«

»

दुई घण्टामै प्रहरीले किन सच्यायो विज्ञप्ति ?

आनन्द पोखरेल
भरतपुर, ८ चैत
जिल्ला प्रहरी कार्यालय, चितवनले कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन ग¥यो । प्रहरीले शुक्रबार साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर एउटा विज्ञप्ति जारी ग¥यो । तर त्यसको दुई घण्टा नबित्दै साढे ७ बजे सञ्चार माध्यमहरुको इमेलमा सोही घटनाबारे अर्को विज्ञप्ति प्रेषित ग¥यो ।
प्रहरीले दोस्रो विज्ञप्ति प्रेषित गरेपछि पत्रकारहरुलाई टेलिफोन गरी पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिको सट्टा इमेलमा प्रेषित गरेको विज्ञप्ति ‘प्रयोग’ गरिदिन अनुरोध ग¥यो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले चितवन प्रहरीको अनुसन्धानबाट घटनामा संलग्न रहेको भनेर देखिएका तत्कालिन नेकपा (माओवादी)का स्पेशल टास्क फोर्स (एसटिएफ)का तीन जना कार्यकर्ताहरुको नाम सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की उपस्थित थिएनन् । शुक्रबार दिउँसो चितवनको सिमा अवलोकन गर्न माडी क्षेत्र गएकाले फर्कन ढिला हुँदा कार्की पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
‘किटानी जाहेरीमा परेका व्यक्तिहरुभन्दा फरक व्यक्तिहरुले अधिकारीको हत्या गरेको देखिएको छ’ पत्रकार सम्मेलनमा राउतले भने– ‘ती मध्ये सुरक्षा फौजको कारवाहीमा दुईजनाको मृत्यु भएको छ भने एकजना वैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा रहेका छन् ।’
कृष्णप्रसादका परिवारले किटानी जाहेरी दिएका ११ जना माथि कारवाहीको लागि अनुसन्धान गर्दै जाँदा किटानी दिइएका दुई जना व्यक्तिलाई पक्राउ गरिएको राउतले बताए । उनले भने– ‘परिवारको तर्फबाट किटानी जाहेरी दिइएका दुई जना व्यक्तिहरुलाई चैतको ६ र ७ गते फरक फरक स्थानबाट पक्राउ गरेका छौं ।’ अधिकारीको हत्यामा संलग्न रहेको भनि किटानी जाहेरी परेका गोरखा फुजेल–६ का ७२ वर्षीय छविलाल पौडेल र रत्ननगर नगरपालिका– ११ जिरौनाका ४० वर्षीय भिमसेन भनिने भिष्मराज पौडेललाई पक्राउ गरिएको राउतले बताए ।
प्रहरीले पत्रकार सम्मेलनमा बितरण गरेको विज्ञप्तिमा अधिकारीको हत्यामा प्रत्यक्ष संलग्नता रहेको भनि प्रहरीको अनौपचारिक अनुसन्धानबाट खुल्न आएका तत्कालिन नेकपा (माओवादी) का एसटीएफहरु चितवनको पिठुवा–९ का २२ वर्षीय निशान भनिने ऋषिराम लामिछानेको २०६२ माघ १८ गते भरतपुर नगरपालिका–१२ मा र तनहुँको पुर्कोट गाविस–५ का अटल भनिने मदन पौडेलको २०६२ माघ २७ गते पोखरा ड्यामसाईडमा सुरक्षा फौजको कारवाहीमा मृत्यु भएको उल्लेख छ ।
त्यसैगरि, रुद्र आचार्य हाल बैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा रहेको बुझिन आएकोले उनीमाथि अनुसन्धान कारवाहीका लागि झिकाउनेतर्फ सम्बन्धित निकायमा पत्राचार भइसकेको प्रहरी प्रवक्ता राउतले जानकारी दिएका थिए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा अधिकारी हत्यामा प्रत्यक्ष संलग्नता रहेको भनि प्रहरीको अनुसन्धानबाट खुल्न आएका तत्कालीन माओवादी एसटीएफका तीन जनाको थप विवरण खुलाइएको थियो । तर दोस्रो विज्ञप्तिमा भने यो विवरण हटाएर प्रेषित गरिएको थियो ।
प्रहरीले विज्ञप्ति सच्याएर पठाउँदै दोस्रो विज्ञप्ति अनुसार समाचार प्रकाशन, प्रशारणका लागि अनुरोध गरेपछि धेरै सञ्चारमाध्यमले पहिलो विज्ञप्तिमा प्राविधिक त्रुटी भएको हुनसक्ने ठानी दोस्रो विज्ञप्तिलाई आधिकारिक मानेर सोही अनुसार समाचार सम्प्रेषण गरे । तर केही सञ्चार माध्यममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले अधिकारी हत्या घटनामा माओवादी एसटीएफका तीनजनाको संलग्नता बारे खुलेरै जानकारी गराएको समाचार आयो ।
चितवन प्रहरीले कृष्णप्रसाद अधिकारी हत्या घटनाको अनुसन्धानबाट किटानी जाहेरी परेकाहरु बाहेक तत्कालीन माओवादीका अन्य तीनजना कार्यकर्ताको प्रत्यक्ष संलग्नता रहेको र ती मध्ये एकजना बिदेशमा रहेको जानकारी यसअघि नै गराएको भएपनि उनीहरुको थप विवरण भने गोप्य राख्दै आएको थियो । प्रहरी स्रोतका अनुसार अधिकारी हत्या घटनामा संलग्न भएको भनि प्रहरी अनुसन्धानबाट खुल्न आएका माओवादी एसटीएफबारेको सूचना बाहिर गएकोमा त्यो त्रुटी भएको विश्लेषण गर्दै प्रहरीले त्यसलाई सच्याएर पुनः अर्को विज्ञप्ति जारी गरेको थियो ।
प्रहरीले गोप्य राख्दै आएको अनुसन्धानको विवरण बाहिर गइसकेकोले त्यसलाई लुकाउनै नसक्ने भएपछि दोस्रो विज्ञप्ति जारी गरिसकेपछि पनि प्रहरी उपरीक्षक कार्कीले घटनामा संलग्नहरुको बारेमा केही मिडियामा आफ्नो भनाई उद्यृत गर्नेगरी अभिव्यक्ति दिएका शनिबार छर्लङ्ग भयो । तर मिडियामा अर्को विज्ञप्ति पठाउने र फेरि पुरानै अनुसार बोल्दै पनि हिंड्ने प्रहरी उपरीक्षक कार्कीको शैलीलाई भने प्रहरी स्रोतले ‘हिरो बन्न खोज्ने प्रवृत्ति’ भनि टीप्पणी गरेको छ ।
उता, प्रहरी उपरीक्षक कार्कीले शनिबार सञ्चारपत्रसँग भनेका छन्– ‘एसटीएफका कार्यकर्ताले हत्या गरेको कुरा प्रष्ट हो यसलाई लुकाइराख्न जरुरी छैन, हिजो सूचना दिँदा केहि कमजोरी भएको होला ।’ उसोभए पहिलाको विज्ञप्तीमा एसटीएफको कुरा आएको थियो पछि इमेल गरेर नयाँ विज्ञप्ती अनुसार समाचार बनाइदिनुहोला भनेर किन अनुरोध गरिएको हो त ? भन्ने प्रश्नमा कार्कीले भने– ‘यसको बारेमा भोलि (आईतबार) बिहान पत्रकार सम्मेलन राखेर जानकारी दिउँला ।’