भरतपुर, २८ वैशाख
गत वैशाख १२ गते आएको विनाकारी महाभूकम्प पछि भूकम्प पीडितको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट राहतहरु आउने क्रम जारी रहेको छ ।
खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायतका अत्यावश्यक सामग्रीहरु भूकम्प पीडितहरुलाई वितरण गरिएको छ । तर पनि व्यवस्थित आवासको व्यवस्था नहुँदा पीडितहरुलाई चिन्ता हुन थालेको छ । चाँडैनै वर्ष याम सुरु हुने भएपछि भूकम्प पीडितलाई समस्या पर्न थालेको हो । उनीहरुको नाममा आएका त्रिपालले छोटो समयको लागि ओत मिल्छ ।
घामको कारणले त्रिपाल छिट्टै च्यातिने सम्भावना हुने र वर्षाको समयमा धेरै पानी पर्ने हुनाले त्रिपालले ठूलो पानी थेग्न नसक्ने हुँदा भूकम्प पीडितहरु चिन्तित हुन थालेका छन् ।
१२ गतेको भूकम्पको कारण घर भत्किएर आफ्नी ७० वर्षीया सासुआमा गुमाएकी काउले गोछिवाङकी फूलमाया बिकलाई अहिले वर्षत्को चिन्ताले सताउन थालेको छ । ‘भूकम्पले घर पनि भत्कियो, सासुआमा पनि घरको बलोले लागेर बित्नुभयो’ बिकले भनिन्, –‘कति दिन त्रिपाल मुनी बसेर रात कटाउने ?’ भूकम्प आएपछि डाँडा पाखामा काम गर्न समेत मेसो नपाएको बताउने बिकलाई त्रिपाल मुनी सुत्दा डरले निन्द्रा लाग्दैन ।
घरमा भएका ससाना बच्चाहरु समेत डरले रुने, कराउने गरेको बिक बताउँछिन् । खानको लागि समस्या नभएको र राहत पनि मिलेको तर आवासको लागि भने त्रिपालको भरमा रात कटाउनु परेकाले डर लाग्ने बिकको भनाइ छ ।
बिक मात्रै होइन, काउले गाविसकै लोहोरीका स्थानीयहरुलाई समेत नजिकिएको मनसुनको चिन्ता पर्न थालेको छ । सामान्य घामपानीमा ओत लाग्नका लागि केही त्रिपालको व्यवस्था भएपनि वर्षा सुरु हुनै लागेको कारण उनीहरु त्रसित बनेका छन् । लाहोरीका ३३ वर्षीया गर्भवती महिला सुकुमाया चेपाङ अहिले फलेक ओच्छ्याएर रात कटाउँदै आएकी छिन् । यसरी सुत्दा आफ्नो गर्भमा रहेको बच्चालाई केही अप्ठेरो पर्छ कि भन्ने चिन्ताले सताउने गरेको चेपाङले बताइन् ।
त्यस्तै, अन्दाजी ७० वर्षका अर्का स्थानीय मंगल बहादुर चेपाङ भूकम्प आएदेखि बाख्राको खोरमा रात कटाउंँदै आएको बताउँछन् । हाल राहत वितरण गर्ने, पीडितको लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र स्थायी आवास निर्माण गर्ने गरी ३ वटा चरणमा महाभूकम्पका पीडितलाई सहयोग गर्ने सरकारको निर्णय भएपनि राहत वितरण सँगै अस्थायी बसोबासको व्यवस्थाको बारेमा समेत सोच्नुपर्ने बेला आएको छ ।