«

»

मन्दिर दर्शन गर्न गएकी महिला बलात्कृत

तनहुँ । चैत १४ गते//गोर्खाको धुवाकोट गाविस-१ स्थित अकला मन्दिरको दर्शन गर्न गएकी एक ३५ वर्षीया महिला ०६९ चैत १३ गते बलात्कृत भएकी छिन् ।
तनहुँको आबुँखैरेनी गाविसको सत्रसयभन्दा पारीपट्टकिो उक्त मन्दिर दर्शन गर्न भनी ०६९ चैत १३ गते घरबाट हिडेकी उनी चैत १४ गते बिहान मन्दिर जाने बाटोको जंगलमा निर्वस्त्र अवस्थामा भेटिएकी थिइन् । जंगलमा घाँस काट्न गएका स्थानीय महिलाहरूले उनलाई निर्वस्त्र रुपमा बेहोस अवस्थामा भेटेपछि इलाका प्रहरी कार्यालय आबुँखैरेनीलाई जानकारी गराएका थिए ।
स्थानीय महिलाहरूले प्रहरी र आफन्तलाई जानकारी गराएपश्चात् कपडा लगाई ती पीडित महिलाको उद्धार गरी राजमार्गमा ल्याई प्रहरीको सहयोगमा आफन्तको जिम्मा लगाएका थिए ।
महिलाका दाजुका अनुसार बहिनीको शरीर र टाउकोमा प्रशस्त घाउचोट समेत लागेको छ । पीडितलाई उद्धार गरी दमौलीको रत्नहरि अस्पतालमा उपचार गर्न ल्याइएकोमा उक्त अस्पतालमा सामान्य उपचारपछि चैत १४ गते नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
पीडितका दाजुका अनुसार ती महिलाको करङको चार ओटा हड्डी भाँचिएको र टाउकोमा चारवटा टाँचा लगाउनुपरेको थियो । उनले शरीरमा लगाएको गहना पनि लुटिएको अधिकारीले बताए । पोखरा पुर्‍याउँदासम्म पनि पीडित अर्धचेत अवस्थामा थिइन् । बलात्कार पश्चात उनलाई मरेको ठानी जंगलमा फालेर अपराधीहरू भागेको हुन सक्ने आशंका गरिएको छ ।
प्राप्त जानकारी अनुसार उनी घाँसिकुवा गाविसमा आमालाई भेटेर मन्दिर जान्छु भन्दै घरबाट हिडेकी थिइन् । उनको साथमा दुई जना पुरुष र एक महिला पनि सँगै गएको तर ती व्यक्तिहरूको पहिचान हुन नसकेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी देवबहादुर बोहोराले पीडित महिला अझैसम्म पनि बोल्न नसकेको हुँदा घटनाको बारेमा यथार्थ जानकारी पाउन नसकेको बताए । उनले घटनास्थल गोर्खा जिल्ला भएको हुँदा गोर्खाको प्रहरीले थप अनुसन्धान गर्ने र सो कार्यमा इलाका प्रहरी कार्यालय आबुँखैरेनीले सहयोग गर्ने बताए ।
इलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रमुख इन्स्पेक्टर लेमप्रताप सेनले स्थानीय महिलाहरूले ती महिलालाई अचेत अवस्थामा भेटेपछि खबर गरेपछि आफूहरू घटनास्थलमा गएको बताए ।
प्रहरी घटनास्थलमा पुग्दा पीडितलाई स्थानीय महिलाहरूले कपडा लगाई उद्धार गरी पृथ्वी राजमार्गतर्फल्याउँदै गरेको र पछि पीडितका आफन्तहरू आइपुगेपछि उनीहरूको जिम्मा लगाई पीडितलाई अस्पताल पठाइएको उनले बताए ।पीडित महिलाका एक जना छोरा रहेका छन् भने श्रीमान् दोस्रो विवाह गरी अलग्गै बस्दै आएका छन् ।