«

»

संगमद्वारा सल्लाहकार मनोनयन

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ५ पुस
साहित्य संगम चितवनले पाँचजना साहित्यकारलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
संगमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा शनिबार बसेको बैठकले संगमका निवर्तमान अध्यक्ष मोदनाथ मरहठ्ठा, पूर्व अध्यक्षहरु भवनाथ सडौला र इन्द्रप्रसाद रेग्मी, संस्थापक सदस्य रामहरि श्रेष्ठ र प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सरिता तिवारीलाई सल्लाहकारमा मनोनयन गरेको हो ।
त्यस्तै, हरेक वर्ष माघ महिनामा प्रदान गर्ने गणेशबहादुर तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कारका लागि देशैभरिबाट २०७० साल माघदेखि २०७१ मङ्सिर मसान्तसम्म प्रकाशित विभिन्न विधाका पुस्तकहरु सङ्कलन गर्ने निर्णय पनि गरेको छ ।
पुरस्कारका लागि २०७१ पुस २० गतेसम्म लेखकहरुबाट पुस्तक आह्वान गर्ने र प्राप्त पुस्तकहरुमध्येबाट छनोट समितिले चयन गरेको पुस्तकलाई माघ महिनामा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने संगमका अध्यक्ष द्वारिका नेपालले जानकारी दिएका छन् ।