सञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ चैत । काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको ‘धनकुटेली ट्राभल्स’ को बस चितवनको दारेचोक–९ फिस्लिङमा आईतबार साँझ साढे ७ बजेको समयमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि भरतपुर पठाइएको र उद्धार कार्य जारी रहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
मृत्यु हुनेमध्ये तीन जना पुरुष र दुई महिला भएपनि उनीहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म एकजना १३ महिनाको बालिका पनि बसभित्रै हराइरहेकी छिन् ।
बसमा कतिजना यात्रु सवार थिए, त्यसको यकिन भइनसकेको र दुर्घटनाको बारेमा विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाई छ । तर लामो दुरीको यात्रुबाहक बस भएपनि बसमा यात्रु भने करिब २२ जना भन्दा बढि नरहेको घाइते ललित लिम्बुले बताए । मुग्लिङबाट १५ किलोमिटर टाढा फिस्लिङतर्फको बाटोमा फिस्लिङ बजार नजिकै बस दुर्घटनामा परेको हो । बस सडकबाट २०० मिटर तल खसेको प्रहरीको भनाई छ । बस दुर्घटनामा परेपछि स्थानिय वासिन्दा, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीले उद्दार गरिरहेको छ । यसअघि गएको साउन महिनामा पनि सोही स्थानमा माइक्रो बस दुर्घटनामा परेको थियो ।
दुर्घटनास्थलबाट उद्दार गरिएका घाइतेहरुलाई भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा ल्याइ उपचार गराइराखिएको छ । साँघुरो र घुम्ती सडकमा पनि बस तीब्र गतीमा कुदेकाले दुर्घटना भएको हुनसक्ने स्थानीय वासिन्दाको भनाई छ । बस अहिले नदी किनारमा पल्टिएको अवस्थामा छ ।
आईतबार राती भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचारका लागि ल्याइएका खोटाङका ३७ वर्षिय घाइते भविन्द्र सोनामले बस तीब्र गतीमा रहेको र अगाडि रहेको ट्रकलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटनामा परेको बताए । बस भरिभराउ नभएको घाईते सोनामको पनि भनाई छ । ‘अगाडिको ट्रकलाई ओभरटेक गर्न खोज्दा बस भीरबाट लड्यो । नदी किनारमा ठूलो ढुंगामा बस ठोक्किएकाले नदीभित्र भने पसेन ।’–घाइते सोनामले भने । वैदेशिक रोजगारीका लागि काठमाडौँबाट म्यानपावर कम्पनीलाई अन्तर्वार्ता दिएर उनी खोटाङ फर्कदै थिए । दुर्घटनामा परि सोनामको दाहिने खुट्टा भाँचिएको छ । भरतपुरमा उपचारका लागि ल्याइएका घाइतेहरुको अवस्था भने चिन्ताजनक नरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बस दुर्घटनामा घाइते भएका खोटाङका ३७ वर्षिय भविन्द्र सोनाम कलेज अफ मेडिकल कलेजमा उपचार गराउँदै । उनको दाहिने खुट्टा भाँचिएको छ । तस्वीर ः सञ्चारपत्र