हरिप्रसाद पोखरेल
नारायणगढको नारायणी नदी किनारमा माघ ४ गतेसम्म आयोजना हुने चितवन महोत्सव आजबाट सुरु भएको छ । चितवनमा गरिँदै आएको यो महोत्सव दशौँ संस्करण हो । करिब पाँच
लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिभरमा करीब २० करोड रुपैयाँभन्दा बढीको कारोबार तथा सम्झौता हुँदैछ । यसरी हुने मेला महोत्सवको उद्देश्य समग्र चितवनको आर्थिक विकास नै हो भन्ने गरिन्छ, तर अहिलेसम्म भएगरेका मेला महोत्सवबाट समग्र चितवनको आर्थिक अवस्थालाई कत्तिको सुदृढ बनायो भन्ने सम्बन्धमा अब अध्ययन हुनु जरुरी देखिएको छ ।
यसअघिका महोत्सव हेरिसकेपछि धेरैको आलोचना हुने गथ्र्यो–‘महोत्सव हाट बजारभन्दा फरक हुन सकेन ।’ स्थानीय क्षेत्रको नाम र आधारमा धेरै मेला र महोत्सव हुँदै गर्दा चितवन प्रवद्र्धनका नाममा हुने यस्ता महोत्सवको प्रभाव र आवश्यकताबारे सोच्नैपर्ने बेला आएको छ । भर्खरै नवलपरासीतर्फको नारायणी नदी किनारमा गैँडाकोट महोत्सव सम्पन्न भयो । पोल्ट्रीको राजधानी मानिने चितवनमा राष्ट्रिय पोल्ट्री भेला भयो । चितवनको टिकौली चौरमा दश दिनसम्म सञ्चालन भएको रत्ननगर महोत्सव २०७० पौष २६ गतेबाट सुरु भई माघ ५ गते आईतबार सकिएको थियो । गएको फागुनमा औधोगिक व्यापार मेला भयो । भर्खरै चितवनको पर्यटकीय क्षेत्र सौराहालाई चिनाउन सौराहामा हात्ती महोत्सव सम्पन्न गरिए । चितवन राष्ट्रिय निकुञ्ज पारीको माडीमा पनि माडी महोत्सव भयो । माडीमा गरिएको महोत्सव पहिलो पटक आयोजना गरिएको थियो । अहिलेको मौसमलाई मेला र महोत्सवको रुपमा व्याख्या गरिएपनि यहाँको स्थानीय व्यापारमा पनि जिल्ला र देश बाहिरकाले नै प्रभुत्व जमाएको देखिन्छ । चितवन महोत्सव चलिरहँदा हामी स्थानीय क्षेत्रको संरक्षण र संवद्र्धनमा गहन ढंगले चिन्दा गर्न सकेनौँ भने महोत्सव फिका हुन्छन् भने दर्शकको अपेक्षा पनि अधुरै रहन्छ ।
सम्भावना कृषिको
अहिले नेपालमा केहि सम्भावना नदेखेर प्रतिभा पलायन तिब्र रुपमा बढेको छ । राजनीतिक अस्थिरताले देश उथलपुथल छ । नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने चितवनको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन फस्टाउँछ । साँच्चै कृषिलाई सरकारले महत्व दिने हो भने प्राविधिक र वैज्ञानिकको माग उच्च र कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिन्छ । कृषि पढेपछि माटोमै खेल्न चाहने आँटिला प्राविधिकले व्यावसायिक तरकारी खेती, पशुपालनलगायत आधुनिक फर्म खोलेर धेरै बेरोजगार युवालाई देशमै रोजगारी दिन सक्छन् । धेरै मानिस गैरकृषि पेसातिर मात्रै जाने हो भने खाने मुख बढ्छ र काम गर्ने हात घट्छ । यसैले माटोमा पसिना चुहाउन चाहने उत्साही युवाका लागि कृषिकर्म सही बाटो हो । कृषिको यो आवश्यकतालाई चितवन महोत्सवले सम्भावनाको बाटो खोलिदिनुपर्छ ।
पोल्ट्रीको क्षेत्रमा त राजधानीको रुपमा नै चितवनलाई लिने गरिन्छ । अहिले यहाँ माछापालन, केराखेती, बंगुरपालनदेखि नयाँ कृषिका उत्पादनले बजार लिएको छ । चितवन महोत्सवले यसपालि पनि कृषिलाई विशेष फोकस गरेको छ । त्यसमा पनि केरा व्यवसायको प्रवद्र्धनमा महोत्सवमार्फत अगाडि बढ्ने प्रतिबद्धता पनि आएको छ । यसअघिको महोत्सवमा पनि केरा र माछालाई विशेष महत्व दिइएको थियो । महोत्सव सम्पन्न भएपछिको दुई वर्षका अवधिमा भने केरा र माछाको प्रवद्र्धन र संरक्षणमा खासै चासो दिइएको चाहिँ पाइदैन । केरा फलाउने र माछापालन गर्ने किसानको प्रवद्र्धन नभएसम्म यो व्यवसायको संरक्षण हुन सक्दैन । बोटमा पसाएका केरा हावाहुरी र किराले सत्यानाश हुने, अनि पोखरीमा पालिएका माछा पोखरीमै मर्दा किसानलाई राहत दिन सकिने अवस्था नभईञ्जेल कृषि क्षेत्रको उन्नती प्रगति हुन सक्दैन । विचौलियाहरुको चंगुलमा किसानहरु परिरहन्छन् । विगतका वर्षहरुमा तोरीका कारण चितवन चिनिन्थ्यो । तर अहिले तोरी हेर्न चितवनका गाउँगाउँ चहारेर हिंड्नुपर्छ । यहाँ तोरी फलाउने किसान पाउन छाडियो । चितवनमा समथर भुभाग भएकाले तोरीको सम्भावना अझै भएको कुरामा कृषि विशेषज्ञको दुइ मत छैन । यहाँ रातोदेखि कालो माटोसम्ममा उव्जनी उव्जाउन सकिन्छ । तोरीदेखि स्याउ फलाउने ठाउँमा किसानलाई प्रोत्साहित गर्ने खालका योजना भने आएका छैनन् । यसैले अन्य प्रवद्र्धन हुने खालका कृषिका क्षेलाई पनि अब महोत्सवले ध्यान दिनु आवश्यक देखिएको छ ।
हराएको स्थानीयता
चितवन यतिबेला कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको ‘हब’ को रुपमा विकास भईरहेको छ । यसैलाई आधार बनाएर यहाँ महोत्सव हुने गरेको छन् । तर वास्तविक उपभोक्ताका बीचमा उपभोग्य सामानहरु नपुगेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।
चितवनमा हुने गरेका सबै महोत्सवहरुलाई चितवनको गरिमाको रुपमा लिइएपनि अधिकांश उद्योगी व्यवसायीको चाहना भने आफ्नो व्यापार व्यवसाय बढाउनतिर लक्षित छ । व्यापार व्यवसायलाई लक्षित गर्दा यो महोत्सव नभै व्यापार मेला हुन थालेको आम सर्वसाधारणको बुझाई छ । महोत्सवले त सकेसम्म जिल्लाको, नभए देशकै प्रतिनिधित्व हुने खालको व्यवसाय, खेलकुद र कला संस्कृतिको चिनारी दिनुपर्ने हो । अहिलेसम्म भएका महोत्सवमा केही अंशमा मात्रै यी कुराहरुको प्रतिनिधित्व गर्न आयोजकहरु सफल देखिएपनि पूर्ण रुपमा भने महोत्सव आयोजकहरु असफल बन्दै आएका छन् ।
महोत्सवमा सहभागि प्रदर्शकहरु विदेशी सामान, रेष्टुरेण्ट र ‘आउट डेटेड’ सामानले भरिएको अवस्थामा महोत्सव सफल भएको मान्न सकिन्न । महोत्सवहरुले व्यापार मेलाको रुप लिँदै जान थाल्नु कदापि राम्रो काम पनि होईन । स्थानीय चाहना विपरितको बढ्दो उपस्थितीले महोत्सवको मर्मलाई फिका बनाउँछ । हामी आफ्नो जिल्लाको सम्भावना या अवसरको प्रवद्र्धनको नाममा विदेशीहरुलाई प्रवद्र्धन थाल्यौँ भने हाम्रो महोत्सवमा अरुले व्यापार गर्ने अवस्था आउनेछ ।
स्थानीय अवसरहरुको प्रवद्र्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तर माथि लैजाने उद्देष्यमा चितवन महोत्सवलाई सीमित राख्नुपर्छ । यस्ता उद्देश्य पूरा गर्न महोत्सवका कार्यक्रम लक्षित हुनु जरुरी छ ।
भारतीय प्रभाव
नेपाली कला संस्कृति नराम्रो पक्कै छैन । तर बढ्दो शहरीकरणले हाम्रा पूराना संस्कृति र सम्पदा भने नाश हुँदै गएका छन् । अहिलेका युवा पुस्ता विदेशीहरुकैद स्वादमा रमाइरहेको छ । गीत र संगीत मात्रै होइन, उनीहरुका प्रस्तुती हेरिएन भने अहिलेका युवा युवतीलाई नरमाइलो लाग्ने भईसक्यो । यो रमाइलोमा अहिलेका बालबालिका पनि झुल्न र भुल्न थालेका छन् । हाम्रो देशको संस्कृति र चिनारीका बारेमा उनीहरु अनविज्ञ छन् । महोत्सवलाई आकर्षण गर्ने नाममा पटकैपिच्छे भारतीयहरुको जादु, सर्कस, खेल र अन्य रमाईला कार्यक्रम हरेक महोत्सव परिसरमा सम्पन्न हुने गर्छन् । यसवापत महोत्सव आयोजकहरुले राम्रो आर्थिक आम्दानी पनि गर्छन् । यो निकै खर्चिलो पनि छ । महोत्सवमा उनीहरुको लगानी २० लाख रुपैयाँ भन्दा बढि हुन्छ । स्थानीयहरुसंग त्यही अनुसार रकम संकलन गरी उनीहरु नाफा लिएर जान्छन् । यो त चितवनको एउटा क्षेत्रको महोत्वको कुरा भयो । तर देशभर हुने महोत्सवमा उनीहरुले लाने रकमको लेखाजोखा भने छैन । जसले स्थानीय क्षेत्रको आर्थिक स्थिति सुदृढिकरणमा पटक्कै मद्दत नगर्ने पुष्टि भएको छ ।
सामान्य महोत्सवमा पनि स्थानीय कला संस्कृतितर्फ गहन तरिकाले चिन्तन नहुँदा चितवनको पैसा चितवनमै राख्न सकिएन । ठ्याक्कै महोत्सवभित्र रमाइलोका नाममा हुने यस्ता ‘भारतीय मेला’ ले कति पैसा भारत लैजान्छन् भन्ने विषयमा आयोजकहरुले प्रष्ट तथ्याँक पनि दिने गरेका छैनन् । महोत्सव भित्र हुने भीड कता छ र दर्शकहरुले के मा खर्च गरिरहेका छन् भन्ने कुरा महोत्सव जाने जो सुकैलाई पनि थाहा हुने विषय हो । महोत्सवले रमाईलो गर्ने नाममा विशेष गरि केटाकेटी र युवायुवतीहरुले भारतीयहरुका यी प्रस्तुतीहरुलाई महंगो शुल्क तिरेर हेर्ने र खेल्ने गरिरहेका छन् । रमाइलो त के छ भने, महंगो टिकट शुल्क तिरेर दर्शक महोत्सव परिसरमा प्रवेश गर्छन् । यताउती कतै आँखा डुलाउँदैनन् । साँस्कृतिक कार्यक्रम भएदेखि मञ्चतिर सोझिन्छन् । होइन भने सोझै भारतीय प्रस्तुती रहेको क्षेत्रमा पुगेर स्थानीय महोत्सवभित्रको ‘भारतीय मेला’ हेरेर फर्कन्छन् । हाम्रा दर्शकले के हेरेर फर्किए भन्ने विषयमा आयोजकहरुलाई कमै मात्र जानकारी हुन्छ । यसपालिको महोत्सवमा करिब पाँच लाख जनाले महोत्सव अवलोकन गर्ने आयोजकको दावी छ । उनीहरुमध्येको धेरैको आकर्षण महोत्सवभित्रको ‘भारतीय मेला’ नै हो । नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतीलाई लोकप्रिय बनाउन सकिएन भने ‘भारतीय मेला’ लाई प्रवद्र्धन गर्न टिकट काटेर महोत्सव सञ्चालन गर्नुको अर्थ छैन । यस्ता विषय हरेक महोत्सवमा उठ्ने गरे पनि आयोजकहरुले यसतर्फ विचार पु¥याउन आवश्यक ठानेको पाईँदैन ।
महोत्सव कि ‘हाट बजार’
यसअघिका महोत्सव पुग्दा जो कसैले भन्ने गर्थे –‘महोत्सव अब गाउँटोलमा हुने हाट बजारको ठूलो रुप पो भएछ ।’ महोत्सवमा सहभागि प्रदर्शकमध्ये ७५ प्रतिशत विदेशी सामान, रेष्टुरेण्ट र ‘आउट डेटेड’ सामानले भरिएका स्टल हुने गरेका छन् । महोत्सवहरुले व्यापार मेलाको रुप लिँदै जान थालेपछि हामी आफ्नो जिल्लाको सम्भावना या अवसरको प्रवद्र्धनको नाममा विदेशीहरुलाई प्रवद्र्धन गरिरहेका छौँ । यो चितवनको मात्रै समस्या होइन, नेपालका विभिन्न जिल्लामा विभिन्न नाममा हुने मेला महोत्सवहरुकै समस्या हो ।
चितवन महोत्सवलाई ‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती’का रुपमा आयोजकहरुले व्याख्या गरे पनि विदेशी सामान, रेष्टुरेण्ड र विना ब्राण्डका वस्तुहरुले भरिनु राम्रो होइन । प्रवेश शुल्कका नाममा महँगो टिकट तिरिसकेपछि दर्शकहरुले स्थानीय सामान र प्रस्तुतीको गतिलो स्वाद चाख्न पाउनुपर्छ । रमाइलो गर्न त शहर बजारमा खुलेका डान्स रेष्टुरेण्ट र दोहोरी साँझको आयोजना गर्ने रेष्टुरेण्टहरु समेत छन् । कपडा किन्न त बजारकै फेन्सी पसलहरुमा पनि पाईन्छ । घरायसी सामानहरु हाटबजारमै गएदेखि जति पनि छन् । इलेक्ट्रिक पसलमा गइयो भने विलासिताका सरसामान छानिछानी पाइन्छ । नुनदेखि सुनसम्म पाइने बजार हाम्रै चितवन हो ।
उद्योग वाणिज्य संघ–चितवनले सधैँ महोत्सवहरुको नेतृत्व गर्ने अवसर पाउँदा महोत्सवहरुलाई नयाँ दृष्टिकोणबाट सम्पन्न गर्ने तयारी बेलैदेखि गर्नु उसका लागि जिम्मेवारी पनि हो । महोत्सवले त सकेसम्म जिल्लाको, नभए देशकै प्रतिनिधित्व हुने खालको व्यवसाय, खेलकुद र कला संस्कृतिको चिनारी दिनुपर्छ । अहिलेसम्म भएका महोत्सवमा केही अंशमा मात्रै यी कुराहरुको प्रतिनिधित्व गर्न आयोजकहरु सफल देखिएपनि पूर्ण रुपमा भने महोत्सव आयोजकहरु असफल बन्दै आएका छन् । विगतका महोत्सवबाट हामीले शिक्षा लिनैपर्छ । स्थानीय कला संस्कृतिलाई प्रवद्र्धन गर्न यस्ता सुझावहरु मननीय छन् ।
वर्षैभरि महोत्सव
स्थानीय अवसरहरुको प्रबद्र्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तर माथि लैजाने उद्देष्यमा अबका महोत्सव सीमित राख्नुपर्छ । स्थानीय आर्थिक उद्देश्य पूरा गर्न महोत्सवका कार्यक्रम लक्षित हुनु जरुरी छ । ‘आउट डेटेड’ र विदेशी सामान अनि भारतीय संस्कृति बोकेको मेलाले स्टल भरेर मात्रै महोत्सव सफल हुँदैन । त्यसमाथि महँगो टिकट शुल्क तिरेर रेस्टुरेन्ट मात्रै छिरेर फर्कने स्थिति हो भने किन महोत्सवको नाटक मञ्चन गर्न आवश्यक पनि छैन । चितवन महोत्सवमा ‘भारतीय मेला’ र चितवनको प्रवद्र्धनबीच साइनो पटक्कै छैन । तैपनि स्टल राख्नुको वाध्यतालाई आयोजकहरुले भन्दै आएका छन् ‘यस्ता भारतीय मरोरञ्जनका स्टल राखिएन भने त महोत्सवमा दर्शक नै आउँदैनन् । रमाइलो गर्न नपाएपछि महोत्सव अलोकनकर्ता कताबाट खोज्ने ?’
मेला र महोत्सवहरु स्थानीय विशेषताका दृष्टिले पृथक र अस्तित्वयुक्त हुनुपर्छ । यहाँको मानवीय चहलपहललाई सक्रिय बनाई सामाजिक प्राण भर्न उल्लेख्य हुुनुपर्छ । मेला महोत्सवहरुको प्रभावलाई तत्कालको व्यापारिक उद्देश्यमा मात्रै सीमित गरिनुहुन्न । महोत्सवमा देखिने उपलब्धिभन्दा पनि यिनका दूगामी प्रभावहरु मूल्यवान् छन् । चितवनको उद्योग व्यवसाय, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको परिचालनने यहाँको समग्र विकास प्रक्रियालाई समेट्ने हो भने हाम्रो चितवन वर्षैभरि महोत्सवमय बन्न सक्नेछ । अहिले आयोजना गरिएका सामयिक मेला–महोत्सवहरु त्यही वातावरण बनाउने दिशामा लम्किनुपर्छ । मेला महोत्सवले आफ्नै मौलिक महत्व बोक्न सक्यो भने चितवनको उन्नतिमा पछिसम्म सघाउ पुग्नेछ ।