तीर्थ नेपाल
भरतपुर, ९ चैत
चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्गको ट्रयाक खोल्ने काम पुरा भएपछि सवारी साधन गुड्न थालेका छन् । सवारी गुड्न थालेपनि चेपाङ मार्ग स्थानियका लागि बरदान साबित भएको छ ।
अल्पसंख्यक र आर्थिक रुपमा बिपन्न चेपाङ समुदायको जिवनस्तर उठाउने उद्देश्यका साथ ०६६ सालमा चेपाङ मार्गको ट्रयाक खोल्ने काम आरम्भ भएको थियो । यो मार्ग हुँदै भण्डाराबाट मलेखु पुग्न ६१ किलोमिटर दुरी पार गर्नुपर्दछ ।
भण्डाराबाट कोराक, थाकलटार, एउराली टार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै चितवन र धादिङ जिल्लाको सिमाना कान्द्राङ्गढी हुँदै महादेवस्थानबाट मलेखु पुग्न सकिन्छ । अहिले भण्डाराबाट वासवाङसम्म ३५ किलोमिटर खण्डमा गाडी चल्ने गरेको छ ।
फोर ह्वील ४ वटा जीप दिनहुँ आवतजावत गर्ने गरेका छन् । पहाडी बाटो, उकालो ओरालो, नयाँ ट्रयाक र ग्राभेल पनि हुन बाँकी रहेकोले अन्य प्रकारका सवारी साधन आवातजावत गर्न सक्दैनन् । मलेखु तर्फबाट १० किलोमिटर महादेवस्थान सम्म गाडी चल्ने गरेको छ ।
०६६ साल यता ट्रयाक खोल्ने कामका लागि झण्डै २५ करोड रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख ईन्जिनियर हरिकुमार पोखरेलले जानकारी दिए । यस वर्षका लागि प्राप्त छ करोड रुपैयाँबाट आठ किलोमिटर ग्राभेल, सडक चौँडा, कल्भर्ट र कजवे निर्माणको काम चलिरहेको पोखरेलले बताए ।
पिच सहितको सडकको स्तर वृद्धिका लागि डिभिजनले विस्तृत परियोजना तयार गर्ने काम गरिरहेको जानकारी गराउँदै उनले जेठ सम्म तयार पारेर बजेटका लागि प्रस्ताव गर्ने बताए । ‘यो मार्गमा मलेखुबाट ६१ किलोमिटर पार गरेर भण्डारा पुग्न सकिने भएकाले नारायणगढ–मुग्लिङ सडक र पृथ्वी राजमार्गको एक सय पाँच किलोमिटर यात्रा ४४ किलोमिटर छोटिने छ । ‘यसले समय र ईन्धनको बचत गर्छ’ सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख ईन्जिनियर पोखरेलले भने– ‘भविष्यमा ट्राफिक व्यवस्थापनमा पनि सहजता आउने छ ।’
गाडी चल्न थालेपछि स्थानीय अल्पसङ्ख्यक चेपाङ र तामाङ्ग समुदायको जीवन स्तरमा सुधार आउन थालेको छ । ट्रयाक खुलेसँगै बिकट पहाडी क्षेत्र लोथर र कोराकका चेपाङ र तामाङ बस्तीमा मोटर गुड्न थालेपछि यहाँका बासिन्दा खुसी छन् ।
उनीहरु तीन दिन पैदल हिँडेर नुन, तेल र चामल किन्न भण्डारा बजार झर्नुपथ्र्यो । तर अहिले भने ट्रयाक्टर, फोर ह्वील जीप, मोटरसाईकल जस्ता सवारी साधनको आवात जावतले स्थानियलाई अत्यन्त सजिलो भएको छ । उपभोग्य सामग्री खरीद गर्न र उत्पादित तरकारी, डोका, नाङ्ला र पशुपंक्षी बिक्री गर्न पनि सहज भएको छ ।
लोथर गाविस–६ वासवाङका कृष्णबहादुर चेपाङ बाटो बनेपछि अब दुःखका दिन गएको सोचिरहेका छन् । ‘बाटो नबन्दा तीन दिन लगाएर डोकोमा बोकेर भण्डाराबाट सामान ल्याउनु पथ्र्यो, बिरामीलाई डोकोमा हालेर उपचार गर्न लैजाँदा लैजाँदै कति मरे’ कृष्णबहादुरले उत्साहित हुँदै भने– ‘अहिले त स्वर्ग भएको छ ।’
सडक सुविधाले स्थानिय बासिन्दाको बजारसँग पहुँच बढेपछि तरकारी खेती गर्ने र खसी बोका पाल्नेहरु बढेका छन् । घिउसिमी, गोलभेंडा, करेला र चिचिण्डा बेचेर एक सिजनमा आफुले ३० हजार आर्जन गरेको कृष्णबहादुरले बताए । ‘बाटो बनेपछि खेती गर्नुपर्ने रैछ, खसी बोका पाल्न पर्ने रैछ, आम्दानी हुने रैछ भन्ने थाहा पाईयो’ फिस्स हाँस्दै उनले भने ।
कोराक–७, तीनतलेका जीतबहादुर रुम्बालाई पनि चेपाङ मार्ग बनेपछि ठूलो राहत मिलेको छ । तरकारी खेती गरेर आफुले यो सिजनमा १५ हजार रुपैयाँ कमाएको रुम्बाले बताए । उनी भन्छन्– ‘बाटो खुलेपछि असाध्यै सजिलो भएको छ, थाप्लामा नाम्लो हालेर बजारबाट नुनतेल ल्याउने दिन गए ।’
लोथर–४ का २४ वर्षीय हिरामणी प्रजा पनि खोलैखोला भारी बोकेर हिँड्ने दुःख हटेकोमा खुसी छन् । उनको आशा छ– ‘अब यो बाटोलाई पिच गरेर सजिलो बनाईदिए हुन्थ्यो, हामीले खेतीपाती गरेर खान सक्छौँ कि जस्तो लागेको छ ।’
भण्डारा–१ निवासी गाडी चालक पासाङ दोङ दैनिक चल्ने चारवटा फोर ह्वील जीपमा कहिल्यै यात्रुको अभाव नहुँदा दङ्ग छन् । गाडीमा यात्रुका साथै डोको नाम्लो र तरकारी बजार पु¥याउने गरिएको छ । भण्डाराबाट वासवाङ सम्म ३५ किलोमिटरको यात्रा छिचोल्न तीन घण्टा समय लाग्ने लाग्ने गरेको छ । बाटोमा आँपपानी, थाकलटार, भञ्ज्याङ र वासवाङमा स्थानिय समुदायले किराना पसल र होटलहरु पनि चलाएका छन् ।
सडक निर्माणले हर्षित स्थानियले आफ्नो जमिनको मुआब्जा समेत नमागेको डिभिजन सडक कार्यालयका ईन्जिनियर गंगा महर्जनले बताए । ‘अत्यन्त सरल, सोझा र ईमान्दार रहेछन्, बिकासको भोक मेटाउन सबैले त्याग देखाएका छन्’ महर्जनले भने ।
तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको अवधारणामा ०६६ सालबाट यो सडक निर्माण शुरु गरिएको हो । हालै सम्पन्न संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट सभासदमा निर्वाचित पाण्डेसँग स्थानियको अपेक्षा बढी छ । आफुले चेपाङ मार्गलाई नमुना मार्गका रुपमा पुरा गरी अल्पसंख्यक र बिपन्न चेपाङ र तामाङ समुदायको जीवन स्तर अझ माथि उठाउन निरन्तर लागिपर्ने पाण्डेले बताए । ‘आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा पनि चेपाङ मार्गको ठूलो भूमिका रहनेछ’ पाण्डेले भने ।
ट्रयाक खोल्ने काम सकेपछि डिभिजन सडक कार्यालय, भरतपुरले शनिबार सडकको अनुगमन गरेको थियो । कार्यालयले सडक निर्माणको जिम्मा रोमन कन्ष्ट्रक्सनलाई दिएको छ । अनुगमनमा डिभिजन सडक कार्यालयका चारजना ईन्जिनियर सहभागी थिए । निर्माण कार्य सन्तोषजनक रहेको र केही सुधार गर्नुपर्ने उनीहरुले औंल्याए । सडक छेउमा पानी बग्ने ढल पर्याप्त हुनसके मर्मत कम आवश्यक पर्ने उनीहरुको भनाई छ ।