«

»

‘छ एकान छ’ भन्दा ‘एक अङ्गुर छ लङ्गुर’ फिट

राजेश घिमिरे
चलचित्र ‘छ एकान छ’ निर्माणको घोषणा लगत्तै नेपाली चलचित्र बृत्तमा यसको चर्चा परिचर्चा खुबै भए । नेपाली दर्शकले निकै रुचाएका टेलिचलचित्र तितो सत्य, जिरे खुर्सानी र मेरिबास्सैका प्रमुख कलाकारहरुले अभिनयगर्ने घोषणा गरिएपछि ‘छ एकान छ’ चर्चा आकाशिनु स्भाविकै थियो । हाँस्य टेलिचलचित्रको माध्यमबाट प्रशिद्ध हास्यकलाकारको छबी बनाएका कलाकारहरु एउटै पर्दामा देखिने हल्लाले निर्माण अघिनै यसले चलचित्र बजार तताइसकेको थियो ।
मेरो बुझाइमा सामान्यतया फिल्म सफल हुनुका पछाडि दूई वटा कारण छन् । जसले फिल्मी बजारलाई प्रभाब पार्न सक्छन् । कि त चलचित्र साँच्चैनै उत्कृष्ठ बन्नु प¥यो या त विभिन्न उपायहरु लगाएर(स्क्याण्डल मार्फत) चलचित्रबारे बजारमा चर्चा चल्नुप¥यो । यी दूई मध्ये जुनसुकै कारण भएपनि नेपाली दर्शक हलसम्म पुग्छन् । नेपाली चलचित्र मात्र होइन केहि अपवादबाहेक हिन्दी अनि अंग्रेजी चलचित्र व्यवसायिकरुपमा सफल हुनुका पछाडी पनि यीनै कारण प्रमुख छन् । यस्ता फिल्मलले सहजरुपमै लगानी उठाउँछन् । तर फरक यत्ति हो चर्चा मात्र बढि भएको फिल्म हेर्न सुरुआती दिनमै धेरै दर्शक ओहिरिन्छन् छिट्टै हलबाट उत्रिंदापनि लगानी उठ्छ, फिल्मनै वास्तविकरुपमा उत्कृष्ठ छ भने दर्शक बिस्तारै भने पनि हलसम्म पुग्छन्, लगानी उठाउने मात्र होइन फाइदा पनि राम्रै लिन्छन् । यी दूवै गुण भएका फिल्मले त बजार एकलौटी बनाइहाल्छन् । यी दूवै अवस्थामा फिल्म हेर्न दर्शकले समय निकाल्ने गर्छन् ।
चलचित्र ‘छ एकान छ’ र ‘वितेका पल’ जुध्दा कुनै एकले घाटा व्याहोर्नुपर्ने अड्कल नकाटिएको होइन । तर प्राप्त जानकारी अनुसार नेपालका हलहरुमा यी दूवैले राम्रो व्यापार गरिरहेका छन् । ‘छ एकान छ’ले देशभरका हलहरुबाट दूई करोड भन्दा बढिको कारोबार गरिसकेको छ भने ‘वितेका पल’ले पनि एक करोड बढिको कारोबार गरिसकेको छ । दूई मध्ये ‘छ एकान छ’ विभिन्न कारणले निर्माणको घोषणा लगत्तै निकै चर्चामा रह्यो र फिल्म हेरिसकेपछि दर्शकले ठाने, ‘यत्तिको फिल्मले केहि फाइदा त लिनै पर्छ ।’ प्रदर्शनको दूई सातासम्म पनि फिल्म हलमा दर्शकको चाप नघट्नु यसको प्रमाण हो । ‘वितेका पल’को सफलताका पछाडी चर्चा भन्दा कथाबस्तु र कलाकारको प्रस्तुती प्रमुख कारण हुनसक्छ ।
नेपाली चलचित्रको भिडमा ‘छ एकान छ’व्यवसायिकरुपमा उत्कृष्ठ बन्न सफल भएको छ ।नारायणगढको जलमा चलचित्र हलमा प्रदर्शन प्रारम्भ भएको १२ औं दिन पुग्दा टिकट काट्नेको भिड थियो । मध्यान्न १२ बज्नुअघि हलका कुर्सी भरिएका थिए । फिल्म सुरु भएको आधा घण्टासम्म पनि दर्शकको आवागमन रोकिएन । कैयौंलाई भुँईमा बसेको र उभिएर फिल्म हेरेको अबस्थामा देखियो । हलका म्यानेजर सुनिल कर्मचार्यका अनुसार प्रदर्शन सुरु भएको पुष २६ गतेबाटै दर्शकको चाप उस्तै छ । सार्वजनिक बिदाको दिन, शनिवार र नारायणगढ बजार बन्द हुने दिन सोमवार हलमा चाप अझ बढ्छ ।
‘छ एकान छ’ले प्रचार–प्रसार यतिबिधि ग¥यो कि नेपाल टेलिभिजनका चर्चित तीन हाँस्य टेलिश्रृंखलाहरुमा त केहि हप्ताको बिषयनै यहि फिल्म बन्यो । हाँस्य नायकहरुको आँफु अभिनित फिल्मलाई सफल बनाएर ठुलो पर्दामा स्थान बनाउने चाहना केहि हप्तासम्म लगातार प्रसारित ती टेलिचलचित्रका बिषयबस्तुबाट स्पष्टै हुन्थ्यो । अन्य नेपाली फिल्मले प्रचारको निम्ति यस्तो अवसर पाउँदैनथे । डाडु आफ्नै हातमा भएको फाइदा दिपकराज गिरी, शिवहरी पौडेल, जीतु नेपाल, सिताराम कट्टेल र केदार घिमिरेले मात्र होइन कान्तिपुर टेलिभिजनको ‘ह्वाट द फ्लप’ कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले पनि राम्रैसँग उठाए । किनकी चलचित्र ‘छ एकान छ’ का मूख्य नायक यीनै ६ जना थिए । निर्माता त्रय दिपक, निर्मल शर्मा र दीपाश्री निरौला पनि तितो सत्य टिमकै सदस्य छँदै थिए । निर्देशक दिनेश डिसीले पनि प्रचारका लागि कुनै कसर बाँकि नराखेको सामाजिक सञ्जालमा उनले राखेका बिषय, सामग्रीबाट थाहा हुन्छ । ‘छ एकान छ’ टिमका सदस्यहरुले जुनसुकै कार्यक्रम र प्रसंगमा आफ्नो फिल्मको प्रचार गर्न लाज मानेनन् । जसले दिएकोे फल अहिले उनीहरुले टिपिरहेका छन् ।
चलचित्रका कलाकारहरलाई सामान्य व्यक्तिले पनि चिन्न सक्नु व्यवसायिकरुपमा सफल बन्नुको एउटा प्रमुख कारण हो । टेलिभिजनको पहुँच पुगेका क्षेत्रका व्यक्तिले यी छ जना कालाकारहरुलाई अत्यन्तै नजिक बाट चिन्छन् । आफ्नै घरको टेलिभिजन सेट अघि बसेर उनीहरुलाई हेरेर हाँस्नेहरुले ठुलो पर्दामा पनि आएको थाहा पाएपछि एक पटक हेर्ने सोच बनाएकै हुन् । त्यसैले होला हलमा नेपाली फिल्मका दर्शक बिल्कुलै फरक समूह र व्यक्तित्वका पनि भेटिए । सामान्यतया मोफशलमा नेपाली फिल्मका दर्शक युवा र त्यसमा पनि मध्यम बर्गीय बढि भेटिन्छन् । तर ‘छ एकान छ’ हेर्न हलमा नेपाली दौरा सुरुवाल, सुट र ढाका टोपी लगाउने पनि उत्तिकै भेटिए । नेपाली फिल्मका दर्शकको तह छुट्टाउनेका लागि ‘छ एकान छ’ले दह्रो प्रश्न खडा गरिदिएको छ । नेपाली फिल्ममा अश्लिता बढेर एउटै परिवारका दूई जनापनि सँगै बसेर हेर्न सक्ने अवस्था छैन भन्ने गुनासो बढिरहँदा स–परिवार फिल्म हेर्न हलसम्म पुग्ने पनि कम थिएनन् । नेपाली दर्शकको नेपाली चलचित्रप्रतिको सोच नराम्रो भएकै कारण बजारमा हिन्दी चलचित्र हावी भएको आरोप लगाउने निर्माताहरुलाई ‘छ एकान छ’ र ‘वितेका पल’को व्यवसायिक सफलतालेलाज लाग्न सक्छ । किनकी यी चलचित्रहरुले दर्शकको चाहनालाई बुझेर कथाबस्तु, अभिनयसँगै प्रचार–प्रसारमा ध्यान दिन नसक्ने हो भने हिन्दी र अंग्रेजी फिल्महरु पनि नेपाली बजारमा फ्लप हुन्छन् भन्ने फेरी एक पटक प्रमाणित गरिदिएका छन् । बलिउडले ठुलो आशा राखेको ‘डेढ ईस्कीयाँ’ नेपालमा फ्लप हुनुको कारण ‘छ एकान छ’ र ‘वितेका पल’मा समावेश विषयबस्तुनै हुन् ।दर्शक चाहना अनुसारका खुराक समावेश गर्दै प्राबिधिक बिषयमा पनि ध्यान दिन सक्ने हो भने अर्को हप्ता प्रदर्शन हुने सलमान खानको ‘जय हो’लाई पनि नेपाली फिल्मले रित्तै फिर्ता गरिदिन सक्छ । बेला–बेलामा अन्य चलचित्रहरुले पनि नेपाली चलचित्र क्षेत्रमा उज्यालो दिनको आशा जगाइदिंदै आएकै थिए ।
‘छ एकान छ’ ले दर्शकलाई मनोरञ्जन दिन्छ । हाँस्य टेलिचलचित्रमार्फत बनाएरको क्रेज जोगाउन प्रमुख कलाकारहरुले राम्रै मेहनत गरेका छन् । हेरिन्जेल बोर हुँदैन । फिल्ममा नायिका नीता ढुंगाना हावी छन् । कथाबस्तुअनुसार नीतानै फिल्मकी प्रमुख कलाकार हुन् । छ जना नायकहरु नीताको पति बन्नका लागि पालै–पालो प्रयास गर्छन् । यसलाई फिल्ममा रोमाञ्जक ढंगले प्रस्तुत गरिएको छ । राजबल्लब कोइराला, अर्जुन श्रेष्ठ पनि फिल्मका प्रमुख पात्र हुन् । साथमा निर शाहसँगै राजेश हमाललाईपनि फिल्ममा देख्ने अवसर पाइन्छ । हरीबंश आचार्य, किरण केसी र दिनेश डिसीकोसमेत आवाज रहेको ‘छ एकान छ’ बोलको गीतले दर्शकको ध्यान तान्छ । हिन्दी फिल्म दबङ्को गीतसँग ठ्याक्कै मिल्ने ‘धोकेबाज रे’ बोलको गीतले पनि राम्रै मनोरञ्जन दिन्छ । चोरीएकै भएपनि कथाबस्तु अनुसारकै भएकाले चोरीको गन्ध कम मनोरञ्जन बढि अनुभुती हुन्छ ।
यति हुँदा हुँदै पनि ‘छ एकान छ’ भित्रै कमजोरीहरु प्रसस्तै छन् । ‘छ एकान छ’ले आफ्नै नामको पुष्टी फिल्म अबधिभर गर्न सक्दैन । के कारणले फिल्मको नाम ‘छ एकान छ’ भयो भन्ने जान्न दर्शकलाई मुस्किल पर्छ । फिल्म सकिएपछि उनीहरु बाध्य भएर सोच्छन्, ‘सायद छ जना हिरो र एक जना हिरोइन भएकै कारण फिल्मको नाम छ एकान छ राखियो ।’ फिल्म सकिएपछि चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आवाज सुनिन्छ, ‘यो कथाको नाम छ एकान छ नभई एक अङ्गुर छ लङ्गुर हुनुपर्ने थियो ।’ वास्तवमै फिल्मको नाम ‘छ एकान छ’ नभई ‘एक अङ्गुर छ लङ्गुर’नै राखिएको भए कथा माथि न्याय हुने थियो । त्यस्तै, फिल्ममा निर्मातासमेत रहेका प्रमुख कलाकार दिपकराज गिरीलाई बलिउड स्टार सलमान खानको नक्कलगर्ने नाममा अस्वभाविकरुपमा प्रस्तुत गरिएको छ । दिपक कलाकारितामा आँफैमा आब्बल छन् तर पनि यसफिल्ममा उनको अभिनयलाई ‘ओभर एक्टिङ’ भन्दा अतिशयोक्ती नहोला । साथै उनलाई प्रस्तुत गर्ने क्रममा अन्य कलाकारकोमा भन्दा धेरै प्राबिधिक कमजोरिहरु देखिन्छन् । द्धन्द्धका दृष्यहरु बढि अस्वभाविक लाग्छन् । तुलनात्मकरुपमा शिवहरी पौडेल र केदार घिमिरेको अभिनय तारिफगर्न योग्य छ । जीतु नेपाल र सिताराम कट्टेलको क्षमतालाई भरपुर प्रयोग गर्न सकिएको छैन । राजबल्लब कोइरालालाई चलचित्र ‘लुट’को हाकु कालेको शैलीमा देखाइएपनि त्यतिसाह्रो सुहाएझैं लाग्दैन । बरु भिलेनको रोलमा गेट–अप सुहाउँदो छ । अर्जुन श्रेष्ठको भूमिका र कलास्तर पनि कुनै नायक भन्दा कम छैन ।
फिल्मको कथाबस्तु राम्रै बुनिएपनि अन्त्यतिर अन्यौलग्रस्त छ । अन्त्यमा नायकहरुलाई कसरी व्यवस्थापनगर्ने भन्नेमा फिल्म बोलेको छैन । अन्ततः नायिकाले स्थापना गरेको वालगृहका वालकहरुसँग खेल्दा खेल्दै फिल्मलाई जबरजस्ती टुंग्याइएको छ । पट–कथामा देखिएको सुन्दरताले फिल्मप्रतिको आलोचना कम बनाउन सक्छ । तर विभिन्न ठाउँमा देखिएका प्राबिधिक कमजोरी र कथालाई व्यवस्थित ढंगले टुङ्ग्याउनमा देखिएको असफलताले फिल्मलाई अब्बल दर्जाको प्रमाणित गर्नमा भने अबरोध गर्ने निश्चित छ ।
–चबवभकजबतढद्ध२नmबष्।िअयm