«

»

गणतन्त्र र राजतन्त्र कहीं एकैसाथ अघि बढ्न सक्छ ? :अध्यक्ष सूर्यबहादुर थापा

केही महिनाअघि थलिएर इन्तु न चिन्तु भएका पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी (राजपा) का अध्यक्ष सूर्यबहादुर थापाको अहिले स्वास्थ्यमा सुधार आएपछि उनको राजनीतिक सक्रियता बढेको छ । उनी अहिले पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने अभियानमा सक्रिय छन् । गाउँ तहबाटै सुरू भएर यी दुई पार्टीको एकता अभियान जिल्ला तहमा आइपुगेको छ र चैतको तेस्रो साता हुने ‘एकता महाधिवेशन’ पछि यी दुई पार्टी एक हुने भएका छन् । शुक्रबार बिहान मालीगाउँस्थित उनकै निवासमा पार्टी एकता र समसामयिक राजनीतिबारे कान्तिपुरका राजाराम गौतमले कुराकानी गरेका थिए । सामान्य कुराकानीमा पनि चर्को र टाठो आवाजमा कुरा गर्ने बानी भएका थापाले त्यही शैलीमा दिएको अन्तरवार्ताको सम्पादित अंशः

राप्रपा र राजपा एकता महाधिवेशन गरेर एक हुँदै छ, यो मेल पछाडिका आधार केके हुन् ?

समान विचार, समान दृष्टिकोण बोकेका र समान परिवेशमा भएका कार्यकर्ताबीच मेल हुने कुरा स्वाभाविकै हो । धेरै कुरामा समानता हुँदाहुँदै पनि विभाजित भएर बस्नु ठीक होइन । बरु मिल्दा एउटा शक्तिका रूपमा ‘इमर्ज’ गर्ने भो । अलग-अलग बस्दा आआफ्नै सीमित आकारमा बस्नुभन्दा मिलाएर अघि बढ्दा दलबाट शक्तिका रूपमा परिणत हुन्छ । त्यसकारण मिलाउनुपर्छ भन्ने निष्कर्ष निकालिएको हो ।

भनेपछि यो हैसियत कमजोर छ भन्ने ‘रियलायजेसन’ हो ?

हामी कमजोर भएर मिल्नुपर्छ भन्नेभन्दा पनि यो देशको आवश्यकता हो । सामान्य जनता कस्तो पार्टी चाहिरहेका छन्, मुलुकको आवश्यकता के हो ? आदि कुरालाई मध्यनजर राखेर हामी मिल्नुपर्छ भन्ने सोचेका हौं ।

यो राष्ट्रको आवश्यकताबाट प्रेरित भएर कि आफ्नै आवश्यकताले ? के आसन्न चुनावलाई लक्षित गरेर मिल्न खोज्नुभएको होइन ?

निश्चय पनि चुनावलाई लक्षित गरेर पनि एकता गर्न लागिएको हो । तर यो एकता अभियान अहिले भर्खर सुरु भएको होइन । हामी विगत तीन वर्षदेखि एकता अभियानमा जुटेका छौं । हामीले माथि मात्रै मिलेर हुँदैन, तलैदेखि मिलेर आउनुपर्छ भनेर तलबाट मिल्दै आइरहेका छौं । गाउँदेखि मिलेर व्यवस्थित ढंगले मिलेर आएका छौं । अब तीन/चारवटा जिल्ला मिल्न बाँकी छ । केही दिनमै त्यो पनि सकिन्छ । माथि ‘आर्टिफिसियल’ एकता गरेर गाउँ जिल्लामा नगई, तलैदेखि मिलेकाले यो दिगो एकता हुनेछ ।

शक्ति निर्माण गर्ने नै उद्देश्य हो भने तपाईंहरूको एकतामा किन कमल थापाहरू अटाएनन् ? उनीहरूलाई पनि समेटेको भए अझ ठूलो शक्ति बन्थ्यो कि ? 

उनीहरूलाई पनि सँगै लान सकेको भए राम्रो हुन्थ्यो । तर पार्टी भनेको सिद्धान्त र आदर्शमा अडेको हुन्छ । त्यसको मुटु र धड्कन भनेकै सिद्धान्त हो । मिल्नलाई समान विचार हुनु आवश्यक छ । हामीले मुलुकमा आएको परिवर्तन गणतन्त्र, संघीयताजस्ता कुरालाई आत्मसात् गर्‍यौं ।

यो त जता हावा बग्यो, उतै चरी नाच्यो भनेजस्तो भएन र ? पञ्चायतको पृष्ठभूमि भएको र राजसंस्थाकै छहारीमा हुर्केर राजनीति गरेका तपाईंहरूले यसो भन्दा अवसरवादिता देखिँदैन ?

यो प्राकृतिक नियम हो । तपाईं हिजो बालक हुनुहुन्थ्यो । जन्मिदाखेरिको तपाईंको अस्तित्व बालकको हो । तपाईं अहिलेको अवस्था कसरी स्विकार्नुहुन्छ ? प्रकृतिले तपाइर्ंलाई हुर्काउँदै बढाउँदै ल्याएको छ । त्यसरी बढ्दा अंगहरू बढ्दै आएका छन्, अनुहारको भावभंगीमा परिवर्तन आउन थालेको छ । विचार पनि त्यसैबमोजिम समयअनुसार परिवर्तनशील हुन्छ । त्यसकारण कुनै पनि कुरा ‘स्ट्याटस को’ भएर बस्दैन । जस्तो, म हुर्केर जान्ने बुझ्ने भएदेखि नेपाल राणाशासनमा थियो । तर राणाशासन समाप्त भयो । जतिखेर थियो, त्यो जनताले स्विकारेको अवस्था थियो । प्रजातन्त्र आयो, परिवर्तन भयो, नेपाल नै परिवर्तित भयो । ढिलोचाँडो भयो होला तर परिवर्तनले सबैलाई छोयो । त्यसपछि पञ्चायत आयो । पञ्चायतमा अर्को परिवर्तन आयो । त्यसपछि फेरि परिवर्तन आयो । अहिले लोकतन्त्र, गणतन्त्रको युग सुरु भयो । यी सबै क्रमिक रूपमा हुँदै आएका परिवर्तन हुन् । यस्ता परिवर्तनलाई साक्षात्कार गर्नु भनेको प्राकृतिक कुरा हुन् । त्यसकारण यसलाई अवसरवादी आदि भन्ने प्रश्नै उठ्दैन ।

विगतको व्यवस्थामा शासन सञ्चालक भएर बसेको र त्यो व्यवस्था असफल भइसकेको व्यक्ति/समूहले नयाँ परिवर्तनको पनि वकालत गर्दै त्यही ठीक हो भनेर आफ्नो पोजिसन बनाउने नैतिक आधार हुन्छ र ?

त्यसलाई सीमित रूपमा हेर्न थाल्नुभयो, व्यक्तिगत रूपमा हेर्न थाल्नुभयो भने त्यसलाई असफल भने पनि भयो अथवा जे भने पनि हुन्छ । तर समाजमा आउने परिवर्तन, विश्वमा आउने परिवर्तनलाई व्यापक दायराबाट हेर्नुभयो भने त्यो होइन । कसैले मान्लान्, नमान्लान्, त्यो बेग्लै कुरा हो । म सधैं परिवर्तनको पक्षधर रहें । समयले ल्याएको परिवर्तनलाई सबैले आत्मसात् गर्नैपर्छ ।

कमल थापाहरूसँगका मतभेदचाहिं के त ?  

हामी गणतन्त्र र संघीयताका पक्षमा जानुपर्छ भन्ने उनीहरू संवैधानिक राजतन्त्र नछोड्ने । उनीहरू संघीयता पनि नमान्ने । मूलभूत कुरामै मत नमिलेपछि कसरी एकता हुन्छ ?

त्यसो भए के अब राजसंस्थाको उपादेयता नेपाली राजनीतिमा पूर्ण रूपमा सकिएको निष्कर्ष हो यो ?

गणतन्त्र र राजतन्त्र कहीं एकैसाथ अघि बढ्न सक्छ ? त्यो अध्याय अब इतिहासको विषय भइसक्यो । सकिइसकेको च्याप्टरलाई बोकेर किन हिंड्ने ? अहिले गणतन्त्र आइसकेको छ । यसैमा सम्मिलित भएर अघि बढ्नु समयको माग हो ।

एउटा कोणबाट मुलुकको राजनीतिक अस्थिरता बढ्दै जाँदा कुनै न कुनै स्वरूपमा राजसंस्था ब्युतिने हो कि भन्ने अनुमान पनि गरिन्छ, तपाईं त्यस्तो केही सम्भावना देख्नुहुन्न ?

हामी स्कुल कलेजमा थियौं । त्यो बेलामा राणातन्त्र अन्त्य भयो । २००७ सालमा आएको प्रजातन्त्र स्थापित नहुन्जेल राणातन्त्र फर्किन्छ भनेर धेरै चर्चा चल्थ्यो । त्यो फर्किने विश्वास लिएर बस्ने मान्छे उतिबेला पनि थिए । अघिल्लो व्यवस्थाको ‘ह्याङओभर’ लिएर बस्ने मान्छेहरूको यहाँ कमी छैन । यो सबै त्यही ‘ह्याङओभर’ को परिणति हो । कोही कस्ता हुन्छन् भने परिवर्तन भनेको मानसिक रूपमा ‘एडजस्ट’ नै गर्न सक्दैनन् । तिनीहरूले गरेको अनुमान हो यो ।

नेपालको घरेलु राजनीति हामी आफैंले मात्र निर्धारण गर्छौ भन्ने कुरा अब कसैले पनि पत्याउँदैनन् ।

भारतीय सत्तामा भारतीय जनता पार्टी आयो भने नेपालको राजसंस्थाको पुनोरुदय हुन्छ भनेर अनुमान गरिन्छ । तपाईं भारत बुझेको मान्छे के भन्नुहुन्छ ?

म कतै देख्दिनँ त्यो सम्भावना । बिजेपी नै भन्नुस्, त्योअघिको हिन्दु महासभाबाट बनेको बिजेपी नभएर उसले लोकतन्त्रलाई आत्मसात् गर्दै आएको छ । उसले केही परम्परागत ‘एलिमेन्ट’ राखेको छ । बिजेपीमा हुने मान्छेहरू अन्धविश्वासमा रहन्छन् भन्ने होइन । बिजेपी पनि परिवर्तन र आधुनिकताको बाटोमा बढिरहेको छ । उसलाई कांगे्रससँग प्रतिस्पर्धा गर्नु छ । त्यसकारण उसले पुरानै अवस्थामा फर्किनुपर्छ भन्ने सोच बोकेर बसेजस्तो लाग्दैन ।

नेपाली राजनीतिमा उनीहरूको चासो कस्तो छ त ?

नेपालमा हिन्दुस्तानको चासो भनेको बिजेपी मात्रै होइन, सबै दलको समान छ । उता उनीहरू फरक फरक छन् । बिजेपी, कम्युनिस्ट, कांग्रेस सबैका अलगअलग प्राथमिकता र सिद्धान्त बोकेर पार्टी चलाइरहेका छन् तर नेपाललाई हेर्ने दृष्टिकोणमा समान दृष्किोण हुन्छ । हाम्रोजस्तो परराष्ट्र मामिलामा उनीहरूको फरकफरक सोच हुन्न, समान हुन्छ । नेपालमा परिवर्तन हुने कुरामा उनीहरूबीच समान धारणा पाइन्छ । सबैभन्दा ठूलो कुरा, भारत प्रजातान्त्रिक मुलुक हो । उसले नेपालमा प्रजातन्त्र सुदृढ भएको हेर्न चाहन्छ । बिजेपी भन्नुस्, कम्युनिस्ट वा कांग्रेस सबै प्रजातन्त्रकै पक्षमा छन् । यसको खिलाप गएको उनीहरू रुचाउँदैनन् ।

तपाईंहरूको पार्टी एकतामा पनि भारतीय ‘फ्याक्टर’ ले पनि काम गरेको छ भनिन्छ नि ?

आजकाल नेपालमा के भइसक्यो भने जे कुरामा पनि बाह्य प्रभाव देख्ने ।  भोलिपर्सि लोग्नेस्वास्नीको झगडामा पनि यो भारतले गराइदिएको भन्न थाल्छन् यहाँ । यस्तो अवस्था आइसक्यो ।

तर नेपाली राजनीतिमा भारतीय प्रभाव छ भन्ने त वर्तमान राजनीतिक अवस्थाले प्रस्ट पारिसकेको छैन र ?

नेपाल अहिले राजनीतिक दृष्टिकोणले कमजोर छ । नेतृत्व असफल भइरहेको अवस्था छ । अहिले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार ल्याउनुपर्ने अवस्था आयो । दलबाहिरको सरकार बनाउनुपर्‍यो । यो किन भयो ? किनभने दलहरू त्यसमा पनि प्रमुख नेताहरूको असफलता हो । उनीहरूमा सहमति भएको भए, सफल भएको यो अवस्था आउने नै थिएन । गाउँघरमा पनि दुई जनाबीच आपसी झगडा भयो भने मिलाइदिने मध्यस्थकर्ता खोजिन्छ नि । घरझगडा हुँदा गाउँ बुजु्रकलाई मिलाइदिन आग्रह गरिन्छ र उसको बुद्धि विवेकले देखेअनुसार उसले यसो यसो गर भन्ने सल्लाह दिने गर्छ । त्यस्तै हो, आफैंले समस्याको समाधान गर्न नसकेपछि मध्यस्थता गर्ने पक्षको खाँचो परिहाल्छ । नेतृत्ववर्गले पूर्ण रूपमा राजनीति सञ्चालन गर्न नसक्दाको उपज हो यो ।

तपाईंको नाम पनि साना दलबाट प्रधानमन्त्री हुने चर्चामा थियो नि, किन सहमति हुन सकेन ?

मेरो नाम आएको जुन कुरा छ, त्यो किन आउँछ मलाई नै थाहा छैन । ममा त्यस्तो के गुण छ, त्यो मलाई थाहा छैन । मलाई आफू सामान्य मान्छे भन्ने लाग्छ । तर पञ्चायतकालदेखि नै जब म सरकारमा हुन्नथें, जब सरकार कमजोर बन्थ्यो, परिवर्तन हुन लाग्थ्यो, त्यहाँ गज्याङगुजुङ हुन लाग्थ्यो भने अब सूर्यबहादुर आउँछ भन्थे । यो मैले वषौर्ंदेखि सुन्दै आएको छु । यो किन भन्छन्, कसले भन्छ म खोजेर हिंड्दिनँ ।

बाह्य शक्तिले नै तपाईंको नाम पनि विकल्पका रूपमा अघि बढाएको रे नि ?

हिन्दुस्तानलाई तिमीहरूको देशमा यो-यो मान्छेलाई मन्त्री/प्रधानमन्त्री बनाऊ भनेर हिंड्नुको के फाइदा ?

तपाईं भारतको अत्यन्त विश्वासी मान्छे हो भनेर पनि टिप्पणी गर्छन्, के भन्नुहुन्छ ?

म ‘करेक्ट’ र औपचारिक सम्बन्धमा बस्छु । म रिस उठ्यो भने गाली गर्दै हिंड्ने, खुस उठ्दा तारिफ गर्दै हिंड्ने गर्दिनँ । मेरो छिमेकी राष्ट्र हो, त्यही पनि ठूलो र शक्तिशाली हो । हाम्रोजस्तो सानो मुलुकले भारत या चीनसँग निहुँ खोजा कुरा गर्नु हुन्न । हामीले हाम्रो हित, ‘सर्भाइबल’ र विकासका लागि राम्रो सम्बन्ध राख्न सक्नुपर्छ । निहुँ खोज्ने काम गर्नु हुन्न ।

अब केही प्रसंग बदलौं, नवगठित सरकारले चुनाव गर्न सक्ला ?

चुनाव नभई अर्को उपाय छैन । वैद्य माओवादीले राखेको सर्तबाहेक सबै चुनावका पक्षमा छन् । अबको राजनीतिक निकास पनि चुनाव नै हो । अरू सबै प्रयत्न र प्रयास भइसकेको हो । यसअघिका प्रयासबाट निकास निस्किएन । बल्ल चुनावी बाटो खुलेको छ । त्यसकारण यो चुनाव मात्रै होइन, यो राजनीतिक निकासका लागि पनि हो । यसलाई सबैले स्विकारेका छन् ।

तपाईं पहिलेदेखि नै प्रजातान्त्रिक मोर्चा बनाउने कुरा गर्नुहुन्थ्यो, हालसालै एमाओवादीले चुनावमा मधेसी मोर्चासँग गठबन्धन गरेर जाने बताइसकेको छ, अब नेपाली राजनीतिमा के कस्ता गठबन्धन बन्लान् ?

अबको दिनमा गठबन्धनहरूको भूमिका सशक्त हुँदै जानेछ । एमाओवादीले हिजो सरकारमा भएकै गठबन्धनलाई लिएर चुनावमा जाने कुरा त्यसैले गरेको हो । त्यसकारण प्रजातन्त्रमा विश्वास गर्ने पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ । मिल्नैपर्छ भन्ने आवश्यक छैन तर गठबन्धन गरेर अघि बढ्न सकिन्छ । चुनावमा गठबन्धन गरेर जाँदाका केही फाइदा छन् । जस्तो, सानो मुलुक छ, धेरै थरी राजनीतिक पार्टी भनेर जाँदा जनता विभाजित हुने भए । त्यो गर्दा प्रजातन्त्रलाई होइन, अतिवादलाई फाइदा पुग्छ । सर्वसाधारण जनता अल्मलिन्छन् । जनता प्रजातन्त्रवादीलाई भोट दिऊँ भन्ने चाहन्छन् तर कुनचाहिं प्रजातन्त्रवादी भनेर अल्मलिन्छ । त्यसकारण गठबन्धन गरेर जाँदा जनता अल्मलमा पर्दैन । यसरी जाँदा एउटा शक्तिका रूपमा अघि बढ्छ ।

अलग-अलग बस्दा आआफ्नै सीमित आकारमा बस्नुभन्दा मिलाएर अघि बढ्दा दलबाट शक्तिका रुपमा परिणत हुन्छ । त्यसकारण मिलाउनुपर्छ भन्ने निष्कर्ष निकालिएको हो ।

ग्fणतन्त्र र राजतन्त्र कहीं एकैसाथ अघि बढ्न सक्छ ? त्यो अध्याय अब इतिहासको विषय भइसक्यो ।

आजकाल नेपालमा के भइसक्यो भने, जे कुरामा पनि बाह्य प्रभाव देख्ने ।  भोलिपर्सि लोग्नेस्वास्नीको झगडामा पनि यो भारतले गराइदिएको भन्न थाल्छन् यहाँ ।

पञ्चायतकालदेखि नै जब म सरकारमा हुन्नथें, जब सरकार कमजोर बन्थ्यो, परिवर्तन हुन लाग्थ्यो, त्यहाँ गज्याङगुजुङ हुन लाग्थ्यो भने अब सूर्यबहादुर आउँछ भन्थे ।

हाम्रोजस्तो सानो मुलुकले भारत या चीनसँग निहुँ खोजा कुरा गर्नु हुन्न । हामीले हाम्रो हित,’सभाइबल’ र विकासका लागि राम्रो सम्बन्ध राख्न सक्नुपर्छ । निहुँ खोज्ने काम गर्नु हुन्न ।

@कान्तिपुर दैनिकमा प्रकासित यो अन्तरवार्तालाइ हामीले साभार गरेका हैा । सं।