«

»

चितवनका साहित्यिक संस्थामा समन्वयको खाँचो

dwarikaद्वारिका नेपाल

अध्यक्ष, साहित्य सङ्गम , चितवन

साहित्यकार बालकृष्ण थपलिया २०७१ फागुन ९ गते शनिबार निकै व्यस्त देखिन्थे । पेसाले नगरपालिका वडा नम्बर १० का वडासचिव थपलिया सो दिन भूपिन अध्यक्ष रहेको अक्षर समूहले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन चौबीसकोठी स्थित प्रतिष्ठित होटलमा थिए भने एकै समयमा नगरपालिकाको सभाकक्षमा सञ्चालन भइरहेको पुष्प अधिकारी अञ्जलिले नेतृत्व गरेको हाम्रो मझेरी साहित्य प्रतिष्ठानको वार्षिकोत्सव तथा कृति विमोचन र सम्मान कार्यक्रममा पुग्न हतारिरहेका थिए । साथै उनी वडाको सचिव पनि भएकोले वडाका विभिन्न स्थानमा हुने सामाजिक कार्यक्रममा पनि पुग्नैपर्ने बाध्यतामा थिए । यो त एउटा सामान्य उदाहरण मात्र हो चितवनको साहित्यिक गतिविधि र त्यसमा सहभागी हुनुपर्ने साहित्यप्रेमी व्यक्तित्वहरूको । यसरी एकै दिन चितवनमा हुने फरकफरक कार्यक्रमले एकातिर चितवनको साहित्यिक क्रियाशीलता देखाइरहेको छ भने अर्कोतिर साहित्यप्रेमीहरूको सक्रियता र सहभागी बन्नैपर्ने बाध्यता पनि सँगै आइरहेको छ ।

चितवन सिङ्गो नेपाली साहित्यिक क्षेत्रका लागि असाध्य उर्वर जिल्ला हो । पछिल्ला केही वर्षदेखि चितवनमा हुने गरेका विभिन्न साहित्यिक कार्यक्रमहरूले यो कुराको पुष्टि गरेको छ । यहाँ हरेक सार्वजनिक बिदाका दिन कुनै न कुनै साहित्यिक गतिविधि तथा कार्यक्रमहरू हुने गरेका छन् ।

चितवनका साहित्यिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूका लागि प्रत्येक शनिबार भ्याइनभ्याइ हुने गरेको छ । शनिबार परेको छ भने त एकै दिन पनि कम्तीमा दुई वटा कार्यक्रम भएका हुन्छन् । २०७१ सालको चैत्र महिनामा मात्रै चितवनमा झण्डै एक दर्जन यस्ता साहित्यिक कार्यक्रम सम्पन्न भएका थिए । चैत्र १ गते साहित्य सङ्गम , चितवनले कवि खनाल रेवतिरमणको कविता सङ्ग्रह जूनको रोटीलाई सहिद शिव पौडेल स्मृति पुरस्कार प्रदान ग¥यो । त्यस्तै चैत्र २१ गते प्रगतिशील लेखक संघले कवि सुमनराज श्रेष्ठको सपनाहरूको ह्याङओभर कविता सङ्ग्रहको लोकार्पण भयो भने चैत्र २८ गते विष्णु तिवारी उषाको गजल सङ्ग्रह विमोचित भयो ।

नयाँ वर्षको स्वागतका लागि चैत्र मसान्तमा मौला कालिकाको प्रङ्गणमा वासन्ती काव्य सन्ध्यासँगै प्रारम्भ भएको २०७२ को साहित्यिक गतिविधि २०७२ वैशाख ५ गते प्रलेसले आयोजना गर्ने साहित्यकार पारिजात विषयक विशेष अन्तरक्रियासम्म आइपुगेको छ । यो क्रम अझ विस्तार हुँदै छ । चितवन र नवलपरासीको गैँडाकोटमा रहेका साहित्यिक संघसंस्थाको यो क्रियाशीलताले कहिलेकाहीँ चितवन , नवलपरासी र मकवानपुरका साहित्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई यस्ता कार्यक्रमहरूमा कसरी पुग्ने भन्ने चिन्ताले सताउने गरेको छ । अझ एकै दिन हुने दुई वा त्योभन्दा बढी कार्यक्रमहरूले त नैतिक सङ्कट नै निम्त्याउँछ । कुन कार्यक्रममा उपस्थित हुने कुनमा नहुने भन्ने समस्याले अधिकांश साहित्यप्रेमीहरू अन्योलमा पर्ने गरेका छन् । कुनै साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रमा नजाने हो भने सो कार्यक्रमको अपमान गरेको ठहरिने हो कि भन्ने चिन्ता पनि त्यतिकै हुन्छ भने अर्कोतिर आफू संलग्न भएको संस्थाले कुनै बेला यस्तै कार्यक्रम आयोजना गर्दा तिनै साथीहरू नआउने हुन् कि भन्ने आशङ्काले सताउने गरेको अधिकांश साहित्यकारहरू गुनासो गर्छन् ।

सबैभन्दा ठूलो समस्या सार्वजनिक बिदालाई नै लक्षित गरेर एकै दिन धेरै साहित्यिक संस्थाले आ—आफ्नै ढङ्गबाट कार्यक्रमको घोषणा गर्छन् । जसका कारण साहित्यिक क्षेत्रमा लागेका शब्दको खेती गर्नेहरू समयको संयोजन गर्न नसक्दा समस्यामा परिरहेका छन् । चितवनमा दर्ता भएका र नभएका गरी झण्डै तीन दर्जन साहित्यिक संस्थाहरू रहेका छन् । तीमध्ये अहिले करिब दुई दर्जन संस्थाहरू क्रियाशील छन् ।

साहित्य सङ्गम, चितवन नाामक संस्था चितवनमै पहिलोपटक स्थापना भएको साहित्यिक संस्था हो । २०४४ सालमा स्थापित यसले हालसम्म २२ वटा कृति प्रकाशन गरेको छ । २०६५ सालमा चितवनमै पहिलोपटक स्व. गणेश —हस्तकुमारी (लक्ष्मीदेवी) स्मृति पुरस्कार स्थापना गरेर प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको छ । त्यसै गरी मदनमोहन जोशी स्मृति पुरस्कार , सहिद शिव पौडेल स्मृति पुरस्कार पनि साहित्य सङ्गमले नै प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको छ । यसै गरी हालसम्म २२ वटा पुस्तकको प्रकाशन गरेको छ भने नौलो राँको मुखपत्र पनि प्रकाशन गर्दै आइरहेको छ । यता दर्ताको हिसाबले चितवनको पहिलो साहित्यिक संस्था चितवन साहित्य परिषद चितवनकै सम्मानित साहित्यिक संस्थाको सूचीमा सुचीकृत छ । २०४५ मा दर्ता भएको यो संस्थाले हाल आफ्नै जग्गामा बहुद्देश्यीय तीनतले भवन निर्माण गरिरहेको छ भने तीन तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । त्यसै गरी वागीश्वरी नामको मुखपत्र पनि नियमित प्रकाशन गरिरहेको छ । यस्तै प्रगतिशील लेखक संघ, हाम्रो मझेरी साहित्य प्रतिष्ठान , अक्षर समूह , अभिव्यञ्जना साहित्य प्रतिष्ठान , कविडाँडा साहित्य प्रतिष्ठान , वाल्मीकि साहित्य प्रतिष्ठान , चितवन वाङ्मय प्रतिष्ठान , पल्लव साहित्य प्रतिष्ठान , गजल मञ्च चितवन , त्रिवेणी साहित्य परिषद गैँडाकोट लगायत कयौँ साहित्यिक संस्थाहरूले अनेक किसिमका साहित्यिक क्रियाशीलता देखाइरहेका छन् । चितवनका साहित्यकारहरू भूपिन, सरिता तिवारी , पुष्प अधिकारी अञ्जलि , एल.बी. क्षेत्री , धनराज गिरी , विष्णु तिवारी उषा, गोर्खे साइँलो लगायतका स्रष्टाहरू स्वदेश तथा विदेशका साहित्यिक कार्यक्रमहरूमा हस्तक्षेपकारी उपस्थिति जनाएर चितवनको साहित्यिक क्षमता देखाइसकेका छन् ।

चितवनले नेपालको साहित्य क्षेत्रमा प्रतिष्ठित मानिने मदन पुरस्कार प्राप्त गर्ने स्रष्टा पनि जन्माइसकेको छ । अमर न्यौपानेको सेतो धरतीले २०६८ सालको मदन पुरस्कार प्राप्त गरिसकेको छ भने राधा कोइरालाको खलङगामा हमला कृतिले पनि २०७० सालको मदन पुरस्कार प्राप्त गरेर चितवनलाई गौरवान्वित बनाइसकेको छ । यसले चितवनको साहित्य निकै उर्वर रहेको पुष्टि गर्दछ । यहाँ अझै कयाँँै स्रष्टाहरू छन् जो साहित्यका माध्यमाबाट चितवनको नामलाई नेपाली साहित्यको सगरमाथामा पु¥याउन सक्छन् ।

खेलमा जति अभ्यास ग¥यो त्यति सफलता पाइने सम्भावना बढी हुन्छ । त्यसै गरी साहित्यमा जति क्रियाशील भयो त्यति नै गुणस्तर बृद्धि हुने कुरामा दुई मत छैन । तर यसो भन्दैमा एकै दिन एकै समयमा एउटै किसिमका कार्यक्रम आयोजना गर्दा त्यसले पु¥याउने असरहरूतिर पनि आयोजकहरूले ध्यान पु¥याउन जरुरी देखिन्छ । यसरी एकै समयमा हुने कार्यक्रमका लक्षित सहभागीहरू उनै देखिन्छन् जो आयोजकले अपेक्षा गरेको हुन्छ । यस्तो अवस्थामा कार्यक्रमको गरिमा उच्च हुँदाहुँदै पनि सहभागीको न्यून उपस्थितिका कारण यस्ता साहित्यिक कार्यक्रमले अपेक्षित लक्ष्य प्राप्त गर्न सक्दैनन् ।

यस पङ्क्तिकारको आशयचाहिँ चितवनमा जे—जति साहित्यिक संघसंस्थाहरू छन् तिनीहरूबीच समन्वय हुनु जरुरी छ भन्ने हो । जसरी विभिन्न राजनीतिक दलहरू हुन्छन्् , जसरी सरकारी तथा गैरसरकारी संस्थाहरू हुन्छन् र तिनीहरूका बीचमा समन्वय हुन्छ त्यसै गरी चितवनका साहित्यिस संस्थाहरूबीचमा पनि समन्वय हुने हो भने जुनसुकै साहित्यिक कार्यक्रम आयोजना गर्न सहज हुने कुरामा दुई मत नहोला । जसरी गैरसरकारी संस्थाहरूको साझा संगठन गैरसरकारी संस्था समन्वय समिति क्रियाशील छ र उसले आफ्नो सेवा क्षेत्रमा कुनकुन संस्था कसरी क्रियाशील भइरहेको छ भन्ने जानकारी राख्छ त्यसै गरी साहित्यका क्षेत्रमा पनि यस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने एउटा संस्थाको आवश्यकता पछिल्लो समयमा टड्कारो देखिन्छ । हुन त यस्तो संस्था सिङ्गो देशमै खाँचो छ तथापि यसको प्रारम्भ चितवनले गर्नसक्छ । चितवनले नेपालको राजनीतिक क्षेत्रदेखि लिएर राष्ट्रियताको सवाल , सामाजिक परिवर्तन , विद्यार्थीहरूको स्ववियु निर्वाचन जस्ता अनेक क्षेत्रमा राष्ट्रिय स्तरमै नवीन कार्य गरेर उदाहरण देखाइसकेको छ । यही उदाहरण साहित्यको क्षेत्रमा पनि देखाउनुपर्ने जरुरी भइसकेको छ ।

साहित्यिक संस्था समन्वय समिति, चितवन (प्रस्तावित नाम) नाम राखेर यस्तो संस्था गठन गर्ने हो भने यस संस्थाले साहित्यिक कार्यक्रमको वार्षिक क्यालेन्डर निर्माण गर्नसक्छ । यसरी वार्षिक क्यालेन्डर निर्माण गर्दा कुनकुन संस्थाका नियमित कार्यक्रम के—कस्ता छन् र ती कुनकुन मितिमा हुन्छन् भन्ने निश्चित हुन्छ । साथै कुनकुन संस्थाले के—कति पुस्तक प्रकाशन गर्दै छन् , के—कस्ता पुरस्कार प्रदान गर्दै छन् ? यी सबैबारे सहजै जानकारी पाउन सकिन्छ । त्यसै गरी पछिल्लो समय स्नातक, स्नातकोत्तर तथा विद्यावारिधी तहमा विभिन्न संस्थाका बारेमा शोधपत्र लेखिएका छन् र लेखिँदै छन् । त्यसै गरी कयौँ स्रष्टाहरूका व्यक्तित्व र कृतित्वका बारेमा पनि शोध भइरहेका छन् । यस्ता अनुसन्धानका लागि पनि समन्वय संस्थाले शोधकर्तालाई सहजै तथ्यपरक सामग्री उपलब्ध गराउन सक्छ । साहित्यिक व्यक्तित्वहरूबीच सहकार्य र समन्वयका लागि यो संस्था उपयोगी हुनसक्ने देखिन्छ ।

चितवन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र वर्तमानमा क्रियाशीत संस्थाहरूबीच समन्वय गरेर निर्माण गर्न सकिने यस्तो संस्थाको स्वरुप , विधान , नेतृत्व , कार्यसमिति , कार्यकाल, उद्देश्य आदिका विषयमा अग्रज तथा विभिन्न संस्थाका नेतृत्वमा रहेका स्रष्टाहरूको भेलाले निर्धारण गरेबमोजिम तय गर्न सकिन्छ । पङ्क्तिकारको उद्देश्य कुनै पनि साहित्यिक संस्थाको गतिविधिमाथि अङ्कुश लगाउनु होइन , बरु यस्ता गतिविधिलाई सबैको पहुँचमा पु¥याउनु भन्ने हो । तसर्थ अन्त्यमा के भन्न चाहन्छु भने चितवनको साहित्य क्षेत्रमा एउटा समन्वय समिति हुनु आवश्यक छ ।