«

»

३९९ सदस्यीय समिति पनि माओवादीमा अपुग

नेत्र पन्थी/काठमाडौं, १४ चैत//
सबै समुदायलाई समेट्न केन्द्रीय समिति तीन सय ९९ सय सदस्यीय बनाउने निर्णय भए पनि एकीकृत माओवादीभित्र असन्तुष्टि घटेको छैन । केन्द्रीय समितिमा नपरेकाहरू पर्न र परेकाहरू माथिल्लो समितिमा जान प्रयासरत छन् । 
एकीकृत माओवादीले एक सय ५१ सदस्य पूर्ण र दुई सय ४८ वैकल्पिक सदस्यसहितको केन्द्रीय समिति बनाउने निर्णय गरिसकेको छ । तर, वैकल्पिकमा पनि नपरेकाहरू त्यसमा पर्न, वैकल्पिकमा परेकाहरू पूर्णमा जान र पूर्णमा रहेकाले पालिटब्युरोमा पुग्न नेतृत्वसँग माग गरेको एक नेताले जानकारी दिए ।
अन्य क्षेत्रका नेता/कार्यकर्ताले पार्टीको आन्तरिक पंक्तिमार्फत असन्तुष्टि पोखे पनि तराई-मधेसका नेताहरूको असन्तुष्टि सार्वजनिक रूपमै आएको छ । उनीहरूले मधेसी समुदायबाट ७५ जना केन्द्रीय सदस्य राख्नैपर्ने माग गरेका छन् ।
प्रस्तावित केन्द्रीय समितिमा तीन सय ६४ जनाको नाम नेतृत्वले तयार गरिसकेको छ । थपिने ३५ जनाका लागि धेरै आकांक्षी देखिएका छन् । माओवादी प्रवक्ता अग्नि सापकोटाले आएका सुझाब, असन्तुष्टि र बार्गेनिङहरूलाई पार्टीले ध्यान दिएको र सन्तुलन मिलाउन गृहकार्य भइरहेको जानकारी दिए । ‘हामीले विशेषाधिकारमाथि ध्यान दिँदैै महिला र दलितलाई समावेश गर्न खोजेका छौँ, मधेसी र मुस्लिमको पनि उचित प्रतिनिधित्व हुन्छ,’ प्रवक्ता सापकोटाले नयाँ पत्रिकासँग भने, ‘कतै-कतै मौका यही हो पद माग्नुपर्छ भन्ने पनि देखिएको छ, कसैले बिगार्न पनि खोजेका छन्, पार्टीले सबै विषयमा चासोपूर्वक हेरेको छ र त्यसैअनुसार हल गर्छ ।’
३३ प्रतिशत महिला सहभागिता गराउन भन्दै महिला नेतृहरूले हेटौँडा महाधिवेशनमै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले अहिले पनि यो विषयमा चासो राखिरहेका छन् । त्यसैले प्रस्तावित तीन सय ६४ जनाको नाममा ७७ जना महिला राखिएकोे प्रवक्ता सापकोटाले बताए । ‘यो महत्त्वपूर्ण कुरा भएको छ,’ उनले भने ।
उता मधेसी नेताहरूले तीन सय ९९ सदस्यीय केन्द्रीय समितिमा एक पदाधिकारीसहित ७५ जनालाई समेट्न माग गरेका छन् । माओवादी केन्द्रीय सदस्य रामरिझन यादवको थापागाउँस्थित निवासमा बसेको बैठकले ४९ केन्द्रीय सदस्य थप्न नेतृत्वसँग माग गर्ने निर्णय गरेको छ । महाधिवेशनबाट केन्द्रीय समितिमा ६ मधेसी नेता आएका छन् भने आयोजक समितिमा रहेका अरू दुई दर्जन केन्द्रीय समितिमा आउँदै छन् । महाधिवेशन आयोजक समितिमा रहेका धेरैजसोलाई पूर्ण केन्द्रीय समिति बनाउनसमेत बैठकले माग गरेको छ ।
केन्द्रीय सदस्य विश्वनाथ साहले आफूहरूले मधेसबाट नेतृत्व विकासमा ध्यान दिन राखेको माग सम्बोधन हुने आश्वासन पाएको बताए । ‘अहिले ९८ जनामा मधेसबाट ६ जना मात्र केन्द्रीय सदस्य छौँ, कमसेकम मधेसबाट जनसंख्याको आधारमा केन्द्रीय सदस्य बनाउनुपर्‍यो, नेतृत्वको विकास गराउनुपर्‍यो भन्ने कुरा राखेका छौँ,’ साहले नयाँ पत्रिकासँग भने, ‘पार्टी हेडक्वाटरले माग सम्बोधन गर्ने बताएको छ हामी विश्वस्त छौँ ।’
माओवादीका थारू नेताहरूले आफ्नो समुदायबाट पनि केन्द्रीय समितिमा सदस्य थप्न माग गरेका छन् । उनीहरूले माग पूरा नभए १७ चैतमा बोलाइएको केन्द्रीय समिति बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।
महाधिवेशन आयोजक समिति सदस्य रहेका तथा प्रस्तावित केन्द्रीय समिति सदस्य चिनक कुर्मीले पार्टीलाई समावेशी बनाउन र यसैका आधारमा थारू समुदायबाट पनि नेतृत्वमा लैजान आफूहरूले पार्टीलाई सुझाब दिएको बताए । ‘समावेशी चरित्रको केन्द्रीय समिति निर्माण गर्दा राम्रो हुन्छ, त्यसले आगामी चुनावमा सहयोग पुर्‍याउँछ भन्ने माग राखेका छौँ,’ कुर्मीले नयाँ पत्रिकासँग भने, ‘त्यसो गर्दा थारू समुदायको पनि स्वतः प्रतिनिधित्वको कुरा आउँछ ।’
उनीहरूले राज्य पुनर्संरचना हुँदा कम्तीमा पनि तीन प्रदेश हुनुपर्ने, पोलिटब्युरोमा एकजना, पूर्ण केन्द्रीय समितिमा पाँचजना, वैकल्पिकमा १५ जना सदस्य हुनुपर्ने माग राखेका छन् । त्यसबाहेक उनीहरूले थारू बाहुल्य रहेको तराईका जिल्लामा पार्टी नेतृत्व थारू नेतालाई नै दिनुपर्ने, तराईका बारेमा गरिने महत्त्वपूर्ण निर्णयमा थारू नेताहरूलाई पनि सहभागिता गराइनुपर्ने, मधेस प्रदेश शब्द हटाउन पार्टीको दस्तावेजबाट पनि माग अगाडि सारेका छन् ।

‘माओवादीमा विद्रोह गर्न थालेको समाचार गलत’

माओवादीका पाँच केन्द्रीय सदस्यसहितका मधेसका नेताहरूले विज्ञप्ति जारी गर्दै आफूहरूले पार्टीमा विद्रोह गर्न थालेको भन्ने समाचार गलत भएको बताएका छन् । पार्टीका केन्द्रीय सदस्यहरू रहेका विश्वनाथ साह, रामकुमार यादव, श्रवण यादव, रामकुमार शर्मा, रामरिजन यादव र दिलीप साहले बुधबार पत्रकार सम्मेलन गरी आफूहरूको राजनीतिक भविश्य माओवादीमै रहेको स्पष्ट पारेका छन् ।
तर, मधेसमा चुनाव जित्ने र पार्टीमा मधेसी नेता स्थापित गर्न मधेसी नेताहरूको आवाज सुन्नुपर्ने उनीहरूको भनाइ छ । थपिनुपर्ने ४९ सदस्यको नामको सूचीसमेत मधेसी नेताहरूले तयार पारेका छन् ।
उनीहरूले मोरङबाट भोगेन्द्र यादव, बालेश्वर कामत र अविनाश मण्डल, सिरहाबाट रामकुमार यादव, जिबछ यादव, रामकुमार पासवान र उपेन्द्र यादवलाई केन्द्रीय सदस्यमा ल्याउन माग गरेका छन् । त्यसैगरी सप्तरीबाट शंकर देवकोटा, अक्षरी यादव, अनील साह, भागवत यादव, कलाम खाँ, मानपुर चौधरी र दानालाल चौधरीको नाम छ भने धनुषाबाट झल्कु यादव, चन्देश्वर पूर्वे, देवसागर दास, रामवृक्ष ठाकुर, प्रमिला यादव, प्रतीक्षा तिवारी, दुर्गादेवी पासवान र फर्मुद नद्दाफको नाम छ ।
यसबाहेक महोत्तरीबाट राजेन्द्र साह, विदुर कार्की, राजन ढुंगाना, विष्णु लामा, माधव कोइराला र शिवनाथ महतो -भोला), सर्लाहीबाट राजकुमार यादव, विजय खत्री, कमल बुढाथोकी, सावित्रा बुढाथोकी, माया बल र नन्दलाल यादवको नाम केन्द्रीय सदस्यका लागि अगाडि सारिएको छ । रौतहटबाट रामानन्द महतो, सत्यनारायण भगत र शान्ति पौडेल, बाराबाट श्रीप्रसाद पासवान र शम्भु मण्डल, पर्साबाट निशा साह, हरि मण्डल, बाबुराम कौशिक, इस्लाम हवाडी छन् । बाँकेबाट परमानन्द बर्मा र रक्षाराम बर्मा, दाङबाट अर्जुन सिंह,
अर्घाखाँचीबाट जाकिर हुसैन तथा रूपन्देहीबाट विनोद उपाध्याय र मकसुद अलीको नाम सूचीमा छ ।
उता प्रभु साहलगायतका मधेसी नेताहरूले एमाले छाडेर बसेका रामचन्द्र झालाई पार्टी प्रवेश गराउँदा केन्द्रीय सदस्यभन्दा माथिको पद नदिन नेतृत्वसँग माग गरेका छन् । मधेसमा सिनियर नेता आए आफूहरूको राजनीति प्रभावित हुने ती नेताहरूको बुझाइ रहेको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । झालाई मधेस ब्युरो इन्चार्ज बनाउने तयारी भएको भन्दै साहलगायतका नेताहरूले विरोध गरेका थिए ।

@नयाँ पत्रिका