नेपाली जनता र इतिहासको निम्ती ‘कालरात्रि’ बनेको नारायणहिटी दरवार हत्याकाण्ड भएको पनि १४ वर्ष पूरा भएको छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरात दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको उक्त हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो । राजपरिवार सखाप पार्ने गरी भएको ‘दरबार हत्याकाण्ड’ घटनापछि तत्कालिन सरकारद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दिपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले अझै विश्वास गर्न सकेका छैनन् । जसका कारण घटना अझैसम्म पनि रहस्यपूर्ण बन्दै गएको छ ।
१४ वर्षको यो अवधिमा हत्याकाण्डलाई ‘कालो दिन’ भनेर जेठ १९ गतेलाई धिक्कार्नु भन्दा हत्याराहरुको पहिचान गर्न नसक्नु नै गणतान्त्रिक राज्यको कमजोरी हो । नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने यो त्रासदीपूर्ण राजदरवार घटनापछि मुलुकको राजनीति अहिले नयाँ मोडमा आईपुगेको छ । राजदरवार घटनापश्चात नेपालको राज्यव्यवस्था समेत परिवर्तन भएर देशमा गणतन्त्रको स्थापना भएको छ । गणतन्त्र स्थापना हुनुअघि महत्वाकांक्षी राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल नेपालमा प्रारम्भ भयो । उनको महत्वकांक्षा धेरै वर्ष टिक्न सकेन । जनआन्दोलन २०६२÷६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।
देशको हरेक राज्यव्यवस्थाको निर्णायक भूमिकामा अहिले नेपाली जनता छन् । तर सत्ता र शक्तिको खिचातानीमा यो कुरालाई राजनीतिक दलहरुले अहिले बिर्सेका छन् । यतिका समय बितिसक्दा पनि सम्बन्धित निकायबाट उक्त घटनाको सही छानविन नहुनु र दोषीलाई कारवाही गर्न नसक्नु आम जनमानसको लागि चासोको विषय बनेको छ ।
राजा वीरेन्द्र उदार थिए, शालीन थिए यसमा कुनै शङ्का छैन । उनी आम नेपाली जनताले मन पराएका स्वाभिमानी व्यक्तित्व भएका जनपक्षीय राजा पनि थिए । ०४६ सालमा जनआन्दोलनमार्फत् उत्रेको जनलहरलाई उनले सहज रुपमा लिई प्रजातन्त्र स्थापनामा सहयोग पु¥याएका थिए । त्यसैले उनलाई नेपाली जनताले प्रजातन्त्र स्थापनापछि पनि राष्ट्रप्रमुख अर्थात राजा मान्न तयार भए । त्यसै अनुरुप उनले राष्ट्रप्रमुखको हैसियतमा रही जनताको पीरमर्का बुझ्नेदेखि राजनीतिक दलका नेताहरुलाई देश र जनताको पक्षमा काम गर्न आवश्यक सुझाव–सल्लाह दिई राज्य सञ्चालनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरे । यसैले बीरेन्द्र परिवारका हत्याराको पहिचान र देशमा शान्ति स्थापना हुनु भनेको राजा बीरेन्द्रमाथि सच्चा श्रद्धाञ्जली हुनेछ । दरवार हत्याकाण्डलाई अब तथ्य भन्दा बाहिर गएर प्रचार प्रसार गरिरहनु आवश्यक छैन । यसो गरियो भने यो विषय अहिलेसम्मको उपलब्धीविहिन विषय बन्नेछ ।