«

»

रत्ननगरका ‘अगुवा’ तासको खालवाट पक्राउ

imagesसञ्चारपत्र सम्वाददाता
रत्ननगर, १८ कात्तिक
रत्ननगर नगर बिकास वोर्डका अध्यक्ष दिपक पौडेलसहित नौजनालाई प्रहरीले मध्यरात तासको खालवाट पक्राउ गरेको छ ।
सोमवार राती १ बजे ईलाका प्रहरी कार्यालय टाँडीको टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा रत्ननगर–१२ स्थित निराजन थापाको घरवाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रत्ननगर–२ घर भएका विकास वोर्डका अध्यक्ष पौडेल, रत्ननगर–१० का विनोद पौडेल, रत्ननगर–१२ का शंकर दुवाडी, जुटपानी–५ का हिमबहादुर तीवारी, रत्ननगर–१२ का हुकुम सुयल, रत्ननगर–३ का राममणी थपलिया, रत्ननगर–१० का बिपिन पोख्रेल, रत्ननगर–८ का विनोद पोख्रेल र घरमुली निराजन थापा रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
पक्राउ परेकामध्ये बिनोद पोख्रेल उद्योग वाणिज्य संघ रत्ननगरका उपाध्यक्ष हुन् । त्यस्तै बिपिन पोख्रेल उद्योग वाणिज्य संघ रत्ननगरका कार्यसमिति सदस्य हुन् ।
उनीहरुका साथवाट प्रहरीले तीन लाख ३९ हजार ८ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले चितवन जिल्ला अदालतमा जुवा ऐन अन्तरगत मुद्धा अघि बढाएको छ ।
मंगलवार मुद्धा दर्ता गरी अदालतवाट ५ दिनका लागि म्याद थप भएको ईप्रका टाँडीका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक टिकावहादुर कार्कीले बताए । “सबैलाई हामीले टाँडी कार्यालयमै राखेका छौं, मुद्धा अघि बढेको छ । ऐन अनुसार कार्वाही गरिनेछ”–प्रनाउ कार्कीले भने ।
सामाजिक पहिचान बनाएका व्यक्तिहरु नै तासको खालवाट पक्राउ पर्दा आफूलाई दुख लागेको कार्कीले बताए । यस्तो सामाजिक अपराधमा लागेर समाजमा बिकृति भित्राउनेहरुलाई दण्डित गरिने उनले प्रतिवद्धता जनाए ।
“अदालतवाट पाँच दिनको समय आएको छ । यस अवधिमा पनि अनुसन्धान चल्नेछ, उन्मुक्ति दिईनेछैन ”–उनले भने ।
जुवा ऐनमा तास खेल्नेलाई दुई सय देखी पांँच सय रुपैयाँ र खेलेको हेर्नेलाई पनि पचास रुपैयाँ सम्म जरिवानाको व्यवस्था छ । साथै जुवा खेलिरहेको अवस्थामा खालमा रहेको सबै रकम जफत हुने व्यवस्था ऐनमा रहेको छ ।
यसअघि तिहारमा पनि कौडा खेलिरहेको अवस्थामा पूर्वी चितवनकै सौराहाका २२ जना व्यवसायीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पुरा गरी अधिकांस व्यवसायीहरु दुई सय रुपैया“ जरिवाना तिरेर छुटेका थिए ।