«

»

महाविपत्तिको सामना गर्न राष्ट्रिय सरकार आवश्यक ः विद्या भण्डारी

Photo madanरामबाबु सुवेदी
गाजीपुर (चितवन), ५ जेठ
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकलाई निकास दिने बताएकी छन् । संविधान निर्माणलगायत महाभूकम्पबाट आइलागेको महाविपत्तिको सामना गर्न पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको उनले औंल्याएकी छन् ।
२२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मङ्गलबार चित्रवन नगरपालिका वडा नम्वर ११, गाजीपुरमा नेकपा (एमाले) चितवनले आयोजना गरेको शालिक अनावरण तथा मदन स्मृति भवनको शिलान्यास कार्यक्रममा नेत्री भण्डारीले सो कुरा औंल्याएकी हुन् ।
‘एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा सकारात्मक छ । संविधान निर्माण र महाविपत्तिबाट मुलुकलाई समृद्धिको दिशातर्फ लान पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ’, उपाध्यक्ष भण्डारी भनिन् । नयाँ नेपाल निर्माणको कार्ययोजना पूरा गर्न सहमतिको राष्ट्रिय सरकारले सहजता प्रदान गर्ने उनको भनाइ थियो । सोको सन्दर्भमा छलफल चलिरहेको नेत्री भण्डारीले बताइन् ।
मुलुकमा आइपरेको महाविपत्तिबाट पीडामा परेका जनतालाई अहिले राहत र पुनःस्थापना आवश्यक रहेको भन्दै उपाध्यक्ष भण्डारीले त्यसकै लागि एमालेले कार्यकर्ता परिचालन गर्न लागेको बताइन् ।

यो महाविपत्तिलाई सबै एकजुट भएर सामना गर्नुपर्ने उनको भनाइ थियो । ‘भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । यसको व्यवस्थापनका लागि सबै पक्ष जुट्न आवश्यक छ’ नेत्री भण्डारीले भनिन् ।
२०५० साल जेठ ३ गते कविलासको दासढुङ्गामा भएको ‘रहस्यमय’ जीप दुर्घटनामा निधन भएका जननेता मदनकुमार भण्डारीको शव दुई दिनपछि जेठ ५ गते साविक गुञ्जनगर–८ हाल चित्रवन नगरपालिका–११, गाजीपुरमा फेला परेको थियो । सोही स्थानमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष भण्डारीले नेता मदन भण्डारीको अर्धकदको शालिकको अनावरण एवम् मदन स्मृति भवनको शिलान्याससमेत गरेकी हुन् ।
New Imageउक्त शिलान्यासको अवसरमा उपाध्यक्ष भण्डारीले चितवनलाई राजनीतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योजना आयोगमा पहल गर्न आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘तपाईंहरु आफ्नो ठाउँबाट अगाडि बढ्नुहोस् माथिबाट म सहयोग गर्न प्रतिबद्ध छु ।’
नेत्री भण्डारीले जीप दुर्घटनास्थल दासढुङ्गा र मदनको शव फेला परेको स्थान गाजीपुरलाई मदन र आश्रितको स्मृति स्थलको रुपमा विकास गर्न सबै मिलेर पहल गर्नुपर्ने बताइन् । ‘यस क्षेत्रको विकासको लागि म सहयोग गर्न तत्पर छु’, उनले भनिन् ।
‘बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने’ नेपाली संस्कार रहेको उदाहरण राख्दै उपाध्यक्ष भण्डारीले जिल्लाको विकासका लागि स्थानीय तहबाट गएको दबाब योजना कार्यान्वयनमा प्रभावकारी बन्ने गरेको बताइन् ।
कार्यक्रममा एमाले पालिट्व्युरो सदस्य काशीनाथ अधिकारीले नेपाली राजनीतिमा जननेता मदन भण्डारीको स्थान उच्च रहेको धारणा राख्दै उहाँका स्मृतिस्थलहरुको विकासमा राज्यले ध्यान दिनुपर्ने भनाइ राखे ।
त्यस्तै एमाले बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले गाजीपुर र दासढुङ्गा क्षेत्रको संरक्षण र विकास अपरिहार्य रहेको भन्दै नारायणगढ मुग्लिङ सडकखण्डको नामकरण मदन–आश्रित मार्ग नै हुनुपर्नेमा जोड दिए ।
एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले सो क्षेत्रलाई राजनीतिक तीर्थस्थलका रुपमा विकास गर्नु आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगको अपेक्षा गरे । कार्यक्रममा एमाले चितवनका सचिव तेजेन्द्रबहादुर खड्का, उपसचिव पार्वती रावललगायतले मन्तव्य राखेका थिए ।
शिलान्यास गरिएको मदन स्मृति सामुदायिक भवन हाल शान्ति मन्त्रालयबाट प्राप्त दुई लाख ३७ हजार रुपैयाँमा निर्माण गर्न लागिएको हो । अरु थप बजेटका लागि पहल गर्ने एमाले चितवनले जनाएको छ । करिव १० कठ्ठा क्षेत्रफलमा रहेको गाजीपुरको मदन स्मृति परिसरमा तारबार, उद्यम वाटिका र नदी किनारको व्यवस्थापनलगायतका काम गरिने छ ।
मदनको अर्धकदको शालिक करिब एक लाख ५० हजार रुपैयाँको लगानीमा तनहुँका तुलसीप्रसाद श्रेष्ठले प्रदान गरेका हुन् । उनलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो ।