्टीको संगठन विस्तारमा पनि सकृयताका साथ लागे । उनिहरुको युरोपमा यही अवधीमा यती लामो वसाइ हुँदा एनआरएन वेल्जियमले संघियता माथी वहश गर्ने चासो किन देखाएन ? अपर्झट वेल्जियम आइपुगेका एमाले र नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा किन यो राजनीतिक वहशको कार्यक्रम गर्न पुगे ? यसलाई गम्भिरताका साथ लिन जरुरी छ ।
वेल्जियम लगायत युरोपका नेपालीहरु पहिचान सहितको संघियताको पक्षमा उत्साहित हुँदै सचेत रुपलेनै संगठित भइरहेकाले यो माहौलवाट अत्तालिएर ती समर्थकहरुलाई भ्रम सृजना गर्न सकिन्छकी भन्ने प्रयासस्वरुप कार्यक्रम आयोजना गरिएको हो । पहिचान सहितको संघियताको अग्रगामी पक्षमा उभिन नसक्ने नेपाली कांग्रेस, एमाले र पछिल्लो चरणमा एकिकृत नेकपा माओवादी पक्षधर ठान्ने वेल्जियम स्थित भाइचारा संगठनहरु आत्तिन पुगेको देखिन्छ । अहिलेको एनआरएन वेल्जियमको कार्यसमितीमा तिनै राजनीतिक संगठनहरुको वर्चस्व छ । उनिहरु अन्तर्यमा ‘पहिचान सहितको संघियता विरोधी भएता पनि जनमानसमा हामी पनि पक्षधर हौं है भन्ने भ्रमपुर्ण सन्देश जाओस’ भन्ने उद्धेष्यले यो कार्यक्रम हतार हतारमा गरेको स्पष्ट छ ।
कार्यक्रम संचालकले कार्यक्रमको शुरुमा विषवस्तुमा आफ्नो धारणा राख्न एमालेका केन्द्रिय नेता परशुराम मेघी गुरुङलाइ लगाए । नेकपा एमालेको केन्द्रिय सदस्यको हैसियतमा मञ्चमा आसिन गुरुङले संघियता सम्वन्धी पार्टीको धारणा नराखि धेरै ठाउँमा मेरो व्यक्तिगत अनुभव भन्दै विषयवस्तुलाई राख्ने प्रयास गरे । संघियताको वहश गर्दा पहिचानलाई आधार वनाउँदा संघको इकाई साह्रै सानो हुने र पहिचान व्यक्ति विशेषमा गएर टुंगिने हुनाले यो सम्भव नभएको दावी गरे । ‘सप्त कोशिमा सातवटा नदि मिसिएकोले यी नदीहरुलाई छुट्ट्याएर बाँड्न नसकिए जस्तै पहिचान सहितको संघियता सम्भव छैन’ भन्ने दावी उनको थियो । विश्वका विभिन्न संघीय देशको उदाहरण दिन पछि नपरेका गुरुङले ‘नेपालमा पहिचान सहितको संघीयता राष्ट्रको आधारमा हो, जातीको आधारमा होइन’ भनेर एक ठाउँमा पनि उल्लेख गरेनन् । संविधान सभाको विषय राज्य पुनर्संरचना तथा शक्तिको बाँडफाँड विषय समितीले प्रस्ताव गरेको विषयहरुमा र त्यहाँ पारित गरिएका विषयहरुमा वहाँ मौन रहनु भयो । नेता मेघीले पहिचान सहितको संघियता चाहिन्छ पनि भने जस्तो त गर्ने तर राजनीतिक इकाइको हिसावमा पहिचानको संघियतालाइ नस्विकार्ने कुरा गर्नु भयो । उनले वरु आरक्षणको निती ल्याएर माथी आउन नसकेका वर्गलाइ माथी ल्याउनु पर्ने तर्क गरे । ‘नेपालमा कुनै पनि जाती वहुमतमा नभएको हुनाले जातीय पहिचानको आधारमा संघियता सम्भव छैन’ भन्ने तर्क पेश गरे ।
के नेपाली जनताले खोजेको वा चाहेको पहिचान सहितको संघियता मेघीले व्याख्या गरे जस्तै हो त ? मेघीजीले राज्यपुनर्संरचनाको आवश्यकता किन पर्यो र त्यसका आधारहरु के के हुन भन्ने विषयनै उठाउनु भएन । उहाँले नेपाली जनता कस्ता कस्ता शोषण र उत्पिडनमा छन् त्यता पट्टि जाने इच्छानै देखाउनु भएन । नेपाली जनता अढाइसय वर्षदेखी उच्च अहंकारयुक्त ब्राह्मणवादी सामन्तवादी राज्य व्यवस्थावाट जातिय, भाषिक, धार्मिक, लिंगिय र क्षेत्रियरुपले उत्पिडत छन् । वहुजाती, वहुभाषिक र वहुसास्कृतिक राष्ट्र नेपालमा एक भाषा, एक धर्म, एक संस्कृती लादेर आजसम्म आम नेपाली जनतालाई उत्पिडनमा राखेको छ । उच्च अहंकारी ब्राह्मणवादी सामन्तवादी राज्यव्यवस्थाले आफ्नै हिन्दु वर्णाश्रम धर्म भित्रका एउटा सिंगै मिहेनती वर्गलाइ पशुभन्दा पनि तल्लो दर्जामा राखेर उत्पिडन गरेको छ । त्यस्तै आधा आकाश ढाक्ने महिलालाइ पनि दास जस्तै श्रेणीमा राखेर उत्पिडनमा पारेको छ । त्यस्तै सामन्तवादी एकात्मक राज्यसत्ताले आफ्नै देश भित्रका दुरदराजको क्षेत्रवाट कर चाहीं असुल्ने अनि उनिहरुलाइ नेपाली भन्ने आभास पनि नदिने क्षेत्रिय उत्पिडनमा राखेको छ । हो यही उत्पिडनको अन्त्य गर्नको लागि उत्पिडनको आधारमा उत्पिडित समुदायको नेतृत्व ग्यारेन्टी गर्ने गरि संघिय राज्यको निर्माण गर्नुनै नेपालको लागि सहि विकल्प हो । यो मार्गवाट दायाँ बायाँ हुनु भनेको फेरी नेपालमा उही केन्द्रिकृत सामन्तवादी राज्यसत्तालाई नै निरन्तरता दिने हो भन्ने कुरा अव स्पष्ट छ । यसरी उत्पिडनलाई आधार मान्दा विलोपीकरणको अवस्थामा रहेका राउटेहरुलाई स्वायत्तताले मात्र पुग्दैन । उनीहरुलाई विशेषाधिकार दिनु पर्दछ । अव तमुवान स्वायत्त राज्यको माग गर्नेले राउटेहरुलाई विशेषाधिकार दिने कुरामा आवाज उठाउनेकी नउठाउने ? त्यस्तै दलित, महिला लगायतलाई विशेषाधिकारको आवाज उठाउने की नउठाउने ? हो प्रश्न यहींनेर हो । हामीले सवै उत्पिडित नेपालीहरुको आवाज उठाउनु पर्दछ नकि हिजो देखि नेपाली जनतालाई उत्पिडनमा राख्दै आएको राज्यसत्ताको र तिनका हितमा काम गर्ने अवशेषहरुको ।
अझै कुरा के हो भने भोली सवै स्वायत्त राज्यहरु विकसित भए र सवै नेपाली जनताको हैसियत वरावर भयो भने यो जातीय पहिचान टाइटलको रुपमा मात्र रहन्छ र सवैले आफ्नो पहिचानलाई समान दर्जामा पुरयाउन सके भने संघीयता आफैं विलोपीकरणको दिशामा जान्छ । यो वैज्ञानिक तथ्य हो । संघीयतालाई अस्वीकार गर्नेहो भने अहिलेनै नेपालमा आम परिवर्तन गरौं न त । सामन्तका जग्गा जमीन सुकुम्वासी तथा गरीव किसानलाई वितरण गरौं । कारखानाहरु मजदुरको वनाऔं । अतिरिक्त पुंजीलाई राष्ट्रियकरण गरौं । शिक्षा, स्वास्थ्य, रोजगारी मौलीक अधिकार वनाऔं र सामाजिक सुरक्षाको ग्यारेन्टी गरौं । यो अवस्थामा संघीयताको आवस्यकता पर्दैन । किनकी देशका जनताले समानताको महशुस गरिसकेका हुन्छन् । देश समाजवादतर्फ उन्मुख भइसकेको हुन्छ । आउनोस सवै मिलेर नेपाली जनतालाई यो अभियानमा सहयोग गरौं ।
होइन भने संसदीय निर्वाचन प्रणालीको खेल त नेपालले लामो समय देखि भोग्दै आएको छ । यसले देशलाई परिवर्तन गर्न सकेन । भविष्यमापनि सक्दैन । नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा भएपछि गठित संविधान सभालाई पनि संसदिय राजनितिक अखडाको रुपमानै प्रयोग गरे र अन्तत जनपक्षिय संविधान वन्ने ग्यारेन्टी भएपछि त्यसको विघटननै गरिदिए ।
नेपालमा संविधान सभाको नयाँ नाटक फेरी मञ्चन भएको छ । माथी उठाइएका सवालहरुमा नयाँ सहमति,पहिचान सहितको स्वायत्त राज्यहरुको ग्यारेन्टी, अन्य उत्पिडित समुदायहरुलाई विशेषाधिकारको ग्यारेन्टीको आम राष्ट्रिय सहमती नवनीकन अव कुनै निर्वाचन सम्भव छैन । नत्र भने अन्तर्रकृयामा अतिथीको रुपमा उपस्थित नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन कुमार जोशीले भने जस्तै ‘नेपालको सन्दर्भमा पहिचान सहितको संघियताको वारेमा मलाई त्यति अनुभव छैन । तर यतिकुरा पक्का छ पहिचान सहितको संघीयताले नेपालमा द्धन्द सृजना गर्छ ।’ यति भन्दा भन्दै पनि ‘नेपाली कांग्रेस संघीयताको पक्षमा दृढ छ’ भनेर नेपालको सामन्तवादी केन्दिृकित राज्यसत्ताकोनै चित्र प्रस्तुत गरे जस्तै हुनेछ । त्यसैले वेलैमा सचेत हुन जरुरी छ ।