श्वास फेर्ने, दुई खुट्टोले टेकेर हिँड्ने, ईच्छा लागेको बोल्ने बाहिरी अंग र भित्री अंगको बनौट उस्तै चाही नेपाली मान्छेहरु र आज विकसित भनिएका अमेरिका र बेलायतका मान्छेहरु बीच रह्यो । तर मुख्य एकचिज देश विकासको लागि चाहिन्छ त्यो हो “हामी”भन्ने सामूहिक भावना यसको सर्वाधिक अभाव चाहीँ नेपाली मान्छेहरुमा देखियो खासगरी नेपाली नेताहरुमा त्यो भावना कत्ति पनि पाइएन । देश एउटा मात्रै नेताले बनाएर बन्दैन । अन्य नेता पनि चाहिन्छ । दलीय व्यवस्थाको आवश्यक्ता महशुस गरिएपछि अन्य दलहरु पनि चाहिन्छ । धेरै होइन कम्तिमा दुई वा बढीमा तीनओटा । यसका लागि एक नेताले अर्को नेताको आवश्यक्ता महशुस गर्नुपर्छ । एउटै पार्टी भित्रको नेताको मात्रै आवश्यक्ता महशुस गरिनु हुन्न अर्को पार्टीको अर्को नेताको आवश्यक्ता पनि हुन्छ भन्ने यथार्थलाई महशुस गर्नुपर्छ तर दुर्भाग्य ¤ नेपालका पार्टी भित्रका एक नेताले अर्को नेताको आवश्यक्ता महशुस गर्नु त परै जाओस् सकेसम्म पार्टीभित्र एक नेताले अर्को नेतालाई सकेसम्म तल झार्ने र आफू मात्रै अघि बढ्ने प्रयास गरेको देखियो । यो प्रयासले दुनियाँ चन्द्रमामा पुगेर घर बनाउने योजना बनाइकन मंगलग्रहमा पानी छ कि छैन परिक्षण गर्नतर्फ लागिसके तर नेपाल जहाँको त्यहीँ रह्यो । रोजगारी नभएर लाखौंलाख युवाशक्ति विदेशी मरुभूमिका सावेल चलाएर जीवन कटाउने अवस्थामा पुगे । पञ्चायती ब्यबस्था छउन्जेल लोडसेडिड्ड भएर अँध्यारोमा बस्न परेको कसैलाई थिएन । जनताको लागि जनताले नै प्रतिनिधि छानेर जनताको हितको लागि चलाउने ब्यवस्था भनियो तर १६ घण्टासम्मको लोडसेडिड्ड निम्त्याएर जनतालाई आज पनि अँध्यारोमा राखिएको छ । पहिले पहिले मानिस अपहरण भएको कहिल्यै सुनिएन यो देशमा । कुनै नागरिक षड्यन्त्रमुलक ढड्डले मारिएको खबरलाई ठूलै खबर मानिन्थ्यो तर आज दिनदहाडै लुट र हत्या अपहरण भयो तर यस्ता डरलाग्दा समस्या समाधान भएनन् । राज्यका हरेक अड्ड क्षत्विक्षत् अवस्थामा पुगे तर सल्ट्याउने हैसियत कसैको भएन । एउटा सेतो हात्तीको रूपमा रहेको राजालाई राजदरबारबाट लखेटियो । आशा गरिएको थियो –बसिबसि खाने जनताको लागि केही काम नगर्ने, गरेदेखि जनताको शासनसत्तामा आँखा लगाउने, मौका मिल्ने बित्तिकै सत्ता कब्जा गरिहाल्ने जस्ता कारणले गर्दा एउटा राजालाई हटाइयो । एउटा राजा हटेका मात्रै के थिए रातारात दर्जनौं राजाहरु जन्मिए । राजा जन्मिएपछि रानीहरु हुने भए । राजकुमार र राजकुमारीहरु पनि छ्यास्छयास्ती देखा परे । एउटा अन्तिम सेतो हात्ती भन्ने गरिएको राजा ज्ञानेन्द्र राजदरबारबाट लेखेटिने बित्तिकै नयाँ खतरनाक राजा श्री ५ गिरिजाप्रसाद कोइरालाको जन्म भयो । उनको उदयसँगै श्री ५ पुष्पकमल दाहाल प्रचण्ड आँधी हुन्डरीका साथ बालुवाटारमा जन्मिए । श्री ५ सुशिल कोइरालाको जन्म भर्खर भर्खर भएपनि श्री ५ शेरबहादुर, श्री ५ रामचन्द्र, श्री ५ माधव नेपाल, श्री ५ झलनाथ खनालहरुको पनि केही समय अघि जन्म भइसकेको हो । पछि श्री ५ राजेन्द्र महतो र श्री ५ उपेन्द्रहरुको पनि जन्म भयो । श्री ५ गिरिजाप्रसादको श्रीमती सुष्मा स्टोभ पड्किएर नमरेकी भए उनको हैसियत श्री ५ नभए पनि श्री ४ हुन्थ्यो । यो कोणबाट ब्याख्या गर्दा शक्तिको हिसाबले ओहदा भाग लगाउँदा गिरिजापुत्री सुजाता कोइरालालाई श्री ३ राजकुमारी सुजाता भन्नुपर्छ । उनले पिताजी श्री ५ गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा श्री ३ राजकुमारी सुजाताकै हैसियतमा उपप्रधानमन्त्री भइन् जबकी उनमा अहिले पनि एउटा वडाध्यक्ष हुने खुबी छैन । उनलाई चित्त दुख्ला तर गर्ने के आखिरको सत्य यही हो । जिन्दगीमा कहिल्यै राजनीति नगरेको ज्यान, एकपटक नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँदै विना मेहनत र सुझबुझ नेपालको उपप्रधानमन्त्री । त्यसकारण यी श्री ३ सुजाता दिज्जुले गज्जबले आफू राजकुमारी सुजाता भएको पुष्टी गरिन् । आफू श्री ३ भएपछि उनकी छोरी कम्तिमा श्री २ हुने भइन् । यही नाताले बंगलादेशी ज्वाई रूबेल चौधरी कम्तिमा साँडे एक राजकुमार भए । यही राजकुमार पदबीले नेपालमा उपद्रो मच्चाएर पनि उनी लुसुक्क उम्किन सफल भए । श्री ५ प्रचण्ड प्रधानमन्त्रीको कुर्चिमा चढेपछि मानमर्यादाका हिसाबले सीता म्याडम कम्तिमा श्री ४ बडामहारानी भइहालिन् । चितवन शिवनगरको खेत र पाखोबारीमा धान रोप्ने र मकै गोड्ने सोझी यिनले आफ्नो हैसियत श्री ४ बडामहारानीको जति भएपनि खासै गोलमाल गरिनन्, शायद गोलमाल गर्न नजानेर पनि होला । तर राजकुमार श्री ३ प्रकाश दाहालले उधुम मच्चाए । श्री ५ प्रचण्डको इज्जतमा हाँडीको कालो दल्दै राजकुमार श्री ३ प्रकाश पेटभरि रक्सी खाएर सोफामा पल्टिए । आधा दर्जनको आधा श्रीमती बिहे गरेर बा श्री ५ प्रचण्डको मात्रै इज्जत फ्याँकेनन् धेरै अघि मरेका चीनका माओत्सेतुड्डको समेत इज्जत फ्याँकि दिए । गाउँ गाउँमा बहस चल्यो –“ज्ञानेन्द्र पुत्र श्री ५ पारस उपद्र्याहा कि प्रचण्ड पुत्र श्री ३ प्रकाश उपद्र्याहा ?” ।
यही तरिकाले नयाँ श्री ५, श्री ४ र श्री ३ हरुको बयान गर्दा एउटा सानोसानो महाभारत नै निर्माण हुने हुँदा त्यता नजाँदा कल्याण छ । कल्याण चाहीँ यिनका हिजोदेखि आजसम्मका गतिविधितर्फ जाँदा औधी कल्याण हुने देखिन्छ । वर्षामा उम्रिने च्याउसरी श्री ५ हरु उम्रिए । यिनलाई पाल्न चाहीँ नेपाली जनताले पाल्न प¥यो । यतिभइकन सुशासन दिएका भए बेग्लै कुरा नेपाली जनताले यिनबाट सुशासनको कुरा त परैजाओस् “सुशासनको “सु” पनि अनुभव गर्न पाएनन् । पछिल्लो एक पटक फेरि यी श्री ५ हरुलाई जनताले लोकतान्त्रिक संविधान बनाउने जिम्मेवारी दिएर सिंहदरबार छिराए तर लाज हराएका श्री ५ हरु आपसमा जुध्दा जुध्दा, आफ्ना स्वार्थलाई प्राथमिकता दिँदा दिँदा एक वर्षको समय फोकटमा खेर फालेर काठमाण्डौतिर दिनका दिन मौखिक तानातान र हानाहान गरिरहेका छन् । हामीले संविधान बनाउनु पर्छ होइन, सके मैले बनाउनु पर्छ नसके कसैले पनि बनाउनु हुँदैन चाहे संविधानसभा दोश्रो पटक पनि किन नमरोस् । श्री ५ हरुका वर्तमान कलाकारितासँग मिल्ने उदाहरण दुईओटा छन् । उदाहरण नम्बर एक ।
चरोको नाम भारगोभी हुनुपर्छ । लेख्दै गर्दा चरोको नाम निश्चित् हुन सकेन । अब यसरी ब्याख्या गरौं । एउटा चरो थियो । शरीर एउटा तर टाउको दुईओटा । दुईओटा टाउको भएपछि स्वाभाविक रुपमा दुईओटा मुख हुने नै भए । दुई टाउके चरोका दुई मुख सधैंभरि खानेकुरामा झगडा गर्थे । जुन मुखले खाएपछि खानेकुरा एउटै पेटभित्र छिथ्र्यो तर खान चाहीँ छुट्टाछुट्टै मिठोमिठो खान चाहन्थे । एउटा मुखले गँड्यौला खाने इच्छा गरे अर्कोले भ्यागुता खाने ईच्छा गथ्र्यो । दुबैको विचार नमिलेपछि एउटाको चुच्चोले अर्कोको चुच्चोमा ठुँगाठुँग गर्थे । रक्तमुछेल नहोउन्जेल लडाईं लड्थे । एउटा घाइते र अर्को बेहोस् भएपछि घाइतेले आफूले ईच्छा लागेको खानेकुरा खान्थ्यो । केही समयपछि बेस्सरी घाइते भएर बेहोस् भएको टाउको स्वस्थ हुन्थ्यो । स्वस्थ भएपछि पुनः उही झगडा दोहोरिन्थ्यो । रिस थाम्न नसकेपछिको परिणाम के हुन्छ एक दिन त्यस्तै भयो । आफूले भनेजस्तो मिठो खानेकुरा अर्को टाउकाको अवरोधले खान नपाएको झोकमा एउटा टाउकाले विष खाइदियो र दुई टाउके चरो खुत्रुक्कै भयो ।
अर्को उदाहरणका रुपमा मान्छेहरुले नाइजेरियन फुटबल खेलाडीहरुलाई लिन्छन् । नाइजेरियाका फुटबल खेलाडीहरु संसारका कुनै पनि देशका विश्व चर्चित खेलाडी भन्दा कमजोर छैन । खेलाई औधी आकर्षक छ तर यिनले विश्वकप कहिल्यै पनि जित्दैनन् । किनभने यिनीहरु एकले अर्को साथीलाई बल पास दिँदैनन् । आफ्नो खुट्टामा बल पर्ने बित्तिकै आफैं गोल हान्न तम्सिन्छन् । यही कारणले यिनीहरुको नाम जितबहादुर होइन, हारबहादुरको रुपमा रहिरहेको छ । दुई उदाहरणले नेपाली राजनीतिज्ञहरुको चरित्रलाई धेरै हदसम्म प्रतिनिधित्व गर्छन् । दुई टाउके चरो आखिर जुन मुखले खाएपनि एउटै पेटमा पुग्ने भएपछि खानेकुरामा विवाद गर्न पर्थेन तर विवाद बढेर आत्माहत्या गर्ने सम्मको अवस्थामा पुगेर सकिए जस्तै आफैं जसलिने लोभले यतिबेला नेपाली काँग्र्रेसका श्री ५ हरु, एमाओवादीका श्री ५हरु र एमालेका श्री ५ अनि मधेशतिरका श्री ५ हरु एक आपसमा लडिरहेका छन् । यही लडाई चरोले खाएको विष जस्तो हुन सक्छ र बल्लबल्ल प्राप्त लोकतन्त्र फेरि चट् हुन सक्छ । यो हेक्का नयाँ श्री ५हरुले राखेको पाइएको छ भने नाइजेरियन फुटबल खेलाडीहरुकै पाराले मेरो प्रस्ताव नै पास हुनुपर्छ तब मात्र गतिलो संविधान बन्छ होइनभने बन्दैन र बनाउन दिन्न भन्ने होभने कहिल्यै विश्वकप जित्न नसक्ने नाइजेरियन खेलाडीहरुकै पाराले नयाँ श्री ५ प्रचण्ड, श्री ५ सुशील, श्री ५ खड्ग, श्री ५ राजेन्द्र र श्री ५ उपेन्द्रहरुले कहिल्यै संविधान बनाउन सक्ने छैनन् । त्यतिबेला हिन्दीको एउटा उखान चरितार्थ हुने छ “ना रहेगा बाँस, ना बजेगी बाँसुरी” अर्थात न संविधानसभा रहन्छ न संविधान बनाउने कुरा नै बाँकी रहन्छ । अहिले पनि मौका पूरै गुमिसकेको छैन । संविधानसभाको आयु बाँकी नै छ । बाँकी अवधी भित्र नयाँ संविधान बनाउने परिस्थिति निर्माण गर्दै जान सकिन्छ । यो अवस्थालाई बुझ्ने हो भने नयाँ श्री ५हरु कनिकुथी नयाँ संविधान बनाउन सफल हुने छन् । यदि जे हो म मात्रै हो अरु होइनन् भन्दै, “हामी” भन्ने सामूहिक भावनाको उपेक्षा गर्ने होभने फेरि कुरा उही हो । दोहो¥याउनै पर्छ दुई टाउके चरो र नाइजेरियन फुटबल खेलाडीको चिन्तनको परिणाम । अब जे गर्छन् नयाँ श्री ५ हरुले नै गर्छन् । नयाँ श्री ५ हरुको जय होस् ।