कसैकसैले भगवानबाट शुरु हुन्छ पनि भन्लान् तर हामी भन्छौं सबैभन्दा पहिले कुरा शुरु हुन्छ प्रकृतिबाट । प्रकृतिको आफ्नै नियम हुन्छ र यो नियम संसारका कुनै पनि प्राणीले काट्न वा उल्लंघन गर्न सक्दैन । प्रकृतिलाई यदाकदा जित्ने मान्छेले प्रयास गर्छ र हार्छ । प्राकृतिक नियम संसारका सबै प्राणीमा लागू हुन्छ तर अनुशासन मानव समुदायलाई सुव्यवस्थित तरिकाले अघि बढाउन आचारसंहिताको रुपमा निर्माण गरिएको हुन्छ । अनुशासनको महत्व त्यति छ जति जीवन जिउनुसँग छ । आज त्यही महत्वपूर्ण अनुशासनबारे चितवन जिल्लाबाट प्रकाशनमा रहेको सञ्चारपत्र दैनिक मार्फत नागरिक समाजको माझमा छलफलका लागि प्रस्तुत गरिँदै छ ताकि अन्य क्षेत्रमा संलग्नहरुलाई अनुशासित बन्न प्रेरणा मिलोस् ।
नेपाल प्रहरी संगठनबाट अवकाशप्राप्त एक प्रहरी उपरीक्षकले केही दिनअघि चितवनको भरतपुरमा दुईजना स्कुले नानीहरुले स्कुल जाने क्रममा केराको बोक्रा सडकमा फालेको देखे । नानीहरुले सडकमा बोक्रा फ्याँकेको दृष्य हेरिसकेपछि तिनले केही भलाद्मीहरुसँग यसो भने “कुन स्कूलका विद्यार्थीहरु हुन् भन्न सक्दिन तर त्यो स्कूलमा अनुशासन सिकाएको रहेनछ भन्ने चाहीँ बुझियो ।” कम्तिमा ती नानीहरुलाई केराको बोक्रामा चिप्लिएर मानिस लड्न सक्छ भन्ने कुरा थाहा नहुनुलाई प्रमाण मान्न सकिन्छ कि त्यो जुनसुकै स्कूल किन नहोस् त्यस स्कूलका शिक्षकहरु स्वयम् सोचेजति अनुशासित रहेनछन् । यदि तिनीहरु अनुशासित थिएभने तिनले विद्यार्थीलाई पनि अनुशासन सिकाउँथे र तिनले केराको बोक्रा सडकको वीचमा फ्याँक्ने थिएनन् । हो, साँच्चै हो । हिजो आज नेपालका स्कूल कलेजमा कतै पनि अनुशासनको महत्व र नैतिकताबारे पढाउने गरिएको छैन । पहिले पहिले धेरै पहिले पढाइएको अनुशासन र नैतिकताको केही असर बाँकी रहेकोले नेपाली नागरिक समाज पूरै ध्वस्त भएको छैन यदि त्यसो पनि नहुँदो हो त आज यो मुलुक मान्छे बस्न पूरै नालायक ठहरिने थियो । आजपनि मान्छेहरु पान खाएर सडकमा र सडकको भित्तामा निर्धक्कले थुक्छन् । सडक फोहर बनाउँछन् । बाटोमा खकारेर थुक्छन् । जहाँ मनलाग्छ त्यहीँ सिँगान फ्याँक्छन् । थुक्नेले थुक्छ, सिँगान फ्याँक्नेले फ्याँक्छ तर कसैले नथुक, सिँगान जथाभावी नफ्याँक भन्दैन । किन भन्दैनभने अपवादलाई छाडेर सबका सबले त्यसै गर्छन् । त्यसकारण तिनले कसैलाई सल्लाह दिने हैसियत राख्दैनन् ।
समाजका प्रायः सबै पक्ष अनुशासनहिन हुँदै आफ्नो परिचय मेटाउन तर्फ अग्रसर भयो । तलब सुविधा कम भएर परिवार पाल्न मुश्किल भएर होकि कुन्नी नेपालका मालपोत, भन्सार र कर कार्यालयमा काम गर्ने कर्मचारीहरु घुस खान तर्फ आकर्षित भएको बुझिन्छ । घुस भ्रष्टाचार तर्फ कर्मचारी आकर्षित हुनु गैरकानुनी र सजायँ लायक काम त हुँदै हो अनुशासनहिन काम पनि हो । एक कान दुई कान मैदान हुँदै आज नेपाललाई एउटा देश हो भन्ने तरिकाले संसारमा जहाँजहाँ चिनिन्छ त्यहाँका मानिसले सिधै भन्छन् “नेपालका कर्मचारीहरुले सिधा वा घुमाएर धेरैथोरै घुस खान्छन्” । सबै खालको अवस्थालाई प्रमाण र आधार मानेर ब्याख्या गर्दा नेपालका कर्मचारी मात्रै होइन राज्य संचालनका प्रक्रियाहरुमा सहयोगी प्रायः सबै अंगहरु तोकिएको कर्तब्यमा नअडिएर अनुशासनबाट बाहिरिएको छर्लड्डै देखिन्छ । तर अचम्म मान्दा हुन्छ, सबैले धेरैथोरै अनुशासन तोडेको अवस्थामा नेपालमा नेपाली जनताको अन्तिम ठूलो शक्ति र सम्पत्ति नेपाल आर्मी र ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नामको विशुद्ध सामाजिक संस्थाले अनुशासनलाई कायम राखेको पाइयो । यी दुई संगठनको प्रभाव र भूमिका सकारात्मक हुँदा मुलुक थेगिन मद्दत पुग्यो । यदि यी दुई संगठनमा पनि अनुशासन कायम नभएको भए नेपाललाई अनुशासनहिनहरुको देश भनिदिए हुने अवस्था सिर्जना हुन्थ्यो । संसारभर नेपालको परिचय नकारात्मक हुन्थ्यो र नेपालीलाई दुनियाँका सामु मुख देखाएर हिँड्न पनि मुश्किल हुन्थ्यो । जस्ताको त्यस्तै भन्नुपर्छ “नेपाल सरकार मातहतको नेपाल आर्मी र भारतमा मुख्य अखडा रहेको ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्र जसको थुप्रै शाखाहरु नेपालमा छन् यी दुई संगठनले नेपालीको इज्जत धानिदिएका छन्” । यिनीहरु कति अनुशासित छन् ? पहिले ब्याख्या गरौं नेपाल आर्मीको ।
नेपाल आर्मीले राज्यले तोके अह्राएको काम इमान्दारिपूर्वक गर्दै आएको छ । यसको चेन अफ कमाण्ड कहिल्यै पनि भत्किएन । अर्थात् यो संगठनले कहिल्यै पनि आफूलाई अनुशासनबाट बाहिर लगेन । राष्ट्रियताको पहरेदारको रुपमा रहेको यो शक्ति निकै पूरानो शक्ति हो । नेपाल आर्मीका कर्मचारीहरुमा तलको सिपाहीदेखि प्रधानसेनापतिसम्म रहेका छन् । माथिको आदेश पालना गर्नु अनुशासन मात्रै होइन धर्म र कर्तब्य पनि हो यिनको । सेना परिचालनका लागि आदेश दिने सर्वोच्च स्थानमा राजतन्त्र हुँदा राजा बस्थे यतिबेला राष्ट्रपति डा. रामवरण यादव रहेका छन् । करिब १ लाख संख्या रहेको नेपाल आर्मीका कर्मचारीहरु लप्पनछप्पन गर्ने ठाउँमा जाँदैनन् । ब्यारेकभित्र बस्छन् । तोकिएको काम गर्छन् । दुई चार महिनामा एक पटक घरविदामा निस्किन्छन् । धेरै बोल्दैनन्, ठीक्क बोल्छन् । आर्मी भित्रका अनुशासन पालना सम्बन्धी कुरा गर्छन् । घुस, भ्रष्टाचार, कमिशन जस्ता विषय यिनले शव्दमा मात्रै सुनेका होलान् व्यवहारमा यिनीहरु कन्चन छन्, सफा र निर्मल छन् ।
जनताको घरदैलामा आगलागी हुँदा यिनले आफ्नो ज्यान जोखिममा पारेरै पनि मद्दत गर्ने गरेका छन् । गाडी दुर्घटना हुँदा घाइतेहरुलाई सामान्य उपचार र अस्पताल लैजाने काम त यिनले गरेकै छन्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुँदा पनि यिनले प्रशंसा लायक ढड्डले सहयोग गरेका छन् । आफ्नो मुलुकभित्र यिनले कुनै पनि नागरिकलाई तर्साउने, धम्क्याउने र आफ्नो शक्तिको दुरुपयोग गरेका छैनन् । अपवादलाई छाडेर नेपाल आर्मीका सबै कर्मचारीले मुलुकभित्र अनुशासनको पालना गरी अन्यलाई “अनुशासन होस् त नेपाल आर्मीको जस्तो होस्” भन्न बाध्य तुल्याएका छन् । यतिमात्रै होइन नेपाल आर्मीले युद्धग्रस्त विदेशी मुलुकहरुमा शान्ति सेनाको रुपमा खटिएर मानवीय मूल्य र मान्यताका आधारमा कामगरी दुनियाँबाट स्यावासी समेत बटुलेका छन् । सम्पूर्ण नेपाली जनताको इज्जत र गरिमा उँचो बनाएका छन् । हिजोआज पनि चोक चौराहमा मुलुकको अवस्थालाई सुक्ष्म ढड्डले ब्याख्या गर्नेहरु भन्छन् “अरु सबै असफल भए पनि डराउन पर्दैन, सबै असफल भएपनि आड भरोसा दिएर लोकतन्त्र सुदृढिकरणका लागि नेपाल आर्मीले मद्दत गर्छ । नेपाल आर्मी अरु देशको आर्मी जस्तो आफैं अघि सरेर सत्ता हातपार्न अग्रसर हुँदैन । जनताप्रति औधी इमान्दार छन् ।
अब चर्चा ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रको ।
ईश्वरीय विश्वविद्यालय पनि भन्ने गरिएको यो संस्थामा आवद्ध मानिसहरुले सधैंभरि अरुको भलो चिताउँछन् । आफू सकारात्मक चिन्तन गर्छन् र अरुलाई पनि त्यस्तै गर्न सल्लाह दिन्छन् । हिजोआजका मान्छे अनावश्यक धनको लोभमा फसेका छन्, पद र भौतिक सुविधाको लोभमा फसेका छन् । यो अवस्था बुझेका यिनले धनको अतिलोभमा नफस्न सल्लाह दिने गरेका छन् । पद र भौतिक सुविधा एक प्रकारको भ्रम मात्रै भएको यिनीहरुले निष्कर्ष निकालेका छन् र यो खालको भ्रममा नफस्न भनिरहेका छन् । ब्रम्हाकुमारी र ब्रम्हाकुमार भन्ने गरिएका यिनीहरु मान्छे नै हुन् । अनेकखालका मान्छेहरुको छेउछाउमै बस्ने यिनीहरु अरुको ईष्र्या गर्दैनन् । हरेक चिज नाशवान छ । आत्मा बाहेक शरीर पनि एकदिन नासिन्छ, त्यसैले क्रोध, लोभ, ईष्र्या, मोहमा फस्न हुँदैन भन्छन् यिनीहरु । ठीक हो सोह्रै आना ठीक हो यिनको तर्क । काम, क्रोध, लोभ, मोह र अहंकारको जालमा यो युगमा मानिसहरु फसेका छन् । आफू अनुशासित भएर यिनले अरुलाई यस्ता विकारबाट टाढा रहन निरन्तर सिकाइ रहेका छन् । जन्म र मृत्युको वीचमा जीवन हुन्छ । जन्म जुन तरिकाबाट होस्, मृत्यु जुनसुकै कारणबाट होस् आत्मा अमर बताउँछन् र सकारात्मक ढड्डले बाँच्ने कला सिकाउँछन् । हुन त ब्रम्हाकुमारी र ब्रम्हाकुमारहरु पनि एक प्रकारका कलाकारहरु हुन् । बाँच्नका लागि यिनीहरुले पनि कला प्रस्तुत गर्छन् । यिनलाई पनि खान पर्छ, लाउन पर्छ । यसका लागि पैसा त चाहियो चाहियो । पैसा सजिलोसँग मान्छेको दुनियाँमा उपलब्ध हुने चिज होइन । तर जसरी तसरी यिनीहरु पैसाको बन्दोवस्त गर्छन् । यिनीहरुको बाँच्ने कला अचम्मै लोभ लाग्दो खालको छ । नमार, नकाट, नलुट, जाँडरक्सी नखाऊ, भ्रष्टाचार नगर, अशिष्टलाई शिष्ट व्यवहार गर, कुरा नबुझ्नेलाई बुझाउ, आफूले ज्ञान सिकेर अज्ञानीलाई सिकाउ भन्छन् । यी कलाकारहरुलाई पनि रिस त उठ्दो हो तर देखिँदैन । रिसलाई भित्रभित्रै दबाउने वा समाप्त पार्ने कला छ यिनीहरुमा । त्यो कला र क्षमता अन्य सामान्य मानवमा हुँदैन । निष्कर्षमा यिनीहरु मान्छेले जे गर्नुपर्छ त्यो गर्छन् जुन काम गर्न हँुदैन यिनीहरु त्यो काम कहिल्यै गर्दैनन् । यिनीहरु देवी देवता होइनन् तर देवी देवतामा हुने केही गुण भने अवश्य भेटिन्छ । यिनीहरु यति अनुशासित छन् कि यिनलाई अनुशासनका प्रतीक भनिदिए पनि हुन्छ ।
आर्मीहरु ब्यारेकमा बस्छन् । ब्रम्हाकुमार, ब्रम्हाकुमारीहरु आश्रममा बस्छन् । अनुशासनको चेन अफ कमाण्ड हुबहु मिल्छ । माथिकाले भनेको तलकाले मान्ने । एकै मिनेटमा सूचना जहाँ पु¥याउन पर्ने हो तुरुन्त पु¥याइहाल्ने । आर्मी र ब्रम्हाकुमार, कुमारीहरुमा चालचलनका कोणबाट भने निकै फरक देखिन्छ । आर्मीले सरकारबाट तलब भत्ता लिन्छन् । दैनिक परेड खेल्छन् । हातमा बन्दुक बोक्छन् । उस्तै परे लडाईंमा भाग लिन्छन् । सम्भोग गर्छन् । पारिवारिक झमेलामा फस्छन् । यिनको आमा, बा, स्वास्नी, छोराछोरी, भान्जाभान्जी, मामामाइजु, काकाकाकी, दिदीभिनाजु, बहिनीज्वाई, फुपुफुपाजु मितमितिनी लगायत अनेकअनेक नातापाताका मान्छेहरु हुन्छन् । ब्रम्हाकुमार, कुमारीहरुले कहिँकतैबाट तलब भत्ता पाउँदैनन् । दाताहरुले दिएर खाने हो तर माग्दैनन् । नमागीकनै दिनपर्ने स्थिति खडा गर्छन् । अर्काको सबैकुरा सोधखोज गर्छन्, आफ्नो कुरा कहिल्यै भन्दैनन् । भगवनाका कुरा गर्छन् आफ्ना कुरा ज्यानजाला भन्दैनन् । परेड खेल्दैनन् परमात्मा शिवबाबाको ध्यानमा बस्छन् । हातमा बन्दुक हुँदैन ज्ञानअमृत स्वरुपका “मुरली” भनिने अक्षरको पाना हुन्छ । लडाई झगडा गर्दैनन् सधैं मेलमिलाप गर्नुपर्छ भन्छन् र त्यसै गर्छन् । सम्भोगबाट टाढा रहनु यिनको खास विशेषता हो । बिहे गर्दैनन् । परिवार जोडेर ठाडो नर्कमा प्रवेश गर्दैनन् । दुखको दलदलमा गाडिँदैनन् । यिनलाई लोग्ने चाहिँदैन, स्वास्नी पनि चाहिँदैन । छोराछोरी जन्माएर तिनको अनुहार हेरिहालौं न भन्ने लोभ यिनीहरुमा छैन । यिनको कोही नातेदार हुँदैनन् । सिर्फ शिव परमात्मा बाहेक यिनका न अगाडि कोही छ नत पछाडि कोही । यिनलाई जत्तिको आनन्द शायद मान्छेको शरीरधारण गर्ने अरु कसैलाई छैन जस्तो देखिन्छ । एउटा वास्तविकता यो हो–आर्मीलाई सम्भोगको एउटा सुविधा छ त्यसबाहेक कुनै सुविधा छैन । सबै दुख मात्रै छ । हजारौं हजार दुखैदुुखको पहाडमात्रै छ । ब्रम्हाकुमार, कुमारीलाई सिर्फ एउटा सम्भोगको सुविधा छैन बाँकी संसार सबै छ । सुखैसुख र आनन्दै आनन्दको सागरै छ । कुनै पिर छैन, कुनै चिन्ता छैन । बच्चा जन्माउन, बोक्न नपर्ने, गर्भ जँचाउन डाक्टर कहाँ जान नपर्ने, घ्याम्पो जत्रो पेट लिएर कोल्टे परेर हिँड्न नपर्ने, बालबालिकाको दिसापिसाब सोहोर्न नपर्ने, कोही विरामी होला, कोही मर्लान् भन्ने सुर्ता नहुने, लोग्ने जँड्याहा पर्ला र पेटभरि रक्सी खाएर बेस्सरी भकुर्ला भन्ने पिर नहुने, स्वास्नी चोथाले पर्ली र बाँच्नै मुश्किल बनाइदेली भन्न नपर्ने आदि जस्ताकारणले भन्न सकिन्छ – यिनलाई जस्तो सुख र आनन्द त अरु कसैलाई छँदै छैन । फेरि अनुशासनको मामलामा आर्मी र ब्रम्हाकुमार कुमारीहरुमा एकरुपता पनि देखिन्छ । यिनको अनुशासनको प्रभाव नेपाली नागरिक समाजमा गतिलैसँग परेको छ । आर्मी अनुशासनको प्रभाव एक प्रकारको र ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रको प्रभाव अर्कोे प्रकारको छ तर दुवैको प्रभाव सकारात्मक छ ।
कल्पनालाई आधार मानेर भन्न सकिन्छ –सबै पक्षमा अनुशासन भत्किएर मुलुक थलालिड्ड भएको अवस्थामा, त्यसमाथि ०७२ बैशाख १२ को भूकम्पले देश थिलोथिलो पारेको अवस्थामा, जसले सक्छ उसले ठोक्ने र लुट्ने भएको अवस्थामा आर्मी र ओमशान्तिवालाहरुको यो खालको उपस्थिति पनि नभएको भए यो मुलकको अवस्था आज कस्तो हुन्थ्यो होला ? त्यो दृष्यलाई कल्पिँदा पनि आङै जिरिड्ड हुन्छ, हातगोडै लल्याकलुलुक हुन्छ । धन्य हो नेपालीसेना ¤ धन्य हो सेतावस्त्रधारीहरु ओम्शान्तिवालाहरु ¤¤