«

»

नमस्ते टिभिले बाँड्यो राहत

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
नमस्ते टेलिभिजनले चितवनका शक्तिखोर, काउले र सिद्धि गाविसका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित बनेका ८७ घरधुरीलाई नमस्ते टिभिले शुक्रबार राहत वितरण गरेको हो ।
राहत वितरणका लागि जापानमा रहेका नेपालीहरुको संस्था भेटघाट बचत तथा ऋण लगानी समूह फुकुओका जापानले आर्थिक सहयोग गरेको थियो । प्रभावितहरुलाई चामल, लत्ताकपडा, नुन, तेल, ड्राईफुट वितरण गरिएको नमस्ते टिभिकी स्टेशन म्यानेजर सीता कुँवरले जानकारी दिएकी छिन् । भेटघाट बचत तथा ऋण लगानी समूहले प्रदान गरेको एक लाख रुपैयाँ, सिर्जनशील आमा समूह, भरतपुर–१२ लगायतका विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा राहत वितरण गरिएको स्टेशन म्यानेजर कुँवरले बताइन् ।
भेटघाट बचत तथा ऋण लगानी समूहले नमस्ते टेलिभिजनका प्राविधिक प्रमुख राजेन्द्र कार्कीसँगको समन्वयमा आर्थिक सहयोग प्रदान गरेको थियो । विदेशमा रहेका नेपालीहरुले नेपाल पीडामा रह“दा सहयोग गर्न पाउनु सुखद भएको भेटघाट बचत तथा ऋण लगानी समुहका अध्यक्ष बिष्णुबहादुर तामाङले बताए ।
राहत लिन आएका भूकम्प प्रभावितहरुले सरकारी तवरबाट अझै पनि बसोवासका लागि व्यवस्था गर्नेतर्फ ध्यान नदिइएको भन्दै दुःख व्यक्त गरेका थिए । राहत वितरण कार्यक्रममा नमस्ते टेलिभिजनका स्टेशन म्यानेजर सीता कुँवर, चतुर्मुखी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण पुरी, नेपाल रेडक्रस सोसाईटी शक्तिखोर उपशाखाका सभापति दिपककुमार खड्का, ‘कोही भोको नरहुन्’ अभियानका अभियन्ता विष्णु ‘भगवान’, पत्रकार दिपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा उमेर समूहको आधारमा सबै घर परिवारलाई लत्ताकपडा समेत प्रदान गरिएको थियो । नमस्ते टेलिभिजनले यसअघि पनि गोर्खाका विभिन्न स्थानमा राहत वितरण गरेको थियो ।