«

»

जीवनमूल्य : पैसैपैसा हुने गरिबहरू

— आचार्य लक्ष्मण भण्डारी

‘गरिबी नै पाप होइन, केवल असुविधा मात्र हो ।’— जोम फ्लोरियो

‘गरिबी दैवी अभिशाप होइन, यो त मानवीय दृष्टि हो ।’— महात्मा गान्धी
‘जो गरिबमाथि दया गर्दछ, ऊ आफ्नो कामका माध्यमले ईश्वरलाई ऋणी बनाउँदछ ।’— बाइबल
‘गरिब मानिसहरू भाग्यमानी हुन्छन् ।’—कन्फ्युसियस
‘गरिब ऊ होइन, जसको साथमा सम्पत्ति कम छ, तर धनवान् भएर पनि जसको इच्छा कम भएको छैन, ऊ सबैभन्दा गरिब हो ।’— बिनोबा भावे
‘त्यो मानिसभन्दा गरिब कोही छैन, जसको साथमा केवल पैसा मात्र छ ।’— एड्बिन पुग

धन सम्पत्ति नहुने कुरा कुनै अनौठो र आश्चर्यको कुरा होइन । सबैसँग सबै किसिमका भौतिक सामग्रीहरू हुन्छन् भन्ने हुँदैन । धेरै धनसम्पत्ति र भौतिक सुविधाका सरसामग्रीहरू हुन सक्लान्, तर सबै धनसम्पत्ति र सामग्री कहिल्यै पनि कसैसँग हुँदैनन् । यस हिसाबले व्यक्तिले जीवनभर कुनै न कुनै भौतिक सम्पत्ति र सामग्रीको अभाव महसुस गरिरहेको हुन्छ, कतैकतै न कतै असुविधाको अनुभूति गरिरहेको हुन्छ ।

सामान्यतया धनसम्पत्ति र भौतिक सुखसुविधाका धनसम्पत्ति जोसँग प्रशस्त छ, उसैलाई हामीले सम्पन्न र धनी भन्ने गरेका छौँ भने भौतिक वैभवको अभावमा रहेका मानिसलाई गरिब भनेर भन्ने गरेका छौँ तर गरिबी र विपन्नताको मापनको यो वैज्ञानिक एवम् सत्यमा आधारित विधि होइन । रूपैयाँपैसा र प्रशस्त जग्गाजमिन नहुनुले मात्रै व्यक्ति गरिब हुन्छ भन्ने कुरा आंशिक सत्य मात्र हो ।

गरिबीको परिणाम दुःख हो, अप्ठ्यारो र असहजता हो । अशान्ति, तनाव र असन्तुष्टि पनि गरिबीका परिचायक हुन् । भौतिक सम्पत्ति भएर पनि व्यक्ति असन्तुष्ट रहन सक्दछ भने नभएर पनि सन्तुष्ट भएको हुन सक्दछ । यसरी हेर्दा सन्तुष्टिको मूल भौतिक सुखसुविधाका सामग्री मात्र रहेछन् भन्ने कुरा पनि सम्पूर्ण सत्य रहेनछ । परम्परागतरूपमा जुन अवस्थालाई हामीले गरिबी भनेर बुझ्ने गरेका छौँ, त्यसलाई विद्वान्हरूले केवल असुविधा मानेका छन् । त्यस्तो किसिमको असुविधा त जीवनभर प्रत्येक मानिसलाई परि नै रहको हुन्छ ।

पहाडमा मोटर नजाने ठाउँमा पैदल यात्रा गर्नुपर्ने अवस्था हुन्छ । त्यहाँ, राजादेखि रङ्कसम्म सबैले मोटरगाडीको असुविधा भोग्दै पैदल यात्रा गर्नुपर्ने अनिवार्यता स्वीकार्नुपर्ने हुन्छ । मरुभूमिको जीवन बाँच्नेक्रममा प्रचण्ड गर्मीको असुविधा भोग्नुपर्ने हुन्छ । हिउँमा चिसोको असुविधा भोग्नुपर्ने हुन्छ । ठिक छ, रूपैयाँपैसा छ भने सुविधाका सामग्रीहरू खरिद गरेर जीवन सहज बनाऊँ भन्ने हामीले ठान्न पनि सकौँला, तर पैसा मात्र भएपछि सुविधाका जस्तासुकै सामग्री पनि पाइन्छन् भन्ने हुँदैन ।

कहिलेकाहीँ विभिन्न थरी भोजनका परिकारहरू भएर पनि हामीलाई खान मन लाग्दैन । त्यस्ता विभिन्न मिष्ठान्न भएर पनि हामीसँग भोकको अभाव भएको हुन सक्छ, भोजनप्रतिको रुचिको अभाव भएको हुन सक्छ । आँखाले देखिने ठोस भौतिक सुविधाका सामग्री त हामीले पैसाले किनेर ल्याउँला तर स्वाद, भोक र रुचिलाई कसरी ल्याउने ? आँखाले नदेखिने नितान्त मनभित्रका असुविधाहरूलाई कुनै पनि धनसम्पत्तिले पूर्ति गर्न सक्दैनन् । यसरी, बाह्य वा आन्तरिक कुनै न कुनै किसिमको असुविधाबाट हामी घेरिइनै रहेका हुन्छौँ भन्ने कुरा स्पष्ट हुन्छ ।

गरिबी पनि सापेक्षित हुन्छ । हामी नेपालीहरू गाउँका, टोलका वा सहरका सबैभन्दा धनी व्यक्ति हुन सक्दछौँ, तर अन्य गाउँ र सहरका मानिसहरूको तुलनामा गरिब हुन पनि सक्दछौँ । हाम्रो नेपाली रूपैयाँ हाम्रो सापेक्षमा त मूल्यवान् होला, तर अमेरिकी डलरको तुलनामा निकै मूल्यहीन छ । अमेरिकाको अति विपन्न र सामान्य मानिस थोरै डलर लिएर हामीकहाँ आउँदा पनि ऊ सम्पन्न देखिन्छ । हामी जति धेरै पैसा लिएर अमेरिका गए पनि त्यसको खासै मूल्य हुँदैन ।

हाम्रो हातमा भएका औँलाहरू कुनैै साना छन्, कुनै ठुला छन् । कान्छी औँला बुढी औँलाको तुलनामा लामो छ तर अन्य औँलाको तुलनामा छोटो हुन्छ । यसको अर्थ कान्छी औँला सानो रहेछ भन्ने पनि होइन र ठुलो रहेछ भन्ने मात्र पनि होइन । कान्छी औँला बुढी औँलाको तुलनामा ठुलो र अन्य औँलाको तुलनामा सानो रहेछ । धनसम्पत्तिहरू हाम्रालागि केवल सुविधाका सामग्री मात्र हुन् । ती सामग्री कसैसँग अलि प्रशस्त होलान्, कसैसँग अलि कम होलान्, यत्ति मात्रै हो । हामी हाम्रो वरपर रहेका मानिससँग भएका धनसम्पत्तिका सापेक्षमा धनी पनि छौँ र गरिब पनि छौँ ।

सुविधामा घटबढ त भइरहन्छ नै । आज भएको वस्तु भोलि नहुन पनि सक्दछ र आज नभएको वस्तु भोलि हुन पनि सक्दछ । हुनु र नहुनुको प्राकृतिक सत्य र नियतिबाट संसारका हरेक व्यक्ति गुज्रनु नै पर्दछ, चाहेर पनि कोही छुट्न सक्दैन । यसैले, हामीले गरिबीलाई अभिशाप ठान्नुहुँदैन । गरिबीलाई नराम्रो केवल हामीले बनाएका मात्र हौँ । अलि धेरै भौतिक सम्पत्ति हुनेले आपूmलाई धनी ठान्न र थोरै हुनेले गरिब ठान्न थालेपछि नै धनी र गरिबको विभाजन भएको हो । धनी र गरिबको विभाजन अरु कसैले नगरेर केवल मानिसले गरेको हो । हामी धनी र गरिब हाम्रै कारणले भएका मात्र हौँ, यसका लागि हाम्रो आफ्नै दृष्टि दोषी छ ।

गरिबी अभावको नाम पनि हो । जहाँ असुविधा हुन्छ, त्यहीँ सुविधाको लागि पहल हुन्छ, प्रयत्न हुन्छ । त्यही पहल र प्रयत्नका बलमा हामी सुविधाभोगका अधिकारी बन्ने सौभाग्य पाउँदछौँ । यसप्रकार गरिबीलाई हामीले हाम्रो सौभाग्य बनाउन पनि सक्दछौँ । संसारका धनी मानिसहरूलाई पढ्ने हो भने वा उनीहरूलाई बुझ्ने हो भने हामीलाई थाहा हुन्छ उनीहरूले भोगेव्यहोरेका जीवनका अभावहरू । निकै भयानक अभाव र गरिबीका काँडाघारीहरूलाई छिचोल्दै उनीहरूले सम्पन्नाताको सगरमाथा चढेका थिए । कन्फ्युसियसले यसैले गरिबहरूलाई भाग्यमानी मानेका छन् । आजको गरिबी भोलिको सम्पन्न भविष्यको सुनौलो आरम्भ हो ।

आज सम्पन्न भनिएका मानिसहरू अकर्मण्य, गतिहीन र रुग्ण बन्ने सम्भावना पनि उत्तिकै प्रबल हुन्छ । सहरबजारका सम्पन्न घरका मानिसहरू एकैसाथ अनेक रोगका सिकार बनिरहेका हुन्छन् । उनीहरू भौतिक सुविधाका सहयोगमा घरै बसीबसी नयाँनयाँ रोगहरूलाई निम्त्याउन सफल भइरहेका छन् । कतै हिँड्नु छैन, कतै डुल्नु, चलमलाउनु छैन । सुविधैसुविधाको घेराबन्दीमा बाँच्दाबाँच्दै मृत्युको घेराबन्दीमा परेको पत्तै हुँदैन । तर, गरिब त्यसरी एकै ठाउँमा बस्न पाउँदैन । उसलाई त अनेकतिर पुगेर आवश्यकताको परिपूर्ति गर्नुपर्ने बाध्यता छ । यही बाध्यताका कारण गतिशील हुने भएकाले उसलाई रोगव्याधिले आक्रमण गर्ने खतरा पनि ज्यादै न्यून हुन्छ । अनेक ठाउँको भ्रमण गरेर मानसिकरूपमा पनि स्वच्छ बन्ने मौका गरिबहरूलाई मिल्दछ । यस अर्थमा पनि गरिबहरू भाग्यमानी हुन् ।

पैसा नै सम्पत्ति होइन । सम्पत्ति त्यो हो, जसले हामीलाई खुसी दिन्छ, रोग र शोकमुक्त तुल्याउँछ । जसका कारण हामी दिल खोलेर हाँस्न सक्दछौँ र धित मारेर निदाउन सक्दछौँ, त्यही शक्ति नै यथार्थमा सम्पत्ति हो, धन हो । पैसा मात्रै छ तर आनन्द छैन, सुख र सन्तोष छैन भने त्यसको कुनै अर्थ हुँदैन । यस्तो पैसा मात्रै भएको तर निर्भयता, आनन्द, सुख र सन्तोष नभएको मानिसभन्दा गरिब दोस्रो कोही हुँदैन । आज पैसैपैसा भएका गरिबहरू भिड र सर्वत्र । पैसाले मोटरगाडी पनि किनेको छ, घर पनि किनेको छ, इज्जत र प्रतिष्ठा पनि किनेको छ तर आफ्नै आत्मसम्मान किन्न सकेको छैन, निद किन्न सकेको छैन, स्वास्थ्य किन्न सकेको छैन, निर्भयता किन्न सकेको छैन । समग्रमा शान्ति र सन्तोष किन्न सकेको छैन ।

सबैथोक भएर पनि जोसँग शान्ति र सन्तोष छैन, ऊ कहिल्यै धनी हुन सक्दैन । ऊ दुनियाँकै गरिबहरूभित्रको एउटा वरिष्ठ सदस्य हो । धन नभएर मात्रै कोही गरिब हुने होइन, गरिब त मन नभएर हुने हो, भावना र मानवीय मूल्यको चिन्तन नभएर हुने हो । आज मानिससँग धन छ तर मन छैन, मानवीय मूल्यको विचार छैन । परोपकार, सेवा र सहयोगको चाहना छैन ।

अरबौँको सम्पत्ति छ तर पनि मानिस सुखी छैन, खुसी छैन । सुखको स्रोत धन होइन, अन्तस्करण हो भन्ने मानिसले बिर्सिएको छ । अन्तस्करणलाई पवित्र बनाउन नसकेसम्म व्यक्ति कहिल्यै धनी बन्न सक्दैन । भौतिक सम्पत्ति र धन भएको तर अन्तस्करणमा प्रदूषण लिएर बाँचेको मानिस जुनसुकै बेला गरिब हुन सक्दछ, पतित हुन सक्दछ । हामीभित्रका अनेक चाहना र इच्छालाई शान्त नपारेसम्म यो संसारको आधाभूभाग जिते पनि हामी धनी बन्न सक्दैनौँ । बिनोबा भावेको विचारलाई सम्झौँ, धनवान् भएर पनि जसको इच्छा कम भएको छैन, ऊ सबैभन्दा गरिब हो ।

हामीले हाम्रै इच्छाहरूका कारण सास्ती भोगेका छौँ । मनले थाहा छैन, केके चाहन्छ चाहन्छ, केके इच्छा गर्छगर्छ । मनले चाहेका चाहना र इच्छ्याएका इच्छाहरू कहिल्यै पुरा हुँदैनन् । एउटा पुरा गरे पनि अर्को जन्मिने क्रम सुरु भइहाल्छ । त्यसैले, त्यो व्यक्ति धनी हो, जो इच्छाहरूमाथि संयम कायम गर्न सफल छ । यही इच्छाले गर्दा मानिस आज जति कमाए पनि सन्तुष्ट भएर बस्न सकेको छैन किनकि इच्छाले कहिल्यै पनि सन्तोष दिँदैन । इच्छाको अन्तिम प्राप्ति भनेकै असन्तोष हो । यसैले, योगीहरू, सन्तमहन्त र बुद्धपुरुषहरूले इच्छाहरूका पछाडि आँखा चिम्लिएर कुद्नुहुँदैन भनेका हुन् ।

हामीले जति कमाउँछौँ, त्यसको कुनै अंश दान गर्ने बानीको विकास गर्नुपर्दछ । यसले हाम्रो इच्छालाई पवित्र बनाउने काम गर्दछ । समाजमा अनेक दुःखी र गरिबहरू हुन्छन्, तिनलाई सहयोग गर्नाले हामीभित्रको आत्मविश्वास र आत्मसम्मान पनि बढेर जान्छ । आखिर हामी मनुष्य भएर जन्मिएको पनि त सेवा र परोपकारका लागि हो । आफ्नै लागि मात्र बाँच्ने भए त हामी पशु भएर जन्मिएका हुनेथियौँ किनकि पशुहरूले अरुका लागि सोच्न सक्दैनन् । आफ्ना सन्तानसम्मका लागि सोच्न सक्छन् तर त्यहाँभन्दा पर सोच्न सक्दैनन् ।

सबैका लागि सोच्ने मनुष्यले मात्रै हो । हामीले समाजमा विभिन्न कारणले असुविधा भोगिरहेका गरिबहरू देख्दछौँ, उनीहरूको सेवा र सहयोग गर्ने बानी बसाल्यौँ भने त्यसका कारण हामीभित्र दैवी प्रवृत्तिको उदय हुन्छ । गरिब र दुःखीहरूको सेवाले हामीले ईश्वरलाई पनि ऋणी बनाइरहेका हुन्छौँ भनेर बाइबलले पनि बताएको छ ।

यसप्रकार, हामीले हाम्रो कमाइलाई परोपकारको क्षेत्रमा लगानि गरेर धनी र महान् व्यक्तिको यथार्थ स्थानमा आपूmलाई उभ्याउन सक्दछौँ । धन हुनु मात्र धनी हुनु होइन, मन र भावना हुनु नै धनी हुनु हो । हामी पैसैपैसा हुने गरिबहरूमध्ये नपरौँ । पैसैपैसा हुने गरिबहरूको यो भिडबाट थोरै पैसा हुने धनी बनेर पनि हामीले पुण्यका काममा सहयोग गर्न सक्दछौँ । पैसालाई मात्र धनको मानक नमानौँ । सबैभन्दा ठुलो कुरा सन्तोष हो, शान्ति हो । जुन विषयले हामीलाई सन्तोष र शान्तिको अनुभूति हुन्छ, इच्छाहरूले पनि चित्त बुझाउन सक्दछन्, त्यो विषय नै हाम्रो सम्पत्ति हो, मूल धन हो ।